जेलमुक्त भएलगत्तै प्रतिबन्धित नेकपाका तीन जनाद्वारा पार्टी परित्याग

जेलमुक्त भएलगत्तै प्रतिबन्धित नेकपाका तीन जनाद्वारा पार्टी परित्याग


नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको प्रतिबन्धित नेकपाका कास्की जिल्लास्तरीय तीन नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । विप्लव समूहका जिल्ला सदस्यद्वय लोकेन्द्र राई, बमबहादुर हितान मगर र सक्रिय सदस्य डिलबहादुर सुनारले सो पार्टीको हिंसात्मक गतिविधिप्रति असहमति रहेकाले पार्टीका सम्पूर्ण जिम्मेवारी छाडेको एक विज्ञप्तिमार्फत जनाएका छन् ।

उनीहरुले आइतबार (४ फागुन) जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण राजनीतिक कार्यक्रमले मात्र जनताको हित हुने भएकाले अबदेखि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध भएर जनताको सेवा र हितमा काम गर्नेसमेत घोषणा गरिएको छ । विप्लव समूहमा आबद्ध रहेको अभियोगमा गत पुस २४ गते पोखरा महानगरपालिका–१४ चाउथेस्थित नयाँबस्तीबाट प्रहरीले तीनै जनालाई पक्राउ गरेको थियो ।

अदालतले गत माघ २२ गते सुनारलाई २० हजार र अन्यलाई जनही पाँच हजारका दरले धरौटीमा रिहा गर्न आदेश दिएकामा धरौटी बुझाउन नसकेकाले उनीहरु कारागार चलान भएका बताइएको छ ।

अदालतले तोकेको धरौटी आज बुझाएपश्चात् तीनै जनालाई गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका नेकपाका गण्डकी प्रदेश कमिटी सदस्य रामजीप्रसाद बराल र अखिल नेपाल ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य मङ्गल लिम्बूको रोहवरमा कारागारले मुक्त गरेको थियो भने कारागारबाट छुटेलगत्तै विज्ञप्तिमार्फत तीनैजनाले सो पार्टी परित्यागको घोषणा गरेका हुन् ।

pict: rss