अख्तियारको कदमविरुद्ध धरानमा मसाल जुलुस

अख्तियारको कदमविरुद्ध धरानमा मसाल जुलुस


■ मनिता चाम्लिङ, धरान
नेकपा सरकारको इसारामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पार्टी उपसभापति विजय कुमार गच्छदारलाई भ्रष्टाचारको मुद्धा चलाएको भन्दै धरानमा नेपाली कांग्रेससम्बद्ध नेविसंघ र तरुण दलले मसाल जुलुस निकालेको छ ।

नेकपाका नेता माधवकुमार नेपाल प्रधानमन्त्री रहेका बेला प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय गर्दा बालुवाटारको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको घटनामा दोषी रहेको भन्दै अख्तियारले गच्छदारविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि नेपाली कांग्रेसका भातृसंगठनहरू आन्दोलनमा उत्रिएका हुन् ।

बुधबार (९ माघ) साँझ धरान १ छाताचौकबाट निकालिएको जुलुसले महेन्द्रपथ हुँदै भानुचौक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाल तरुण दलका धरान उपमहानगर समितिका अध्यक्ष हिमाल श्रेष्ठले अख्तियारले एकलौटी ढंगले नेपाली कांग्रेस नेतामाथि लगाएको आरोप झुठो भएको बताउँदै अख्तियारले मुख्य भ्रष्टाचारी पक्राउ गर्न सक्दैन भने नेवि संघले खोजी–खोजी कारवाहीको दायरामा ल्याउने उदघोष गरे । उनले नेकपा सरकारले भ्रष्टचारीलाई ढाकछोप गरी साक्षी बस्नेलाई मुद्धा चलाएको बताउँदै मुख्य भ्रष्टाचारीलाई जोगाउने काम गरेकोमा यस्ता प्रवृत्तिले कर्मचारीहरुलाई घुस खान प्रेरित गरेको बताए ।

यस्तै, नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस धरानका कावा सभापति दोर्ची शेर्पाले अख्तियारको एकलौटी निर्णयले जनताहरुमाथि दमन भएको बताउँदै त्यसको घोर भत्सर्ना गर्न आफूहरुले आन्दोलन गर्नुपरेको बताए । सोहीक्रममा उनले नेकांमाथि लगाएको आरोप झुठो भएकोले भ्रष्टाचारीका मुख्य नाइकेलाई जनता सामु ल्याईनुपर्ने माग गरे ।

सो मसाल जुलुसमा काङ्ग्रेसनिकट महिला संघ, दलित संघ र मजदुर संघका व्यक्तित्वहरुको उपस्थिति रहेका थियो ।