एउटै विद्यालयमा ४४ अक्षयकोष स्थापना !

पाल्पाको रामपुर नगरपालिका–४ स्थित कालिका आधारभूत विद्यालयमा ४४ अक्षयकोष स्थापना भएका छन् । विद्यालयको समग्र शैक्षिक उन्नयनका लागि ४४ शिक्षाप्रेमी तथा शुभेच्छुकले करिब आठ लाख रुपैयाँबराबरको अक्षयकोष स्थापना गरिदिएका हुन् । रामपुर नगरपालिकाभित्र एकैपटक धेरै संख्यामा अक्षयकोष स्थापना गर्ने सो विद्यालय पहिलो बनेको छ ।



विद्यालयको समग्र शैक्षिक गुणस्तर माथि उठाउन र विद्यालयलाई राम्रोसँग सञ्चालन गर्न अक्षयकोष स्थापना गरी सहयोग गरेको अक्षयकोष दाता तथा रामपुर नगरपालिका–४ का अध्यक्ष एकबहादुर नेपालीले जानकारी दिए । उनले स्वर्गीय मातापिता तथा सासूससुरा एवं सानीआमाको सम्झनामा ‘दल्लीमाया गंगाबहादुर चित्रा तेजबहादुर सुमित्रा लालुमाया सार्की’ स्मृति अक्षयकोष स्थापना गरी रु. ५० हजार ५०१ एक रकम सहयोग गरेका छन् ।

विद्यार्थीको सिंगो जीवनसँग आर्थिक जोडिने भएको हुँदा विद्यालयमा स्थापना भएको अक्षयकोषले शैक्षिक गुणस्तर उपलब्धिमा सहयोग पुग्ने प्रधानाध्यापक सोमबहादुर सेनले बताए । ‘आर्थिक समस्याकै कारण कतिपय विद्यार्थीलाई कापी, कलम, पोसाक जुटाउन पनि समस्या छ, उनीहरूका लागि विद्यालयको प्रशस्त आयस्रोत नहुँदा विभिन्न व्यक्तिसँग समन्वय गरेर सानो–सानो सहयोग भइरहेको थियो, अब विद्यालयमा नै यति धेरै अक्षयकोष स्थापना भएपछि शिक्षणमा ठूलो राहत मिलेको छ,’ उनले भने ।

विद्यालयमा शिक्षाप्रेमी, शुभेच्छुकबाट स्थापना गरिएको अक्षयकोष रकम गरिब, विपन्न, जेहेनदार विद्यार्थीको पठनपाठनमा खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराम ठाडाले जानकारी दिए । अक्षयकोषको ब्याज रकमबाट गरिब, जेहेनदार तथा विपन्न विद्यार्थीको शिक्षामा विद्यालयले लगानी गर्ने भएपछि विद्यार्थी तथा अभिभावक पनि खुसी भएका छन् । विद्यालय व्यवस्थापन समिति, शिक्षक कर्मचारी, शिक्षक अभिभावक संघले अक्षयकोष अभियान गाउँगाउँमा चलाएपछि स्वतस्फूर्त रूपमा खुसी भएर शिक्षाप्रेमी, अभिभावक, शुभेच्छुकले अक्षयकोष स्थापना गरी विद्यालयलाई सहयोग गरेको शिक्षक रामबहादुर रानाले बताउँछन् ।

भौतिक पूर्वाधारमा झट्ट विकास नहुँदा विद्यालय सहयोगमा कसैको चासो थिएन । पछिल्लो समय यहाँका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, गाउँवासी जुटेर विभिन्न संघसंस्था, जापानी संस्थासँग समन्वय र सहकार्य गरी अहिले पूर्वाधारमा अगाडि बढेको छ । सो विद्यालय रामपुर नगरपालिकाको केन्द्रनजिकै भए पनि बत्तीमुनिको अँध्यारोजस्तै थियो । पछिल्लो समय विद्यालयले भौतिक तथा शैक्षिक क्षेत्रमा फड्को मार्दै गएको छ । राससले जनाएअनुसार विद्यालयमा रु. पाँच हजारदेखि ५० हजारसम्मका अक्षयकोष स्थापना भएका छन् ।

प्रतिक्रिया