नेप्सेमा ३४ अङ्कको छलाङ, करिब दुई अर्ब ७० करोडको कारोबार

नेप्सेमा ३४ अङ्कको छलाङ, करिब दुई अर्ब ७० करोडको कारोबार


धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ३४ अङ्कले बढेको छ । लगातार उकालो लागेको बजारमा सोमबार नेप्सेले नयाँ इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.२४ बिन्दुले बढेर एक हजार ३ सय ९८.२४ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचकसमेत ८.०४ ले वृद्धि भई २९३.८६ मा पुगेको छ । बजार उकालो लाग्ने क्रम बढ्दै जाँदा नेप्सेले एक हजार चार सयको दिशा पक्रेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धि हुँदा त्यसको प्रभाव कारोबार रकममा परेको छ । आज झन्डै दुई अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ । कुल १७५ कम्पनीका ६४ लाख ७४ हजार ७५० कित्ता सेयर रु दुई अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४४२ मूल्यमा खरिद–बिक्री भए ।

कारोबार भएका कुल १२ उपसमूहकै सेयर आज उकालो लागेको छ । बैंकिङ ४१.१३, व्यापार ४१.९७, होटेल २०.९४, विकास बैंक २७.३, जलविद्युत ३२.१८, वित्त ९.७९, निर्जीवन बिमा १८१.८२, उत्पादन १०.६५, अन्य ६.२१, लघुवित्त ९.६७, जीवन बिमा ११७.७२ र सामूहिक लगानी कोष ०.१ ले वृद्धि भएको छ ।

नेप्सेका अनुसार आज कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु. १२ करोड ९४ लाख ९० हजार २३८ मूल्यबराबरको सेयर कारोबार भए । शिखर इन्सुरेन्स कम्पनी रु. ११ करोड २१ लाख ९६ हजार ३७३, हिमालयन डिस्टिलरी रु. १० करोड २९ लाख ३४ हजार ७८४, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु. नौ करोड दुई लाख ९४ हजार ७६६, नेको इन्सुरेन्स रु. आठ करोड ९९ लाख ६३ हजार २४३, एनआईसी एशिया बैंक रु. आठ करोड ७५ लाख ३३ हजार २९१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार ङादी समूह, राष्ट्रिय बिमा कम्पनी पञ्चकन्या माईका सेयरधनीले समान १० प्रतिशतले कमाए । यस्तै राष्ट्रिय बिमा कम्पनी लिमिटेडको संस्थापक सेयर ९.४४, अरुण काबेली पावर ८.५९, सेन्ट्रल फाइनान्स ८.३३, नबिल इक्विटी फन्ड ८.१४ र हिमालयन पावर पार्टनरका सेयरधनीले ७.५३ प्रतिशतले कमाए ।

त्यस्तै, नेपाल हाइड्रो डेभलपर्स ५.६३, नाडेप लघुवित्त वित्तीय संस्था ३.१२, नेरुडे लघुवित्त विकास बैंक ३.१०, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था २.७३, सपोर्ट माइक्रोफाइनान्स २.७१ र मेरो माइक्रो फाइनान्सका लगानीकर्ताले २.५९ प्रतिशतले गुमाए ।