अमेरिका पठाउने भन्दै साठी लाख ठगी

अमेरिका पठाउने भन्दै साठी लाख ठगी


नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भई काठमाडौंको तारकेश्वर बस्दै आएकी ३७ वर्षीया सानुमाया लामालाई रामचन्द्र कुँवरले अमेरिका पठाइदिने प्रलोभन दिए । त्यसका लागि बैंक ब्यालेन्स देखाउनुपर्ने भनी चेपमा पारेर प्राइम बैंकका खाताबाहक बाग्लुङका कुँवरले आफ्नो खातामा साठी लाख रकम राख्न लगाई रकम राखेको भोलिपल्ट प्राइम बैंकको शाखा चावहिल, नयाँबानेश्वर, कोटेश्वर, सामाखुसी र इमाडोलबाट नक्कली कागजपत्र र नक्कली सवारीचालक अनुमतिपत्र राखी रकम निकाले । यस काममा उनलाई काभ्रेका ३४ वर्षीय गणेश लामाले पनि साथ दिए । त्यसपछि ठगीमा संलग्न यी दुवै सानुमायाबाट सम्पर्कविहीन भएर बसे ।

आफू ठगीमा परेको महसुस भएपछि सानुमायाले ठगीविरुद्ध प्रहरीमा जाहेरी दिइन् । यसरी साठी लाख ठगेर सम्पर्कविहीन भएको भन्ने प्राप्त जाहेरीका आधारमा महानगरीय अपराध महाशाखाबाट प्रहरी खटियो । प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा आइतबार (४ फागुन) बेलुका भक्तपुरको ठिमीबाट दुवैलाई लुकीछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले ठगीमा संलग्न ती दुईले अन्य तीन व्यक्तिबाट समेत दश लाख ठगी गरेको पाइएको छ । प्रहरीले उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।