देखाओटी माया होइन, व्यवहारबाटै जित्नुपर्छ मन !

देखाओटी माया होइन, व्यवहारबाटै जित्नुपर्छ मन !


■ निशा तामाङ

त्यो पहिलो प्रेम, स्कूलमा लुकाएर दिएको प्रेमपत्र, घण्टौँ घोरिएर शब्द रोजी–रोजी पठाएका एसएमएस, राती–राती लुकेर गरेको च्याट, रिप्लाई कुर्दै अनिँदो बसेका रातहरू, पहिलो भेट, जुधेका आँखाहरू अनि सँगै भएका बेला निस्किएका थुप्रै निःशब्द प्रेमाभाषका पलहरू, मनपरेको केटा या केटी सँगै हुँदा या बोल्दा महसुस हुने काउकुती अनि अनेक भावनाको रमणीय संसारतर्फ लाने त्यो संसार ! मायाका कथाहरू याद गर्दै मायाका नयाँ आयामहरूको शुरुवात गर्ने विशेष दिन हो, भ्यालेन्टाइन डे, अर्थात् प्रणय दिवस ।

आज फेब्रुअरी १४, अर्थात भ्यलेन्टाइन डे (प्रणय दिवस) । एकआपसमा प्रेम साटासाट गरेर यो दिवस विश्वभर मनाईंदै छ । आजका दिन खासगरी प्रेमी–प्रेमिका तथा श्रीमान–श्रीमतीले एकअर्कालाई उपहार आदनप्रदान गरी मनाउने गर्छन् ।

मन परेको व्यक्तिलाई आफ्नो अव्यक्त प्रेमका बारेमा जानकारी गराउने दिनको रुपमा समेत भ्यलेन्टाइन डे अर्थात प्रणय दिवसलाई लिइन्छ । ईशापूर्व ३५० अघि इटलीका तत्कालिन क्लाउडियसले प्रेमका पूजारी सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

क्लाउडियसले आफ्ना सैनिकहरूलाई प्रेम एवम् विवाह गर्न प्रतिबन्ध लगाएपछि पादरी भ्यलेन्टाइनले क्लाउडियसको यो कदमविरुद्ध सैनिकहरूको लुकेर विवाह गराइदिएका थिए । आफ्नो आदेश र चाहनाविपरीत सैनिकहरूको विवाह गराइदिएको भन्दै भ्यलेन्टाइनलाई फेब्रुअरी १४ का दिन अर्थात् आजकै दिन मृत्युदण्ड दिइएको थियो । प्रेम र मानवताका अनुयायी भ्यलेन्टाइनले मृत्युवरण गरेको सम्झनामा हरेक फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसको रुपमा मनाउने गरिन्छ ।

खासगरी पश्चिमा देशहरूमा धुमधामसँग मनाइने ‘भ्यालेन्टाइन डे’लाई नेपालमा पनि पछिल्ला वर्ष युवापुस्ताले ठूलै महत्व दिन थालेका छन् । खासगरी किशोर–किशोरीहरूले आ–आफ्ना प्रेमी–प्रेमीकासँग माया साटासाट गरिरहेका हुन्छन् । विभिन्न पार्क तथा सार्वजनिक स्थानमा प्रेमिल जोडीको संख्या बाक्लै देख्न सकिन्छ ।

पश्चिमी सभ्यतामा आयातित ‘डे’का रुपमा आजको भ्यालेन्टाइन डेको आलोचना पनि हुँदै आएको छ । त्यसैले चाडपर्वको मौलिकतालाई ध्यानमा राख्दै यसलाई सहि तरिकाले मनाउनु पर्छ । अभद्र प्रदर्शन र अश्लीलताबाट बचाउनुपर्छ । देखाओटी माया प्रर्दशन गरेर होइन कि साथीको मन, व्यवहारबाटै जित्नुपर्छ ।