‘चेसकी रानी नम्बर वान’ मोनालिसा खुम्बू

‘चेसकी रानी नम्बर वान’ मोनालिसा खुम्बू


■ श्रीविक्रम भण्डारी

मोनालिसा खुम्बूलाई चेस खेलबारे अत्तोपत्तो नै थिएन । साधारण केटी उनले चेस खेलको नामसमेत सुनेकी थिइनन् । कहिल्यै नदेखेको र नखेलेको खेल भएकै कारण पनि चेसप्रति मोनालिसालाई खासै रुचि थिएन । कक्षा ८ मा पढ्दा भाइ याइसास यासिर खुम्बूले चेस खेल्दा दिमाग बढ्छ, चेस खेल्नुपर्छ भन्दै चेस सिकाएको स्मरण मात्रै छ । त्यसपछि दिदी विना राईले चेस बोर्ड किनेर दिएपछि चेसप्रति उनको चासो र रुचि बढ्यो । यसरी मनोरञ्जनको रूपमा ख्यालठट्टामै उनी चेस खेल्न थालिन् । शुभारम्भमा पट्यार लागे पनि बिस्तारैबिस्तारै चेसप्रति उनी आकर्षित भइन् । पहिले दिनको एक–दुईपटक चेस खेल्ने मोनालिसा त्यसभन्दा बढी खेल्न थालिन् । चेस खेल्दै जाँदा बिस्तारैबिस्तारै चेस र उनको सम्बन्धमा पनि सामीप्यता बढ्दै गयो । यही सामीप्यकै कारण मोनालिसा र चेसको सम्बन्ध नङ र मासुजस्तै बन्यो ।

एघार–बाह्र वर्षको बाल मस्तिष्क, त्यसमा कुमालेको भूमिका महेन्द्र ढकालले निभाउनुभयो । गणित विषयका शिक्षक ढकाल पढाइसँगै चेस पनि सिकाउँथे । मोनालिसा तिनै ढकालसँग गणितको ट्युसन पढ्दा चेस सिक्ने उपयुक्त वातावरण बन्यो । यथार्थमा भन्नुपर्दा उक्त वातावरण मोनालिसाका लागि ‘के खोज्छस् कानो आँखा’जस्तै बनेको थियो । उनी त्यहाँ पढाइसँगै चेस पनि खेल्ने पाइरहेकी थिइन् । जसले एकातिर उनको चेस खेलमा निखारता ल्याइरहेको थियो भने अर्कोतर्फ शिक्षक ढकालकै सहयोगमा अन्य विद्यालयमा गएर चेस खेल्ने अवसरसमेत प्राप्त भइरहेको थियो । जसले मोनालिसाको आत्मबल बढाउनुका साथै चेसप्रतिको झुकाव अझ बलियो र रोमाञ्चकारी बनाउन सहायकसिद्ध बन्यो । परिणाम, मोनालिसा र चेसको सम्बन्ध प्रगाढ मात्र नभई दीर्घकालीन रूपमै एक–अर्काका पूरक बने ।

०६३ सालदेखि चेस खेल्न थालेकी मोनालिसाले पहिलोपटक स्कुलस्तरीय चेस प्रतियोगिता खेलेकी थिइन् । उक्त प्रतियोगितामा नौलो अनुभव संगालेकी मोनालिसाले पहिलो प्रतिस्पर्धामै च्याम्पियन बनेर आफूलाई उत्कृष्ट खेलाडीको सूचीमा राख्न सफल भइन् । त्यसपछि जमलको अन्नपूर्ण स्कुलमा आयोजना भएको अन्तरविद्यालय चेस प्रतियोगितामा मोनालिसाले उत्कृष्ट प्रदर्शन गरिन् । उनले उक्त प्रतियोगितामा समावेश सातै राउन्डका सातै खेल जित्दै पहिलो स्थान हासिल गरेकी थिइन् । उनको यो चमत्कारी प्रदर्शनले मोनालिसा चेसको उदीयमान खेलाडीको रूपमा देखा परिन् । त्यसपछि उनी चेसका पदाधिकारी र प्रशिक्षकको नजरमा पर्न सफल भइन् । त्यसपछि सन २००६ मा भारतको राजधानी दिल्लीमा भएको एसियन जुनियर महिला चेस च्याम्पियनसिपमा उनले प्रतिस्पर्धा गर्ने अवसर पाइन् । उक्त च्याम्पियनसिपमा उनले नौ राउन्ड खेल्दै तीन राउन्ड जितेर नयाँ अनुभव बटुल्न सफल भइन् । त्यसबेला मोनालिसाको उमेर मात्र १४ वर्षको थियो ।

यो प्रतियोगिताको केही समयपश्चात् नेपालमा अन्डर–२० महिला राष्ट्रिय चेस च्याम्पियनसिपको आयोजना भएको थियो । त्यसभन्दाअघि महिलाको छुट्टै राष्ट्रिय प्रतियोगिता भएको थिएन, यो नै पहिलो थियो । यो च्याम्पियनसिपमा मोनालिसाले पहिलो स्थान हासिल गर्दै आफूलाई ‘राष्ट्रिय च्याम्पियन’ बनाउन सफल भइन् । उनलाई पहिलो महिला राष्ट्रिय च्याम्पियन बनाउन जुनियर च्याम्पियनसिपको अनुभव निकै सहायकसिद्ध भएको थियो । अन्डर–२० तर्फ राष्ट्रिय च्याम्पियन भइसकेपछि मोनालिसाले पहिलोपटक कतारको दोहामा आयोजना हुन गइरहेको १५औँ एसियाली खेलकुद प्रतियोगिताको लागि छनोट प्रतियोगिता खेल्ने मौका पाइन् । उक्त छनोट प्रतियोगितामा अपराजित रहँदै मोनालिसा दोहा एसियाड २००६ का लागि छनोट भइन् । यो छनोटसँगैै मोनालिसा एसियाडमा सहभागिता जनाउने पहिलो महिला चेस खेलाडीसमेत बनिन् ।

एसियाडमा छनोट भएपछि मोनालिसाको खुशीको सीमा रहेन, उनी त्यसको वर्णनसमेत गर्न सक्दिनन्, त्यो खुशीको कुनै बयान नै थिएन । यसर्थमा कि उनी पहिलोपटक अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन गइरहेकी थिइन् । अन्तर्राष्ट्रियस्तरमा पहिलो सहभागिता आफैँमा चुनौती थियो, अनुभवको कमी थियो, यस्तो अवस्थामा पनि पाएको अवसरको सदुपयोग गर्न उनी चुकिनिन् । ११ राउन्डसम्म चलेको प्रतियोगितामा मोनालिसा विभिन्न चार राउन्ड जित्न सफल भइन् । प्रदर्शनको हिसाबले सामान्य रहे पनि व्यक्तिगत रूपमा यो उनको उपलब्धिमूलक प्रदर्शन थियो । दोहा एसियाडमा अन्य दुईजना पुरुष खेलाडी विलमलाल श्रेष्ठ र सूरवीर लामाले पनि सहभागिता जनाएका थिए ।

सफलताको सिँढी चढ्ने क्रममा सन् २००६ देखि २००८ सम्म नेपालमा आयोजना भएका सम्पूर्ण राष्ट्रिय चेस प्रतियोगितामा मोनालिसाले एकछत्र राज गरेकी थिइन् । त्यतिबेला उनी महिलासँगै मात्र नभई पुरुषसँग पनि चेसमा प्रतिस्पर्धा गर्थिन् । देश, काल, परिस्थितिसँगै चेसमा महिला सहभागिता पनि बढ्दै गएपछि पहिलोपटक नेपालमा सन २००८ मा राष्ट्रिय महिला चेस च्याम्पियनसिपको आयोजना भएको थियो । नौ राउन्डको उक्त च्याम्पियनसिपमा मोनालिसा अपराजित रहँदै पहिलोपटक ‘राष्ट्रियसँगै नेपाल च्याम्पियन’ बन्न सफल भइन् । नेपाल च्याम्पियनको पहिलो उपाधि जित्ने मोनालिसा पहिलो महिला चेस खेलाडी हुन् । यो सफलताको राजबारे मोनालिसाले भनिन्, ‘म पोजेस्नल खेलाडी हुँ, धैर्य गरेर बस्ने, विपक्षी खेलाडीको चालसँगै आफ्नो रणनीतिमा पार्दै अघि बढ्ने, मेरो यो रणनीति अहिलेसम्म सफल बन्दै आएको छ, मलाई यसरी नै खेल्न मनपर्छ ।’

नेपालगञ्जमा सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपटक महिला चेस स्पर्धालाई समावेश गरिएको थियो । उक्त प्रतियोगितामा पनि मोनालिसाले अपराजित रहँदै स्वर्ण पदक जितेकी थिइन् । सातौँमा उत्कृष्ट प्रदर्शन गर्न आफूले गेममा कन्सन्टेड गर्न मोबाइल फोन घरमै राखेर गएको मोनालिसाले खुलासा गरिन् । मोनालिसाले भनिन्, ‘मोबाइल घरमा छोडेर जाँदा मलाई कुनै डिस्टर्भ भएन, म मेरो उद्देश्यमा सफल भएँ, सातौँ राष्ट्रियमा दुई राउन्ड बाँकी छँदै म च्याम्पियन भइसकेकी थिएँ ।’ किनकि अन्य प्रतिद्वन्द्वी खेलाडीले बाँकी खेल जित्दा र मैले हार्दा पनि नतिजामा कुनै फरक पर्ने थिएन । मेरो स्कोर धेरै राम्रो थियो । सातौँ राष्ट्रियपछि खेलभन्दा पनि सङ्घमा सक्रिय रहेकी मोनालिसाले आठौँ राष्ट्रिय नखेल्ने मानसिकता बनाए पनि क्लबको अनुरोध र डिफेन्डिङ च्याम्पियनको रूपमा बाध्यतावश खेल्नुपरेको खुलासा गरिन् । त्यसैले उक्त प्रतियोगितामा उनको सोचेकोजस्तो परिणाम आउन सकेन ।

मोनालिसाले थुप्रै अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा प्रतिस्पर्धा गरेर अनुभव बटुल्न सफल भएकी छिन् । तीमध्ये सन् २००९ मा भियतनाममा आयोजित एसियन इन्डोर प्रतियोगिता, चीनको ग्वान्झाउमा सम्पन्न १६औँ एसियाड, २०१४ मा नर्वेमा आयोजना भएको ४१औँ चेस ओलम्पियाडमा सहभागिता प्रमुख छन् । चेसको इतिहासमा पहिलोपल्ट नेपालका पाँचजना पुरुष र पाँचजना महिलाले ओलम्पियाडमा सहभागिता जनाउँदा ती सदस्यमध्ये मोनालिसा पनि एक थिइन् । त्यसपछि मोनालिसाले अजरबैजानको बाकुमा सम्पन्न ४२औँ ओलम्पियाड र जर्जियाको बाटुमी सम्पन्न ४३औँ ओलम्पियाडमा सहभागिता जनाएकी थिइन् । ४३औँ ओलम्पियाड क्याटोगरी ‘ई’तर्फ गोल्ड मेडल जित्ने सम्भावना भए पनि प्राविधिक कारण आफूहरू चुकेकोमा मोनालिसाले दुःख प्रकट गरेकी छिन् ।

मोनालिसाले २०१३ मा फिडे आर्बिटरको उपाधि प्राप्त गरेकी थिइन् । आर्बिटरको उपाधिपछि दिल्लीमा भएको वल्र्ड जुनियर चेस च्याम्पियनसिपमा उनले आर्बिटरको भूमिका निभाएकी थिइन् । सन् २०१५ मा चेसको वुमन क्यान्डिडेड मास्टर (डब्लूसीएम) उपाधि प्राप्त मोनालिसा वर्तमान अवस्थामा नेपाल बुद्धिचाल सङ्घको केन्द्रीय कार्यसमितिको सदस्य तथा महिला विभागको प्रमुखको रूपमा कार्यरत छिन् । यसबाहेक गोल्डनगेट चेस क्लब खोलेर साताको दुई दिन खेलाडीलाई प्रशिक्षण दिँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा विशेष भूमिका निभाइरहेकी छिन् । उनलाई यो अभियानमा प्रमुख प्रशिक्षक केशव श्रेष्ठले सहयोग गर्दै आएका छन् । साथै राष्ट्रिय चेस टिमलाई प्रशिक्षण दिनुको साथै खेलाडीको छात्रवृत्तिका लागि चेसको प्रतियोगिता आयोजना गर्दै आएको बताइन् ।

चेसमा १३ वर्ष बिताइसकेकी मोनालिसालाई चेसमा वर्तमान महिला खेलाडीको भविष्यबारे प्रश्न गर्दा उनले भनिन्, ‘नेपालमा चेसको माहोल पहिले पनि राम्रो थियो, अहिले अझै राम्रो छ । अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता व्यापक भइरहेको छ, त्यसमा महिला सहभागितालाई अनिवार्य बनाएको छ, जसले गर्दा थुप्रै महिलाले खेल्ने अवसर पाएका छन् । त्यसको म उदाहरण हुँ, मैले चेसमा उत्कृष्ट खेलको प्रदर्शन गरेकै कारण दश कक्षादेखि मास्टर्ससम्म छात्रवृत्तिमा पढ्ने अवसर पाएकी छु । मलाई कक्षा १० मा नर्थ प्वाइन्ट एकेडेमी, प्लस टु र स्नातकमा द टाइम्स इन्टरनेसनल कलेज र मास्टर्समा गोल्डेनगेटले छात्रवृत्ति दिएको थियो । साथै चेस खेलाडी भएकै कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एक्सपोजर हुन पाएकी छु ।’

यति हुँदाहुँदै पनि महिला चेस खेलाडीले निरन्तरता नदिँदा खेलकुदमा उनीहरूको भविष्य सङ्कटमा पर्दै आएको छ । यसका लागि महिला खेलाडी मात्र नभई सङ्घको पनि त्यत्तिकै कमजोरी छ । मेरो विचारमा सङ्घले महिला खेलाडीलाई जसरी समेट्नुपर्ने थियो, त्यसरी समेट्न सकेको छैन । नेपालमा खेलाडी भएर बाँच्न गाह्रो छ, अझ महिलाको प्रतियोगिता निकै न्यून हुन्छ, अर्थात् प्रायः शून्य नै छ भन्दा फरक पर्दैन । महिलालाई पढाइ र घरपरिवारको समस्या पनि उत्तिकै छ, उनीहरूले आफूले सोचेअनुसार खेल्न पाएका छैनन्, निकै गाह्रो छ । यही सत्यतालाई आत्मसात् गर्दै म सङ्घमा आबद्ध भएकी हुँ । मेरो विचारमा महिला अहिले पनि खेलकुदमा आफूलाई असुरक्षित महसुस गर्छन् । अभिभावकले पनि महिलालाई खेलकुदमा पठाउन उक्त खेलमा महिला सहभागिताको प्रश्न गर्छन् । यस्तो अवस्थामा जुनसुकै खेलमा पनि विभिन्न रूपमा महिलाको सहभागिता (टेक्निकल, प्रशिक्षक र पदाधिकारी)को रूपमा हुनु आवश्यक भइसकेको छ । यदि यस्तो वातावरण भयो भने महिलाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खुलेर सहभागिता दिन सक्छन्, यो मेरो अनुभव हो– मोनालिसाले भनिन् ।

१५औँ एसियाली खेलकुद प्रतियोगिता खेल्न जाँदाको क्षण मोनालिसाको अविष्मणीय क्षण बनेको छ । त्यतिबेला उनी कक्षा १० मा अध्ययनरत थिइन्, स्कुलले उक्त दिन सार्वजनिक बिदा दिएको थियो । चारवटा बसमा विद्यार्थी राखेर चियर्स गर्न एयरपोर्ट पठायो, के भइरहेको थियो, मलाई केही थाहा थिएन । फूलको माला र खादाले पुरिएकी थिएँ, खालि सेलेब्रिटीजस्तो मात्र लागिरहेको थियो । अझ पहिलोपटक प्लेन पनि चढ्न पाएको मेरो खुशीको सीमा नै थिएन । म यो क्षण कदापि बिर्सन सक्दिनँ ।

विवाह गर्ने उमेर भइसकेकी मोनालिसासँगै प्रेम सम्बन्ध र विवाहबारे चर्चा गर्दा आफ्नो खेल र पढाइमा व्यस्त भएका कारण त्यसतर्फ कहिल्यै नसोचेको बताइन् । आफू घरको सबैभन्दा ठूलो छोरी, आमा–बुबाले अन्तर्जातीय नमान्ने, पढ्दाखेरि त्यस्तो आफूलाई मन पर्ने सुहाउने पनि भेटिएन । अझ म हक्की स्वभावकी भएकीले होला, त्यस्तो प्रेमको प्रस्ताव राख्ने कसैले आँट र साहस नै गरेन । कसैले आँट गरेहाले पनि मेरो जवाफ स्टेट हुन्थ्यो, त्यसैले कोहीसँग नजिक हुने वातावरण नै भएन् । साँचो रूपमा भन्नुपर्दा मलाई समाज र राष्ट्रका लागि केही गर्नु छ, त्यसका लागि मलाई बुझ्ने मान्छे चाहिन्छ । त्यसैले समयले जुराए ठीकै छ, नभए सिङ्गल नै ठीकै छ, यसमा मेरो कुनै गुनासो छैन ।