मुटुको समस्याले नेपाली महिलाको जापानमा निधन

मुटुको समस्याले नेपाली महिलाको जापानमा निधन


टोकियो । मुटुको शल्यक्रिया सफल हुन नसकेपछि टोकियोमा एक नेपाली महिलाको निधन भएको छ । बाग्लुङ बुर्तीवाङ घर भर्इ जापानमा बस्दै आउनुभएकी लालकुमारी कुँवरको उपचारका क्रममा निधन भएको हो ।

रोजगारीको शिलशिलामा टोकियोमा परिवारसँगै बस्दै आएकी ४२ वर्षीया कुवरको गत बिहीबार असामयिक निधन भएको हो । टोक्योको चोफुस्थित साकाइबारा इन्टिच्युट अस्पतालमा उनको निधन भएको नरबहादुर थापाले जानकारी दिए । पारिवारिक श्रोतका अनुसार २० वर्षअघि उनको मुटुको भल्ब फेरिएको थियो । मुटुको समस्या पुनः बल्झिएपछि अस्पतालमा भर्ना गरिएको र शल्यक्रिया सफल हुन नसकेपछि निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

दिवंगत कुँवरको अन्तिम श्रदाञ्जलीसहित अन्त्यष्टि सोमबार दिउँसो मेगुरोनजिकैको फुदो मायमा गरिने बुझिएको छ ।