‘राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन’ : सञ्चारमन्त्री

‘राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन’ : सञ्चारमन्त्री


सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौं फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन् । ‘ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु’, बेलडाँडी गाउँपालिकामा आज (८ फागुन) बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने,’राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन ।’

जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो । “आरोप आफैंमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ, सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ’, उनको भनाई छ ।

आजै कञ्चनपुरको बेलौरीमा नेपाल दूरसञ्चार कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका मन्त्री बाँस्कोटाले सरकारले प्रतिबद्धता गरेअनुसार मुलुकका सबै जिल्लामा एक वर्षभित्रै नेपाल टेलिकमको ‘फोर जी’ परियोजना सञ्चालन भएको बताए ।

उनले नेपाल टेलिकम सरकारको नभई जनताको सम्पत्ति भएको उल्लेख गर्दै उनले अन्य प्रतिस्पर्धी दूरसञ्चारप्रदायक कम्पनीजस्तै टेलिकम पनि प्रतिस्पर्धी बन्नुपर्ने उल्लेख गर्दै उनले इन्टरनेट डाटा खरिद मूल्यमा देखिएको भिन्नतालाई घटाइने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । सेवाग्राहीलाई टेलिकमका सेवा सहुलियत दरमा प्रदान गर्नेगरी सेवा विस्तार भइरहेको मन्त्री बास्कोटाले बताए ।