हिसान खेलकुदमा जेभियर र साइपाल च्याम्पियन

हिसान खेलकुदमा जेभियर र साइपाल च्याम्पियन


जेभियर इन्टरनेसनल कलेज र साइपाल एकेडेमीले पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत बास्केटबल उपाधि जितेका छन् । जेभियर ब्वाइज तथा साइपाल गल्र्समा च्याम्पियन भए ।

काठमाडौं हिसानद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा जेभियरले सीसीआरसीलाई ४८–३९ ले पराजित गऱ्यो । जेभियरको जितमा सागर तामाङले १० अंक योगदान गरे । जेभियरले पहिलो क्वाटरमा ११–८ र दोश्रोमा १३–१२ को अग्रता लियो । तेश्रोमा १२–१३ ले पछि परेको जेभियरले चौथो क्वाटर १२–६ ले आफ्नो पक्षमा पाऱ्यो ।

गल्र्सको उपाधि भिडन्तमा दृष्टि श्रेष्ठको ११ अंक सहयोगमा साइपालले मोर्गनलाई ३६–२७ ले हरायो । साइपालले पहिलोमा १२–२ र दोश्रोमा ६–३ को प्रदर्शन गर्दै जितको आधार खडा गरेको थियो । साइपाल तेश्रोमा ७–९ र चौथोमा ११–१३ ले पछि रह्यो । यो वर्ष साइपालले समग्रमा उपाधि जितेको १० औं पटक हो ।

बसुन्धरास्थित ऋत एकेडेमीमा भएको प्रतियोगिताको ब्वाइजमा जेभियरका शिशिर कुँवर तथा गल्र्समा साइपालकी पुनम राई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई आयोजक काठमाडौं हिसानका अध्यक्ष नरेन्द्रबहादुर अधिकारी र सहसचिव आनन्दकुमार यादवले पुरस्कृत गरे । ब्वाइजमा १९ र गल्र्समा ७ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

खेलकुद सप्ताहमा ५ खेल राखिएकोमा ४ खेल सम्पन्न भइसकेका छन् । बास्केटबलअघि ब्वाइज, गल्र्सको भलिबल, टग अफ वार र टेबलटेनिस सम्पन्न भइसकेको छ । फागुन ५ गते फुटसलको समापनसंगै हिसान खेलकुद सप्ताहले बिट मार्ने छ ।