सेनाको इतिहासकै सबैभन्दा भ्रष्ट मानिएका सेनापति परे छानबिनमा

सेनाको इतिहासकै सबैभन्दा भ्रष्ट मानिएका सेनापति परे छानबिनमा


राजेन्द्र क्षेत्रीले आफू सेनाप्रमुख रहँदा गरेको फोहोर सफा गर्न वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापालाई मुस्किल परिरहेका बेला संसद्को राज्य व्यवस्था समितिले सुस्पष्ट निर्णय लिएपछि क्षेत्रीबाट भएका भ्रष्टाचार तथा अनियमितताका सम्पूर्ण तथ्यहरू सार्वजनिक हुने विश्वास बनेको छ । राजेन्द्र क्षेत्रीले आफ्नो तीनवर्षे कार्यकालमा गरेका भ्रष्टाचारले उनलाई सेनाको इतिहासकै सबभन्दा दुर्गन्धित तुल्याएको ठानिन्थ्यो । फास्ट ट्र्याक निर्माणको ठेक्का र शशिभवनस्थित सेनापति आवास भवन निर्माण ठेक्का र सामान खरिदलगायतमा क्षेत्रीले ठेकेदार तथा सप्लायरसँग मिलेर अर्बौं रुपैयाँबराबरको घोटाला गरेको बताइन्छ ।

महांकालस्थानस्थित त्रिचन्द्र सैनिक अस्पताल भवनको मौलिकतामा गम्भीर क्षति पु¥याउँदै पुरातात्विक महत्वको उक्त स्थानमा ‘सपिङ मल’ बनाउन लगाएर क्षेत्रीले अनुचित लाभ लिएको चर्चा निकै अघिदेखि नै चल्दै आएको थियो । त्यस्तै, सेनालाई तत्काल आवश्यक नपर्ने सामान खरिद गरी ठूलो मात्रामा कमिसन खाएको र कमिसनकै लागि तत्काल आवश्यक पर्नेभन्दा बढी सामान खरिद गर्ने गरेको पनि सैन्य सूत्रबाट थाहा भएको छ । राजेन्द्र क्षेत्रीलाई निकटबाट चिन्नेहरूले उनीबाट पाँचदेखि सात अर्बसम्मको भ्रष्टाचार भएको अनुमान गरेका छन् । तत्काल सम्बद्ध निकायले क्षेत्रीको सम्पत्ति रोक्का गरेन भने बिक्री गरिने, नामसारी गरिने र उनी नेपालबाट पलायन हुन सक्ने सम्भावना देखिएको छ ।

राजेन्द्र क्षेत्रीबाट भएका अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न माग गर्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको थियो । अन्य उजुरीसँगै क्षेत्रीका विरुद्ध परेका उजुरीमाथि छानबिन गरी प्रतिवेदन पेस गर्न सांसदहरू नवराज सिलवाल, रेखा शर्मा र दिलेन्द्रप्रसाद बडू सम्मिलित एक समिति गठन भएकोमा गत बिहीबार (फागुन १) उक्त समितिले आफ्नो प्रतिवेदन राज्य व्यवस्था समितिमा बुझाएको थियो । प्रतिवेदन प्रस्तुत भएपछि राजेन्द्र क्षेत्रीमाथि छानबिन तथा अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई निर्देशन दिने निर्णय भएको छ ।

संसदीय समितिको यस्तो निर्णयपछि वर्तमान सेनापति पूर्णचन्द्र थापाद्वारा भइरहेका ‘स्वच्छ सेना’ निर्माणका प्रयासमा योगदान पुग्ने विश्वास गरिएको छ । क्षेत्रीले आफ्ना नातेदार दीपक कुँवर र आफ्ना छोरामार्फत अनुचित कमाइलाई संस्थागत गरेको बताइएको छ । क्षेत्रीले आफ्ना छोरालाई व्यापारीहरू रोशन श्रेष्ठ र उमेश श्रेष्ठसँग साझेदार बनाएर सप्लाईको काम दिएका थिए । संसदीय समितिको निर्णयले राजेन्द्र क्षेत्रीमार्फत भएका भ्रष्टाचारको एक–एक अनुसन्धान गरी ‘अख्तियार’ र ‘सम्पत्ति शुद्धीकरण’ले आवश्यक कारबाही प्रक्रिया अघि बढाउने विश्वास गरिएको छ । क्षेत्रीमाथि अनुसन्धान शुरु भएसँगै उनीसँगै जोडिएर भ्रष्टाचारमा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान खुल्ने सम्बद्ध पक्षले ठानेको छ ।