प्रदर्शनीमा ८० किलोको साढे १० फिट अग्लो खुकुरी

प्रदर्शनीमा ८० किलोको साढे १० फिट अग्लो खुकुरी


पर्वत जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका छन् । तीन महिनाको अवधिमा उनको नेतृत्वमा चारजनाको टोलीले हालसम्मकै सबैभन्दा ठूला सो खुकुरी तयार गरेको हो ।

असी किलोको कुखुरीको अग्लाइ साढे १० फिटको रहेको छ । गत मंसिर ४ गतेदेखि खुकुुरी बनाउन शुरु गरी माघ २९ गते सम्पन्न भएको उनले जानकारी दिए ।

सुनारसँगै अर्जुन विक, सन्तोष विक र हरिलाल विकको समूहले तीन महिनाको अवधिमा निर्माण भएको खुकुरी अहिले पर्वत बेनीमा जारी १३औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवमा प्रदर्शनीमा राखिएको छ ।

उनले माझफाँटमा डिलु आरान उद्योग सञ्चालन गर्दै आएका छन् । खुकुरीलाई चासो र जिज्ञासाको साथ अवलोकन गरी फर्कने गरेको रेडियो दिदीबहिनीका अध्यक्ष कल्पना चापागाईंले जानकारी दिइन् ।

महोत्सवको मञ्चको छेउमा कुखुरीलाई ठाडो पारेर सबैले देख्न सक्ने गरी राखिएको छ । खुकुरीमा फलामसँगै बिँडमा सालको काठ र काँजोमा चाँदी र पितलको प्रयोग गरिएको छ । ‘तीन वर्षदेखि ठूलो खुकुरी बनाउने योजना बनाएको थिएँ, फलामको साइज नेपालमा नभेटिएपछि भारतबाट मगाएको हुँ, नेपालको राष्ट्रिय हतियारको रूपमा विश्वभर रहेका नेपालीको पहिचान र नेपालको चिनारीका लागि खुकुरीमार्फत प्रयास गरेको हुँ,’ निर्माणकर्ता सुनारले भने ।

उहाँका अनुसार खुकुरी निर्माणमा रु. दुई लाख खर्च भएको छ । सामान खरिद र चारजनालाई तीन महिनाको पारिश्रमिक खर्चसमेत आफैँले जुटाएर खुकुरी बनाएका सुनारले आफ्नो लगानी उठ्ने गरी संग्रहालयमा राख्नका लागि सो खुकुरीलाई बिक्री गर्ने योजना बनाएको जानकारी दिए । राससका अनुसार पुख्र्यौली रूपमा आफ्ना अभिभावकले गर्दै आएको आरान पेसालाई आधुनिकीकरण गरेका सुनारले आकर्षक तरबार, खुकुरी, दाउ, आँसीलगायतका हतियारसँगै फलामका भाँडासमेत बनाउँदै आएका छन् । उनले महोत्सव परिसरमा आफ्नो उद्योगमा निर्माण गरिएका हातहतियार र औजार सामग्रीलाई समेत बिक्री–वितरणका लागि प्रदर्शनीमा राखेका छन् ।