प्रदेश नं २ को सरकार परिवर्तन होइन अब राजपासँग पार्टी एकीकरण : उपेन्द्र यादव

प्रदेश नं २ को सरकार परिवर्तन होइन अब राजपासँग पार्टी एकीकरण : उपेन्द्र यादव


प्रदेश २ को सरकार परिवर्तन हुन सक्ने सम्भावनाबारे विभिन्न कोणबाट चर्चा भइरहेको परिवेशबीच प्रदेश नं २ को सरकार परिवर्तन नहुने समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले दाबी गरेका छन् । प्रदेश नं २ को सरकारविरुद्ध कुदृष्टि लगाउनेहरू निकै छन् र पनि राष्ट्रिय जनता पार्टीसँगको सहकार्यमा पूरा अवधि सञ्चालन हुने जिकिर यादवको छ ।

केपी–प्रचण्ड नेतृत्वको नेकपाले राजपाको साथ लिएर प्रदेश २ को सरकार बदल्ने चर्चा चल्दै गर्दा हालै सरकारबाट बाहिरिएका पूर्वउपप्रधानमन्त्री यादवले राजपा र आफ्नो दलबीच छिट्टै एकीकरण हुने दाबीसमेत गरे ।

प्रेस नेपाल मोरङद्वारा विराटनगरमा आइतबार (४ फागुन) आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सबै नेपालीको चाहनाअनुसार संविधान संशोधन हुनुपर्नेमा जोड दिँदै विश्वमा संविधान संशोधन भएको इतिहास रहेको तर्क गरे । सबैको स्वामित्व हुने गरी संविधान संशोधन तथा परिमार्जन नभएमा गणतन्त्र अगाडि बढ्न नसक्ने उनको धारणा थियो ।

आफ्नो पार्टी संविधान संशोधनको शर्तका आधारमा सरकारमा सहभागी भएको तर संविधान संशोधन नहुने भएपछि सरकारबाट बाहिरिएको भनी उनले आफ्नो बचाउ गरे । संविधान संशोधनका लागि पहिले सदनबाट सङ्घर्ष गर्ने अन्यथा सडकबाट विद्रोह शुरु गर्ने पनि यादवले बताए ।

संसद्प्रति उत्तरदायी हुनुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको प्रभावमा परेर पूर्वाग्रहको आधारमा कारवाही गरेको आरोप लगाउँदै अध्यक्ष यादवले उक्त संवैधानिक निकायले सबैलाई समान व्यवहार गर्नुपर्ने र प्रश्न उठेकाप्रति छानबिन हुनुपर्ने अभिव्यक्ति दिए ।