‘मृत्युको अघिल्तिर’ बजारमा

‘मृत्युको अघिल्तिर’ बजारमा


कवि तथा पत्रकार मणि लोहनीको नयाँ कविता संग्रह ‘मृत्युको अघिल्तिर’ प्रकाशित भएको छ । मानवीय सम्बन्ध र जीवन दर्शनलाई पहिल्याउने मणि पछिल्लो समय मृत्युपछिको महाशुन्यता र रहस्यमाथि कथा–कविता लेखिरहेका छन् । शिखा बुक्सले बजारमा ल्याएको कविता सङ्ग्रहमा पनि तीन खण्ड गरि फरक–फरक विषयका ३२ कविता संकलित छन् । ‘१५ वर्षपछि कविता संग्रह आएको छ, निकै उत्साहित भएको छु ।’ मणिले भनेका छन्, ‘प्रकाशकसँग सल्लाह गरी चाँडै बिमोचनको मिति तय गरिने छ ।’

टेलिभिजन पत्रकारितामा सक्रिय मणिको पहिलो कविता संग्रह ‘आन्दोलनले छट्पटाएका कलमहरु’ २०४९ सालमा प्रकाशित भएको हो । त्यसयता उनी कथा, निवन्ध र कविताको क्षेत्रमा सक्रिय छन् । उनका कथा र कविताका गरी पाँच कृति प्रकाशित छन् ।

वि.स. २०६१ सालमा प्रकाशित ‘मलामी साँझ’ कविता संग्रहसँगै नेपाली कवितामा दर्बिलो उपस्थिति देखाएका उनका ‘परास्त प्रेम’ र ‘निर्वस्त्र मन’ चर्चित कथा संग्रह हुन् ।

भानुमोति पुरस्कार २०५८, सर्वोत्कृष्ट कथा पुरस्कार २०६३, युवावर्ष मोति पुरस्कार २०६८, शतिसचन्द्र रेग्मी अतुल स्मृति पुरस्कार २०६९, ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार २०७४, बनिताश्री काव्य पुरस्कार २०७५ र संसाक कथा पुरस्कार २०७६ बाट सम्मानित मणिका केही कविता र कथा हिन्दी, अङ्ग्रेजी, बङ्गाली, जापानिज र कोरियन भाषामा प्रकाशित भएका छन् ।

चार वर्षअघिदेखि प्रकाशनमा सक्रिय शिखा बुक्सले अहिलेसम्म दुई सय कृति प्रकाशित गरिसकेको छ । ‘मृत्युको अघिल्तिर’ले पाठकहरूको कविताको भोकलाई केही शान्त पार्ने विश्वास लिएको शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलले बताए ।

‘मृत्युको अघिल्तिर’ कविता कृतिको मूल्य दुई सय रुपैयाँ रहेको छ ।