तिङ्करमा सुरक्षाकर्मीको पोष्ट स्थापना गर्ने सरकारको तयारी

तिङ्करमा सुरक्षाकर्मीको पोष्ट स्थापना गर्ने सरकारको तयारी


उपप्रधानमन्त्री ईश्वर पोखरेलले छिमेकी भारतसँगको विवादित भूमि फिर्ता गराएरै छाड्ने दाबी गरेका छन् । नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा नेपालका सबै राजनीतिक दलको साझा एजेन्डा रहेको भन्दै उनले नेपालको मिचिएको भूमि अरूलाई एक इन्च पनि नछाडिने अभिव्यक्ति दिएका हुन् ।

दार्चुला उद्योग वाणिज्य सङ्घले आइतबार (४ फागुन) आयोजना गरेको ‘सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६’ को उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले पछिल्लो समय कालापानी लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा राखेपछि नेपाल सरकारले कूटनीतिक पहल थालेको जानकारी दिए ।

भारतले मिचेको क्षेत्रको व्यास गाउँपालिकाको कालापानी क्षेत्र भ्रमणमा आफू निस्कन लागेको खुलासा गर्दै रक्षामन्त्रीसमेत रहेका पोखरेलले भने– ‘हाम्रो भूमि न अरूलाई एक इन्च छोड्छौँ, न अरूको एक इन्च जमीन माग्छौँ, हाम्रो नेपालको भूमि मिच्न कदापि दिँदैनौँ, भूमि अतिक्रमण सह्य हुँदैन, सहदैनौँ ।’ केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले पहिलोपटक भारतसँग सीमाका विषयमा कूटनीतिक नोट लेखेको उनको जिकिर थियो ।

विसं ०६४/६५ देखि निर्माण शुरु भएको व्यासको तिब्बत जोड्ने निर्माणाधीन तिङ्कर सडकको निर्माण कार्य नेपाली सेनामार्फत पुनः सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको उदघोष पनि उनले गरे ।

झण्डै ११ वर्षअघिबाट निर्माण शुरु भएको तिङ्कर सडकखण्डअन्तर्गत खलङ्गादेखि माथि ४० किलोमिटर क्षेत्रफल मात्रै ट्र्याक खुलेको छ । महाकाली करिडोरअन्तर्गत राखिएको सो सडकको कूल लम्बाइ ४२५ किलोमिटर छ । कञ्चनपुरको ब्रह्मदेवदेखि तिङ्करसम्मको विभिन्न खण्डमा कूल १२५ किलोमिटर सडकको ट्याक खुलेको दार्चुला तिङ्कर सडक योजनाले जनाएको छ । दार्चुला तिङ्कर सडकको व्यास गाउँपालिका सुनसेराभन्दा माथिल्लो तिङ्कर भञ्जाङसम्मको झण्डै ८७ किलोमिटर सडकको ट्र्याक खोल्न नेपाली सेनालाई दिने तयारी थालिएको रक्षामन्त्री पोखरेलले खुलासा गरेका हुन् ।

दार्चुलाको व्यास कालापानी क्षेत्रमा सशस्त्र प्रहरी राख्ने विषयमा भूगोलको निरीक्षण गरिने समेत पोखरेलले जानकारी गराएका छन् । अहिले नेपाल, भारत र चीनसँग सीमा जोडिएका सबै क्षेत्रमा सुरक्षाकर्मी थप्ने काम भइरहेको जानकारी दिँदै उनले भने– ‘दार्चुलाको तिङ्करमा पनि छिट्टै सुरक्षाकर्मीको पोष्ट स्थापना हुनेछ ।’

pict: rss