प्रधानमन्त्रीको जवाफ माग्दै राष्ट्रियसभा अवरुद्ध

प्रधानमन्त्रीको जवाफ माग्दै राष्ट्रियसभा अवरुद्ध


सेक्यरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियासम्बन्धी अडियो प्रकरणले मुलुककै राजनीति तताएको छ । ठुल्ठूला भ्रष्टाचार काण्डमा पनि सरकारको विरोध गर्न नसकेको आरोप खेप्दै आएको प्रतिपक्षी कांग्रेसले सञ्ञ्चारमन्त्रीको अडियो प्रकरणलाई भने राम्रैसँग भजाउने सम्भावना बढेको छ ।

यसै क्रममा नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्यहरुले आजको राष्ट्रियसभा बैठक अवरुद्ध गरेका छन् । उनीहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् । सांसदहरुले प्रधानमन्त्री केपी ओलीबाट सञ्चारमन्त्री बाँसकोटाको राजीनामा लिनुका साथै छानविन समिति गठन र घटनाबारे प्रस्ट धारणा नआएसम्म बैठक अघि बढ्न नसक्ने धारणा राखेका छन् । बैठकमा कांग्रेस सांसद जितेन्द्र देवले उल्लिखित तीनवटा माग पूरा नभएसम्म बैठक चल्न नदिने उदघोष गरेपछि कांग्रेस सांसदहरु बैठक अवरोधमा उत्रिएका थिए ।

आफ्नो सिटबाट उठेर अवरोधात्मक गतिविधि शुरु गरेका सांसदहरुलाई सम्बोधन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनाले प्रकृयाअनुसार माग सम्बोधन गर्ने बताए पनि सांसदहरु लगातार अवरोधमा लागेपछि आजको बैठक नै स्थगित गरिउको छ ।