दिक्तेलमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

दिक्तेलमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा


ग्लोबल आइएमई बैंकको खोटाङ शाखा शुक्रबार (३ फागुन) देखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राई र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त शाखाको उदघाटन संयुक्त रुपमा गरेका छन् ।

उदघाटन कार्यक्रममा बोल्दै मेयर रिजालले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी लगायत देशका अन्य ठाउँमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए । ग्लोबल आइएमई बैंकले सम्पूर्ण देशवासीको मन जित्न सफल भएको बताउँदै उनले थप प्रतिष्पर्धी बन्दै ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी पौडेलले गाउँमा छरिएर रहेको पुँजीलाई संकलन गरी राष्ट्र निर्माणमा लगाउन आग्रह गरे । उनले ग्लोबल आइएमई बैंकको उपस्थितिले खोटाङकोे आर्थिक समृद्धिमा थप सहयोग पुग्ने बताए ।

खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राईले जिल्लामा छरिएर रहेको पुँजीलाई संकलन गरी जिल्लामै साना तथा मझौला उद्यमको विकास तथा जिल्लाको कृषि क्षेत्रमा लगानी गर्न बैंकलाई सुझाव दिए ।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले बैंकको नयाँ शाखाबाट अन्तर्राष्ट्रियस्तरको बैंकिङ सेवा उपलब्ध हुने प्रतिबद्धता प्रकट गरे ।

सो क्षेत्रमा जम्मा भएको निक्षेप रकम सोही क्षेत्रमा नै परिचालन र शाखाले आर्जन गरेको नाफाको एक प्रतिशत रकम त्यही क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरुमा खर्च गरिने अध्यक्ष ढकालले जानकारी दिए ।

कार्यक्रममा बैंकका वरिष्ठ नायव कार्यकारी अधिकृत महेश शर्मा ढकालले १३ वर्षअघि स्थापना भएको ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुऱ्याउने उद्देश्यले २७० शाखा, २५६ एटिएम, ३७ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २४९ शाखा रहित बैंकिङ सेवा र विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको जानकारी गराए ।

बैंकले अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको र मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याई मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुऱ्याउँदै आइरहेको उनले बताए ।

कार्यक्रमा खोटाङ जिल्लाका विभिन्न सहकारी कार्यालयका प्रमुखहरु, स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय नेता तथा जिल्ला/नगर उद्योग वाणिज्य संघका पदाधिकारिहरु, स्थानीय व्यवसायी तथा स्थानीयवासीको उपस्थति रहेको थियो ।