जापानमा एकैदिन भेटिए कोरोना भाइरसका पचहत्तर नयाँ बिरामी

जापानमा एकैदिन भेटिए कोरोना भाइरसका पचहत्तर नयाँ बिरामी


    • विशेष प्रतिनिधि, जापान

जापानमा शनिवार एकैदिन ७५ जना कोरोना भाइरसका नयाँ बिरामी भेटिएका छन् । राजधानी टोकियोको विभिन्न स्थानमा अस्वस्थ भई उपचारको लागि पुगेका ८ जनामा कोरोना (कोभिड १९) भाइरसको संक्रमण पाइएको छ । यसैगरी योकोहामा पोर्टमा रहेको पानीजहाजमा थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार योकोहामा पोर्टमा रोकिराखिएको डाइमण्ड प्रिन्स क्रुजमा ६७ नयाँ संक्रमितसहित २ सय ८५ जनामा कोरोना संक्रमण पाइएको छ ।

पानी जहाजमा भेटिएका २ सय ८५ र जापानको विभिन्न स्थानमा भेटिएका समेत गरी जापानभर कोरोना भाइरसबाट संक्रमितको संख्या ३ सय २६ पुगेको छ ।

राजधानी टोकियोसहित खानागावा, वाकायामा, ओकिनावा र आईचि प्रिफेक्चरमा कोरोना भाइरसको संक्रमित भेटिएका छन् । हालसम्म जापानभित्र एकजनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ भने चीनमा समेत एकजना जापानीले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

जापानमा उपचाररत कोरोना भाइरस संक्रमितमध्ये कम्तिमा १६ जनाको स्वास्थ्य अवस्था गम्भीर बनेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उपचाररत उनीहरुको स्वास्थ्यमा सुधार आउन नसकेको बताउँदै जापानी अधिकारीहरुले चिन्ताजनक अवस्थामा पुगेको बताएका छन् ।