एमसीसीमाथि ‘राजनीति’ नगर्न गौतमको चेतावनी

एमसीसीमाथि ‘राजनीति’ नगर्न गौतमको चेतावनी


मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत् अमेरिकी सरकारले प्रदान गर्न लागेको ५५ अर्बको सहयोग यतिबेला विवादको विषय बनिरहेको छ । खासगरी ‘उग्र’ कम्युनिष्ट धारका व्यक्तिहरूले ‘एमसीसी’ स्वीकार गर्न नहुने, यसले नेपालको हित नगर्ने भन्दै सिङ्गो नेपाली नागरिक समाजलाई तरङ्गित पार्न खोजेको देखिन्छ । एमसीसीको पक्ष र विपक्षमा सिङ्गै देश तरङ्गित हुँदै गर्दा नेपाल रिपब्लिक पार्टीले आफ्नो बेग्लै धारणा सार्वजनिक गरेको छ ।

‘एमसीसी’मार्फत अमेरिकी सरकारले नेपाललाई दिन लागेको ५५ अर्ब रुपैयाँको अनुदान सहयोगलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले विवादास्पद बनाउने प्रयास गरेको भन्दै उक्त पार्टीले घोर भत्सर्ना गरेको छ ।

सो पार्टीका राष्ट्रिय प्रेसिडेन्ट सिद्धार्थ गौतमले एक विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘नेपालको ज्यादै पुरानो र शुभचिन्तक प्रजातान्त्रिक मित्रराष्ट्र अमेरिकाले दिन लागेको सहयोग बारे नकारात्मक धारणा फैलाउने र अवान्छिनीय विवाद खडा गरेर नेपालमा अमेरिकाप्रति नै नकारात्मकताको विस्तार गर्ने कुत्सित मनसायले कम्युनिस्ट मुलुक चीनले नेपालको सत्तारुढ कम्युनिस्ट पार्टीलाई यस कुकृत्यका निम्ति उक्साएको कुरा अब रहस्यको विषय रहेन ।’

प्रेसिडेन्ट गौतमले नेपाललाई प्रजातान्त्रिक विश्वबाट अलग्याउँदै अविकसित अवस्थामा राखेर कम्युनिस्ट अधिनायकवादको कब्जामा पार्ने कम्युनिस्ट चीनको षड्यन्त्र अन्तर्गत यो काम भइरहेको प्रजातन्त्रप्रेमी नेपाली जनताले राम्ररी बुझेको दाबी गर्दै नेपाल र नेपालीको दुश्मनले मात्र गर्न सक्ने यो कुकृत्यमा लागेको सत्तारुढ नेकपा र यसका नेताहरुको असली अनुहार अब नेपाली जनतासामु उदाङ्गो भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सो विज्ञप्तिका अनुसार नेपाल रिपब्लिक पार्टी यो षड्यन्त्रबाट तत्काल पछि हट्न ‘कम्युनिस्ट चीन’लाई चेतावनी दिन चाहन्छ । साथै, अवान्छनीय विवाद खडा गर्ने रवैया तत्काल बन्द गरेर एमसीसीलाई चालु संसदबाट तत्काल अनुमोदन गराउन सत्तारुढ कम्युनिस्ट पार्टीलाई पनि सो पार्टीले चेतावनी दिएको छ ।

कम्युनिस्टहरु जहाँ सरकारमा पुगे त्यो देश र कम्युनिस्ट मुलुकको संगत जसले गऱ्यो त्यो मुलुक बरवाद भएको उदाहरण संसारभरि नै रहेको प्रेसिडेन्ट गौतमले दाबी गरेका छन् । उनले विज्ञप्तिमार्फत् नेपाल त्यो अवस्थामा नपुगोस् भनेर प्रजातान्त्रिक विश्व सतर्क रहेको र नेपाल रिपब्लिक पार्टी यसका निम्ति जुनसुकै भूमिका निर्वाह गर्न तयार रहेका चीन र नेपालका कम्युनिस्टहरूले बुझिराख्नु उचित हुने चेतावनी दिएका छन् ।