हलेसीको ककनीडाँडामा ढुङ्गे बगैँचा निर्माण गरिँदै

हलेसीको ककनीडाँडामा ढुङ्गे बगैँचा निर्माण गरिँदै


हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीस्थित ककनीडाँडामा ढुङ्गे बगैँचा निर्माण गरिने भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको पहलमा निर्माण गरिने ढुङ्गे बगैँचाका लागि अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम भइरहेको छ ।

पचास रोपनीभन्दा बढी सार्वजनिक जग्गा रहेको ककनीडाँडालाई प्राकृतिक संरचना ध्वस्त नगरी स्तरोन्नति गरेर ढुङ्गे बगैँचाका रूपमा विकास गर्न लागिएको नगरप्रमुख इवन राईले बताउनुभयो । ‘ढुङ्गे बगैँचा निर्माणका लागि सर्वेक्षण सम्पन्न गरेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम भइरहेको छ’, उहाँले भन्नुभयो, ‘डीपीआरको काम सम्पन्न हुने बित्तिकै बजेट विनियोजन गरेर बगैँचा निर्माणको काम थालिनेछ ।’

धार्मिकस्थल हलेसी मन्दिरको उत्तरी क्षेत्रमा पर्ने ककनीडाँडामा निर्माण गरिने ढुङ्गे बगैँचाभित्र विश्रामस्थल, खानेपानीको धारा, बिजुलीबत्ती, शौचालयलगायत निर्माण गरिने नगरप्रमुख राईले बताउनुभयो । हलेसी आउने पर्यटकलाई लक्षित गरेर निर्माण गर्न लागिएको ढुङ्गे बगैँचा आवतजावत गर्नका लागि पदमार्गसमेत निर्माण गर्ने गरी डीपीआरको काम भइरहेको नगरपालिकाले जनाएको छ ।

प्राकृतिक रूपमै रमणीय रहेको ककनीडाँडामा नगरपालिकाले आधुनिक किसिमको ढुङ्गे बगैँचा निर्माण गर्ने भएपछि आसपासका स्थानीयवासीसमेत हर्षित छन् । पानी अभावमा लामो समयदेखि खेती गर्न छाडेर बाँझिएको जग्गा उपयोग हुनेभएपछि आसपासका स्थानीयवासी हर्षित भएका हुन् ।

ककनीडाँडाबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा तथा उच्च हिमाली श्रृङ्खला, तराईका समथर भूभागलगायत रमणीयस्थल अवलोकन गर्न सकिन्छ । विशेष गरी हलेसी आउने पर्यटकलाई लक्षित गरेर निर्माण गर्न लागिएको ढुङ्गे बगैँचामा दृश्यावलोकन गर्ने ठाउँ तथा कफी सप, चमेनागृह, डेटिङ स्पोर्टलगायत अन्य बगैँचामा हुने सबै सुविधा रहने नगरप्रमुख राईले जानकारी दिनुभयो ।

हात्तीसुँडे ढुङ्गा तथा विभिन्न आकृतिका प्राकृतिक ढुङ्गाहरू रहेको ककनीडाँडा नेपाल सरकारले १०० वटा पर्यटकीय गन्तव्यको सूचीमा राखेको मुन्दुम ट्रेलको प्रवेशस्थलमा पर्दछ । किराँती सभ्यतासँग सम्बन्धित मुन्दुम ट्रेल हलेसीबाट शुरु भएर रूपाकोट, टेम्के, मैयुङ हुँदै सालपा सिलिचुङसम्मको निर्धारण गरिएको छ ।

मध्यपहाडी लोकमार्गले छोएको रमणीयस्थल ककनीडाँडा नजिकै किराँत सभ्यताको उद्गम थलो तुवाचुङ–जायजुम छ । ढुङ्गै÷ढुङ्गाले बनेको रमणीयस्थल ककनीडाँडामा निर्माण गर्न लागिएको ढुङ्गे बगैँचालाई महत्वका साथ हेरिएको छ । जिल्लामै पहिलो पटक ककनीडाँडामा निर्माण गर्न लागिएको ढुङ्गे बगैँचामा ढुङ्गा र फुलबीचको सम्बन्ध रहने गरी फुलहरू लगाउन वातावरणविद्सँग परामर्शसमेत थालिएको जनाइएको छ । ककनीडाँडामा हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटक यसअघि पनि दृश्यावलोकन तथा घुम्न जाने गरेको स्थानीयवासीले बताएका छन् ।

पर्यटकीय नगर हलेसी तुवाचुङ नगरपालिकामा दर्जन बढी पर्यटकीयस्थलहरू रहेका छन् । उक्त पर्यटकीयस्थलहरूको स्तरोन्नति तथा प्रवद्र्धनमा नगरपालिकाले नीति तथा कार्यक्रम नै बनाएर काम गरिरहेको छ । नगरको प्रमुख आम्दानीको स्रोत नै पर्यटकीयस्थल भएकाले स्तरोन्नति तथा प्रवद्र्धनमा लागिएको नगरप्रमुख राईले बताउनुभयो । एघार वटा वडा रहेको उक्त नगरपालिका–७ महादेवस्थानमा त्रिधार्मिकस्थल हलेसी पर्दछ ।

धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा अहिले बाह्रै महिना मेला लाग्ने गरेको छ । ठूल्ठूला चट्टानको बीच भागमा रहेको हलेसी गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ । हलेसी मन्दिरको मुख्य गुफाको ठीक पछाडिपट्टी उस्तै ठूलो बसाहा गुफा छ । गुफाभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुपम उपहार हो ।

pict: rss