दक्षिण कोरियामा पनि कोरोना भाइरसको त्रास

दक्षिण कोरियामा पनि कोरोना भाइरसको त्रास


दक्षिण कोरियामा कोरोना भाइरसबाट सङ्क्रमित पहिलो व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार बिहीबार (८ फागुन) ती व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो । सङ्क्रमितको मृत्यु भएसँगै दक्षिण कोरियामा पनि कोरोना भाइरसको चुनौती र त्रास थपिएको छ ।

अधिकारीहरुले देशभर झण्डै सय जनामा कोरोना भाइरसको सङ्क्रमण भएको हुनसक्ने अनुमान गरेका छन् । बिहीबार निधन भएका व्यक्ति झण्डै ६० वर्षका पुरुष हुन् । उनी लामो समयदेखि अस्पतालमा उपचार गराइरहेका १५ बिरामीमध्येका व्यक्ति भएको बताइएको छ ।

उनीहरुलाई देशको राजधानी सोलदेखि ३२० किलोमिटर टाढा पर्ने चेओङडोमा रहेको अस्पतालमा उपचार गराइएको थियो । दक्षिण कोरियाको रोग नियन्त्रण तथा निवारण केन्द्रद्वारा जारी वक्तव्यमा कोरोना भाइरसको सङ्क्रमण भएको आशङ्का गरिएका सबैको स्वास्थ्यपरीक्षण भइरहेको उल्लेख गरिएको एएफपीले जनाएको छ ।