दिल्लीको मुख्यमन्त्रीमा केजरिवालको ह्याट्रिक

दिल्लीको मुख्यमन्त्रीमा केजरिवालको ह्याट्रिक


आम आदमी पार्टीका संयोजक अरविन्द केजरिवाल भारतको राजधानीसमेत रहेको राज्य दिल्लीको तेस्रोपटक मुख्यमन्त्री बनेका छन् । केजरिवालले आइतबार दिल्लीको रामलीला मैदानमा भएको विशेष समारोहमा मुख्यमन्त्रीको शपथ लिएका हुन् ।

उनले उपराज्यपाल अनिल बैजलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

आम आदमी पार्टीले शपथग्रहण समारोहका लागि प्रधानन्त्री नरेन्द्र मोदीलाई पनि निम्तो दिएको थियो । तर, प्रधानमन्त्री मोदी कार्यक्रममा उपस्थित भएनन् । प्रधानमन्त्री मोदी आफ्नो संसदीय क्षेत्र वारायणी पुगेका छन् । समारोहमा दिल्लीका सात सांसद, सबै निगम पार्सद, भारतीय जनता पार्टी र कंग्रेसका प्रदेश अध्यक्षलाई पनि निमन्त्रणा दिइएको थियो ।

समारोहमा मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन र राजेन्द्र गौतमले मन्त्रीको शपथ लिएका छन् । आफ्नो पछिल्लो सरकारको मन्त्रिपरिषद सदस्यलाई यथावत् राखेका केजरिवालले मन्त्रिपरिषदमा कुनै पनि महिला सहभागी गराएका छैनन् जुन विषयलाई लिएर केजरीवालमाथि प्रश्न उठाइएको छ ।

दिल्ली विधान सभा चुनावबाट आम आदमी पार्टी (आप) लगातार तेस्रोपटक दिल्लीको सत्ता लिन सफल भएको हो । यसअघि केजरिवालले २०१३ को डिसेम्बर र २०१५ को फेब्रुअरीमा दिल्लीको मुख्यमन्त्रीको शपथ लिएका थिए ।