हेटौँडा–धुलिखेल विद्युतीय बस सञ्चालन हुने

हेटौँडा–धुलिखेल विद्युतीय बस सञ्चालन हुने


बागमती प्रदेश सरकारले सरकारी स्वामित्वमा हेटौँडा–धुलिखेल विद्युतीय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौँडादेखि धुलिखेलसम्म विद्युतीय बस सञ्चालन गर्ने योजनालाई तीव्रता दिएको छ । आत्मनिर्भरता बढाउँदै समृद्धितर्फ जाने उद्देश्यका साथ प्रदेश सरकारले विद्युतीय बस सञ्चालन गर्न लागेको हो ।

प्रदेश सरकारले ‘प्रदेश यातायात निगम’ स्थापनाको तयारी अघि बढाइसकेको जनाएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय बसको सञ्चालनले प्रदेशलाई समृद्ध बनाउने बताए । उनका अनुसार प्रदेश सरकारले यस्ता गौरवका योजना छिटो नै सम्पन्न गरेर समृद्ध प्रदेश निर्माण गर्नेछ । पौडेलले सरकारले दुई वर्षभित्र समृद्धितर्फ जाने गौरवका योजनाको डीपीआर बनिसकेको र अबका वर्षमा तीव्रताका साथ निर्माण गरिने बताए ।

०७७ भित्र प्रदेशमा विद्युतीय बस सञ्चालन गर्न सरकारले प्रदेश सभा सदस्य दीपक निरौलाको संयोजकत्वमा भौतिक योजना मन्त्रालयअन्तर्गत विद्युतीय सवारीसाधन सरसफाइ सामग्री खरिद सहजीकरण समिति बनाएर कामलाई तीव्रता दिएको राससले जनाएको छ । फागुन दोस्रो साताभित्र बिजुली बस खरिदका लागि ग्लोबल टेन्डर खोल्ने तयारी भइरहेको संयोजक निरौलाले जानकारी दिए ।

निरौलाका अनुसार मन्त्रालयलाई प्रतिवेदन बुझाउनेबित्तिकै विद्युतीय बस खरिद गर्न ग्लोबल टेन्डर निस्किनेछ । प्रदेश मन्त्रिपरिषदले दुई महिनाअघि प्रदेश यातायात निगम गठन सम्बन्धमा संघीय सरकारलाई अनुरोध गरिसकेको उनले बताए । उनका अनुसार संघीय सरकारले यातायात निगम गठन गर्ने अनुमति दिएपछि प्रदेश यातायात निगम विधेयक प्रदेश सभामा पेस हुनेछ । बिजुली बस हेटौँडा–नारायणगढ–काठमाडौं हुँदै धुलिखेलसम्म सञ्चालन गर्ने तयारी भइरहेको बताइएको छ ।

समितिले यही फागुन ६ गतेसम्म प्रदेशको भौतिक योजना मन्त्रालयलाई विद्युतीय बस सञ्चालनसम्बन्धी प्रतिवेदन दिने संयोजक निरौलाले जानकारी दिए । प्रतिवेदनमा बिजुली बस सञ्चालन प्रक्रिया, बस सञ्चालन हुने रुट, चार्जिङ स्टेसनलगायत विषय समेटिने र समितिअन्तर्गत दुईवटा उपसमिति गठन गर्दै बिजुली बस सम्बन्धमा छलफल भइरहेको उनको भनाइ छ ।