दाहालले खोले कोइरालाको पोल, कांग्रेसले जनायो आपत्ति

दाहालले खोले कोइरालाको पोल, कांग्रेसले जनायो आपत्ति


सत्तारुढ दलका एक अध्यक्ष एवम् पूर्व माओवादी सुप्रिमो पुष्पकमल दाहालले जनयुद्धकालमा भएको १२बुँदे समझदारीपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग आफ्नो प्रायः फोनमा कुराकानी भइरहने गरेको र कोइरालाले अझ ठुल्ठूला आक्रमण गर्न आफूलाई उत्प्रेरित गर्ने गरेका खुलासा गरेका छन् ।

२५औँ जनयुद्ध दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गिरिजाप्रसादसँगका सम्झनाको पोको फुकाउँदै भने, ‘अझै ठूला आक्रमण गरिदिनुपर्‍यो, ठूल्ठूला फौजी आक्रमण गर्नुपर्‍यो, सदरमुकाम नै हान्नु पर्‍यो भनेर गिरिजाप्रसाद कोइरालाले मलाई भन्नुहुन्थ्यो, यही विचित्रको परिस्थितिको बलमा राजतन्त्र ढालेर गणतन्त्र संस्थागत गर्न सफल भएका हौँ ।’

सो क्रममा उनले कम्युनिस्टलाई विरोधीहरुले कहिल्यै पनि पछार्न नसकेको उल्लेख गर्दै कम्युनिस्ट पार्टीका लागि सत्ता काल हुने गरेको धारणा राखे । सत्ताका कारण मात्रै कम्युनिस्टहरु विग्रिने गरेको दृष्टान्त दिँदै प्रचण्डले भने, ‘हामीलाई विरोधीहरुले कहिल्यै पनि पछार्न सकेनन् । आन्दोलन र क्रान्तिमा कम्युनिस्टहरु विजयी भएर आए, तर सत्तामा पुगेपछि उनीहरुमा जुन किसिमको वैचारिक स्खलनको प्रक्रिया, सांस्कृतिक स्खलनको प्रक्रिया, त्यागको ठाउँमा स्वार्थ हाबी हुँदै जाने प्रक्रिया बढ्यो, त्यही नै काल भयो ।’

हतियारसहितको सशस्त्र संघर्षबाट राजतन्त्र समाप्त गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै दाहालले अबको आन्दोलन शान्तिपूर्ण र सबै तहका जनताको सहभागितामा हुने दाबी गरे । माओवादी आन्दोलन नै समाप्त हुने खतरा देखेपछि शान्ति प्रक्रियामा आएको उनको भनाई थियो ।

यसै क्रममा पुष्पकमल दाहालले २५औँ जनयुद्ध दिवसका क्रममा नेपाली कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाका सम्बन्धमा दिएको अभिव्यक्तिप्रति असहमति जनाएको छ । सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार (१ फागुन) साँझ विज्ञप्ति जारी गरी तत्कालीन माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहलाई शान्तिपूर्ण अवतरण गराउन निर्णायक भूमिका निर्वाह गरेका नेता कोइराला दिवंगत भएको यतिका वर्षपछि उनका बारे नेता दाहालबाट व्यक्त विचारप्रति असन्तोष व्यक्त गरेका हुन् ।