राष्ट्रलाई खतरा नहुने गरी एमसिसी पारित हुन्छ : मन्त्री बाँस्कोटा

राष्ट्रलाई खतरा नहुने गरी एमसिसी पारित हुन्छ : मन्त्री बाँस्कोटा


सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिलेनियम च्यालेज कर्पोरेशन (एमसिसी)को सम्झौता राष्ट्रलाई खतरा नहुने गरी संसद्बाट पारित गरिने बताएका छन् । सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको बुधबार (७ फागुन) उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले एमसिसीबारे व्यापक छलफल भइरहेकाले सार्वभौमसत्तालाई धरापमा राखेर सम्झौता गर्न नसकिने धारणा राखे ।

देशको हितमा हुने सम्झौता गर्न सरकार तयार रहेको उनको भनाइ थियो । ‘एमसिसीबारे समय लिएर नै अध्ययनन गर्नुपर्छ’, सरकारका प्रवक्ता बाँस्कोटाले भने, ‘एमसिसी नेपालको हितमा भए मात्रै लागू गर्छौँ ।’

उनले दार्चुलास्थित नेपाली भूमि फिर्ताका लागि सरकारले राजनीतिक र कूटनीतिक ढङ्गबाट सरकार अघि बढेको पनि बताए ।

निजी क्षेत्रले पारदर्शी रुपमा राज्यलाई कर तिर्नुपर्ने उल्लेख गर्दै उनले स्वदेशमै लगानी बढाएर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । सरकारी र निजी क्षेत्रको सहकार्यमा स्थानीय साधन स्रोतको अधिकतम उपयोग गरी उत्पादकत्व बढाई युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने नीति लिइएको मन्त्री बाँस्कोटाको भनाइ थियो ।

शिक्षा र भूमिसम्बन्धी सरकारले नयाँ नीति ल्याइरहेको चर्चा गर्दै उनले वर्षौँदेखि भोगचलनमा रहेको जग्गाको मालिक जनतालाई बनाउन सरकार प्रतिबद्ध रहेको बताए । सरकारले महाकाली, कर्णाली करिडोरको काम अघि बढाउने उल्लेख गर्दै मन्त्री बाँस्कोटाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाले समेत गति लिने दाबी गरे ।

pict: rss