अनौठो कारण देखाउँदै कांग्रेस रुपन्देहीले लियो कारवाहीको निर्णय

अनौठो कारण देखाउँदै कांग्रेस रुपन्देहीले लियो कारवाहीको निर्णय


■ पुनहरि बेल्बासे, भैरहवा

नेपाली कांग्रेस रुपन्देहीले राष्ट्रिय सभा सदस्य एवं पार्टीका नेता दुर्गाप्रसाद उपाध्यायको निधनमा तीन दिनसम्म पार्टीको आधिकारिक कुनै काम नगर्ने निर्णयको विपरीत औपचारिक कार्यक्रममा सहभागी भएको भन्दै पार्टीसम्बद्ध १२ जनालाई सातदिने लिखित स्पष्टिकरण माग गरेको छ । कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्वमा मगंलबार भैरहवामा बसेको कार्यसमिति बैठकले यस्तो निर्णय लिएको हो । नेता उपाध्यायको गत शुक्रबार दिवंगत भएको थियो ।

जिल्ला कार्य समितिले शुक्र, शनि र आइतबारसम्म पार्टीले कुनै कार्यक्रम नगर्ने र पार्टीका शुभेच्छुक एवम् भातृसंस्थाहरुले समेत आयोजना गरेका कार्यक्रममा सहभागी नहुने निर्णय लिएको थियो । तर शनिबार नेपाल विद्यार्थी संघ भैरहवा बहुमुखी क्याम्पसले आयोजना गरेको बनभोजमा सहभागी भएको भन्दै जिल्लास्तरीय नेताहरुलाई कार्वाहीस्वरुप स्पष्टिकरण सोध्ने निर्णय गरेको सभापति रज्जाकले जानकारी दिए ।

त्यस्तै, पार्टीले स्वर्गीय उपाध्यायको १३औं पुण्य तिथीमा उनको निवास लुम्बिनीस्थित मधुवनीमा यही फागुन १२ गते सोकसभा गर्ने भएको छ । शोकसभामा पार्टीका केन्द्रीय सभापति एवं पुर्वप्रधानमन्त्री शेरबहादुुर देउवा उपस्थित हुने जानकारी दिइएको छ ।

पार्टीले बुधबार प्रजातन्त्र दिवसको अवसरमा बिपी अध्ययन प्रतिष्ठान बुटवलले शंकरनगरमा आयोजना गर्ने विचारगोष्ठीलाई संयुक्त रुपमा आयोजना गर्ने भएको छ । फागुन २२ का दिन पार्टी कार्यालय भैरहवामा शहीद यादवनाथ आलोक र रामप्रसाद चौधरीको स्मृतिमा कार्यक्रम समेत गर्ने पार्टीसचिव रामकृष्ण खाणले जानकारी दिए । उनका अनुसार यही फागुन मसान्तभित्र सबै क्रियाशील सदस्यता नवीकरण गराइसक्ने र सबै वडा स्थानीय तह तथा वडाहरुमा संघीयताको आधारमा पार्टीको समायोजन गरी केन्द्रलाई जानकारी गराइने छ ।

कांग्रेस रुपन्देहीले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई तथा पुर्व मुख्यसचिव लीलामणि पौडेललाई पनि मुद्धा चलाउन माग गरेको छ । काग्रेस रुपन्देहीका आमन्त्रित सदस्य मुक्ति पौडेल नेवि संघको केन्द्रीय उपाध्यक्ष भएकोमा बधाई ज्ञापन गरेको छ ।