‘धरान पूर्वाञ्चलकै पर्यटकीय राजधानी बन्न सक्ने’

‘धरान पूर्वाञ्चलकै पर्यटकीय राजधानी बन्न सक्ने’


■ मनिता चाम्लिङ,धरान

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालमा नेपाली कांग्रेसको अगुवाईमा भएको क्रान्तिले ल्याएको प्रजातन्त्रमा कुनै पनि हस्तक्षेप हुन नहुने बताएका छन् ।

७०औँ प्रजातन्त्र दिवसको अवसरमा धरानमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा मन्तव्य दिँदै सभापति देउवाले जनताको बलिदानीले ल्याएको अहिलेको संविधानले आदिवासी जनजाती, दलित, मुस्लिम महिलाहरुलाई धेरै अधिकार दिएको दाबी गरे । कुनै पनि बहानामा प्रजातन्त्र खोसिनु नहुने उल्लेख गर्दै उनले भने– ‘स्वतन्त्र न्यायपालिका त्यो बेला मात्र सावित हुनेछ, जब यो देशका सेना, प्रहरीले बिना राजनैतिक हस्तक्षेप काम गर्ने वातावरण सृजना हुनेछ ।’

उनले धरानमा पर्यटकीय सम्भावनाहरू धेरै भएकाले आन्तरिक तथा विदेशी पर्यटक भित्र्याउन सके धरान पूर्वाञ्चलकै पर्यटकीय राजधानी बन्न सक्ने धारणा राखे ।

यसैगरी प्रदेश सांसद उमिता विश्वकर्माले शहिदहरुको बलिदानीले प्राप्त जनताका अधिकार, विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गर्ने र देशलाई समृद्धितर्फ लाने विषय भाषणमै सीमित भएको धारणा राखिन् । उनले सत्ता पक्षकाले मात्रै संविधान कार्यान्वयन गरेर नपुग्ने बताउँदै सबै राजनैतिक दलहरु एक भएर कार्यान्वयन गर्नुपर्ने आवश्यक्ता भएको बताइन् ।

यसैगरी नेकपा धरानका नगरअध्यक्ष नारायण सुवदीले अब सबै राजनैतिक दल एकजुट भई मुलुकको आर्थिक समृद्धिको निम्ति लागिपर्न आवश्यक रहेको बताए ।

धरान उपमहानगरपालिकाको हाताभित्र आयोजित उक्त कार्यक्रममा संघीय सांसद मीना सुब्बा, डिला संग्रौला, प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, १ नं. प्रदेशका पूर्व प्रदेश प्रमुख गोविन्द सुब्बा, पूर्वसांसद हरिनाथ बास्तोला, पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्की, पूर्वपरराष्ट्रमन्त्री रामशरण महत, षडानन्द नगरपालिका तथा लाली गुराँस नगरपालिकाका नगर प्रमुखको समेत उपस्थिति रहेको थियो ।

धरान उप–महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत रत्नबहादुर कट्वालको स्वागत मन्तव्य रहेको सो कार्यक्रम नगर प्रमुख तिलक राईको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रमअघि आयोजित प्रभातफेरी धरान उपमहानगरपालिकाबाट शुरुभई चतरालाईन, भानुचौकहुँदै पुनःउपमहानगरपालिकाको हातामा आई सभामा परिणत भएको थियो। कार्यक्रमबीच प्रजातन्त्र प्राप्तिका लागि शाहदत प्राप्त गर्ने शहिदहरूको तस्बिरमा प्रमुख अतिथिलगायत अन्य अतिथीहरुद्वारा माल्यार्पण गरिनुका साथै श्रद्धासुमन समेत व्यक्त गरिएको थियो ।