कोरोना भाइरसविरुद्ध एकजुट बनौँ : डब्लूएचओ

कोरोना भाइरसविरुद्ध एकजुट बनौँ : डब्लूएचओ


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरि फैलिएको र हजारौँको मृत्यु भएको कोरोना भाइरसविरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ । संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले शनिबार आयोजित ५६औँ म्युनिख सुरक्षा सम्मेलनमा बोल्ने क्रममा सो आह्वान गरेका हुन् ।

‘हामी सबै एउटै तरिकाले लाग्नुपर्छ, न कि एक्लाएक्लै,’ उनले भने । उनले सबै देशले एक–अर्कालाई घृणा गर्ने र आलोचना गर्ने कार्य तत्काल बन्द गर्नुपर्नेमा पनि जोड दिए । रोगको महामारीविरुद्ध लड्न सबैलाई तयारी अवस्थामा रहन पनि संगठनका प्रमुख टड्रोसले आग्रह गरे । उनले त्यसका लागि लगानी गर्नुपर्ने उल्लेख गरे ।

विश्वमा आतंकवाद नियन्त्रणका लागि करोडौँ डलर लगानी भइरहेको स्मरण गराउँदै उनले यस्ता रोग नियन्त्रणका लागि भने पर्याप्त लगानी र चासो नदिइएको टिप्पणी गरे । महामारी रोगहरूलाई नियन्त्रण गर्नका लागि आर्थिक, राजनीतिक र सांस्कृतिक रूपमा सबै जना एकजुट हुनुपर्ने खाँचो रहेको उनको भनाइ छ ।
रासस–सिन्ह्वा