नेपाली बिचौलियाद्वारा युरोपमा पनि मानव तस्करी

नेपाली बिचौलियाद्वारा युरोपमा पनि मानव तस्करी


■ छविलाल बगाले, पोर्चुगल

नेपालबाट यूरोप आएर मानव तस्करी गर्नेहरुको धन्दा मौलाएको प्रति विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरुले आवाज उठाउन थालेका छन् । रोजगारीको नाममा नेपालबाट कामदार ल्याएर उनीहरुको सपना धुजाधुजा पार्नेलाई एनआरएनले उल्टै प्रश्रय दिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

आइतबार (४ फागुन) पोर्चुगलस्थित विप्लव नेतृत्वको नेकपासम्बद्ध नेपाली जनप्रगतिशील मोर्चाको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै यूरोप संयोजक बिष्णु भुजेलले दलालप्रति एनआरएनए रमिते मात्र बनेको आरोप लगाएका छन् । एनआरएनएको नाममा मानव तस्करी गर्नेहरुको संख्यामा वृद्धि भएकोले  मोर्चाले खोजी खोजी कारवाही गर्ने उद्घोष गरे ।

एनआरएनए पोर्चुगलको कार्यशैलीप्रति आक्रामक बन्दै उनले ठगिएकाको उद्धार गर्नुपर्ने व्यक्तिहरु नै कामदारबाट लाखौं रुपैयाँ असुल गरेर यूरोप छिराउने र अलपत्र पार्ने धन्दामा लिप्त रहेको आरोप लगाए ।

‘हामीले एनआरएनएका जिम्मेवार व्यक्तिहरुको कार्यशैलीलाई नजिकैबाट नियालेका छौँ, अब चुप लागेर बस्दैनौँ, मानव तस्करी गर्नेविरुद्ध कारबाहीको प्रक्रिया अघि बढाउँछौं’, उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा यूरोपका अन्य मुलुकबाट सहभागी हुन आएका मोर्चाका नेताहरुले पनि लाखौं तिरेर पोर्चुगल आउने युवाहरुको सपना दलालकै कारण चकनाचुर भएको आरोप लगाएका छन् । यस्तै, उनीहरुले नेपालमा भ्रष्टाचार नियन्त्रण हुन नसकेको प्रति चिन्ता ब्यक्त गरेका छन् । सिंहदबारदेखि गाउँका वडासम्म भ्रष्टाचारको जरो फैलिएकोले यसप्रति मोर्चाले खबरदारी गरिरहने सम्बन्धित नेताहरुको भनाई छ ।

मोर्चाको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैह्रे, नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरे, प्रवासी नेपाली एकता मञ्चका सचिव डोलराज भण्डारी, नेपाली समाज पोर्तुगलका अध्यक्ष सोम शेर्पा लगायतले समाज सही ढंगले अघि बढ्न सकारात्मक सोचको आवश्यकता पर्ने भएकोले सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने धारणा राखेका थिए ।

यसैबीच कार्यक्रममा मोर्चाका नेताहरुले ‘मिलिनियम च्यालेन्ज’ अर्थात एमसीसीको विरोध गर्दै सरकारले राष्ट्रिय स्वाधीनतालाई कमजोर पारेको आरोप लगाएका छन् । उनिहरुले मुलुकमा वैज्ञानिक समाजवादको आवश्यकता रहे पनि सरकार त्यसप्रति सधैँ नकरात्मक भएको टिप्पणी गरे । कार्यक्रम नेपाली जनप्रगतिशिल मोर्चा पोर्चुगलका अध्यक्ष पूर्णबहादुर विश्वकर्माको अध्यक्षतामा भएको थियो ।