‘गाँजामाथि प्रतिबन्ध होइन, अब प्रवर्द्धन गर्नुपर्छ’

‘गाँजामाथि प्रतिबन्ध होइन, अब प्रवर्द्धन गर्नुपर्छ’


पछिल्लो समय एउटा नयाँ बहस शुरु भएको छ । प्रतिनिधिसभाका सदस्य विरोध खतिवडाले गाँजाको वैधतालाई लिएर संसदमा मुद्दा उठाएपछि करिब पचासजना सांसदले गाँजालाई अवैध तुल्याएर राख्न नहुने भन्दै प्रतिनिधिसभाको ध्यानाकर्षण गराए । यसपछि गाँजाको वैधताबारे नयाँ बहस शुरु भएको हो । गाँजा वैध हुनुपर्ने हो कि होइन ? गाँजा वैध हुँदा र नहुँदा के फरक पर्छ ? यस विषयमा चासो, चिन्तन र चर्चा आवश्यक भइसकेको छ । यसै क्रममा गाँजामा हुने औषधीय गुणबारेका चर्चा साथै गाँजालाई वैध गरिँदा आयुर्वेदिक औषधि उत्पादनमा पर्ने सकारात्मक प्रभाव र अवैध तुल्याएर राखिँदा पुग्ने हानिबारे द्रव्यगुण विधामा भारतको सिम्ला विश्वविद्यालयबाट एमडी गर्नुभएका डा. हरिदेवप्रसाद यादवसँग कुराकानी गरिएको छ । सिंहदरबार वैद्यखानाका प्रमुखको रूपमा समेत भूमिका निर्वाह गरिसक्नुभएका र हाल त्यहाँ उत्पादन प्रमुखको रूपमा सेवारत डा. यादवसँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

० एक आयुर्वेदिक चिकित्सकको रूपमा हेर्दा तपाईं गाँजालाई कसरी हेर्नुहुन्छ ?
– गाँजालाई आयुर्वेदीय हिसाबले एक महाऔषधिका रूपमा हेर्न सकिन्छ । आयुर्वेदीय शास्त्र चरणसंहिताको प्रथम अध्यायमा यसबारे प्रशस्त उल्लेख गरिएको छ । गाँजा र भाङ दुवै एकै जातिका हुन् । हाम्रो तराई र पहाडमा आफैँ उम्रिएका फूल र फलसहितका बिरुवालाई भाङ भनिन्छ भने त्यसैको ‘फिमेल’ रूप जसमा फूलका गुच्छा हुन्छन् तर बिउ हुँदैनन्, त्यसलाई माडेर, थिचेर या चेपेर सेवनको लागि तयार गरिन्छ– त्यो गाँजा हो । अर्थात्, भाले बिरुवालाई भाङ र पोथीलाई गाँजाको रूपमा बुझ्न सकिन्छ । गाँजाको फूलको गुच्छाबाट जुन ऱ्याल (चोप) निकालेर अर्को बस्तु तयार गरिन्छ, त्योचाहिँ चरेस हो । सेवनका दृष्टिमा यी तीन अलग हुन्, अर्थात् तीनवटैका डोज (मात्रा) अलग हुन्छ । मात्रात्मक हिसाबमा भाङको डोज अलिक ज्यादा लिन सकिन्छ भने गाँजा त्योभन्दा केही कम लिनुपर्ने हुन्छ । यी दुवैभन्दा अत्यन्त कम मात्रामा मात्र चरेस लिन सकिन्छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार भाङ सय, सवा सयदेखि अढाइ सय मिलिग्रामसम्म लिन सकिन्छ भने गाँजा साठीदेखि सवा सय मिलिग्राम । यसअनुसार चरेसको मात्रा केवल तीस मिलिग्राम मात्र हो । आयुर्वेदअनुसार गाँजा र चरेस सेवन गर्नुअघि यसलाई शुद्धीकरण गर्नुपर्छ । प्युरिफाई नगरी प्रयोग गर्न बर्जित गरिएको छ । भाङ प्रयोग गर्नुअघि त्यसको पातलाई तातो पानीले पखाल्नुपर्छ । त्यसपछि घ्यूमा भुटेर त्यसलाई सेवन गर्न सकिन्छ ।

० गाँजामा हुने तत्वगुण के–के हुन् ? राम्रो र नराम्रो दुवै पक्षबारे बताइदिनुस् न !
– मूलतः गाँजालाई मादक पदार्थकै रूपमा लिइन्छ । मादकको अर्थ नसा दिने या नषालु कुरा हो । तर, हामी चिकित्सकीय दृष्टिबाट यसलाई तिक्तरसको रूपमा बुझ्दछौँ । तिक्तरसले रगत सफा गर्नेदेखि लिएर पाचनशक्ति बढाउन अत्यन्त सकारात्मक भूमिका खेल्दछ । दर्दनिवारणको काम पनि यसको महत्वपूर्ण विशेषता हो । यसर्थ, कुनै पनि औषधि निर्माणमा गाँजा एक अत्यन्त महत्वपूर्ण वनस्पति हो भन्न सकिन्छ । तर, शुद्धीकरण नगरी जथाभावी मात्रामा (डोज नमिलाईकन) यसको प्रयोग गर्नुचाहिँ हानिकारक हुन आउँछ । अर्थात् औषधीय गुण भए पनि जथाभावी सेवन गरे यसले विषाक्त रूप लिन पनि सक्छ । धेरै नै (ओभरडोज) मात्रामा सेवन गरेमा यसले दश–पन्ध्र दिनसम्म पनि सुताइदिन सक्छ । सेवनकर्तालाई होस हुँदैन, ऊ निद्राकै हालतमा रहन्छ । तर, शास्त्रसम्मत् रूपमा मात्रा मिलाएर या विज्ञको सुझावका आधारमा सेवन गर्ने हो भने यसबाट कुनै हानि हुँदैन । आजकाल अनेक ठूला रोगको उपचारमा पनि गाँजाको प्रयोग हुन थालेको छ । क्यान्सर रोगमा बिरामीको पीडा भुलाउन यसको प्रयोग निकै उपयोगी मानिएको छ । गाँजाले क्यान्सर नै ठीक पार्ने भन्न खोजेको त होइन, तर त्यसको उपचारमा यो धेरै सहयोगी साबित भएको छ ।

० यसको मतलब गाँजाको बेफाइदा भनेकोचाहिँ ‘ओभरडोज’ लिएर बेहोसी अवस्थामा पुग्नु मात्र हो ?
– बिल्कुल ! भारी मात्रामा जथाभावी सेवन गर्दा मात्र यसबाट हानि पुग्छ, मात्रा मिलाएर अवस्था हेरी सेवन गरे यसबाट कुनै पनि प्रकारको हानि छैन ।

० गाँजामा प्रतिबन्ध लगाइएपछि सिंहदरबार वैद्यखानाले आफूले उत्पादन गर्ने औषधिमा गाँजा प्रयोग गरेको छ कि छैन होला ?
– सायद कानुनी तवरले प्रतिबन्ध गरिएकैले होला, गाँजा मिसावट नगरी नहुने प्रकृतिका औषधि हामीकहाँ बन्न छोडेका छन् । खासगरी २०३५ देखि ०४५ सालबीचको त्यहाँको रेकर्ड हेर्दा पाँच प्रकारका औषधि त्यहाँ बन्दथे, जो अहिले बनिरहेको छैन । ती औषधिहरूमा भोगसुन्दरी रस (सेक्सुअल डिसअर्डरमा सेवन गर्ने औषधि), दुग्धबट्टी (भोग जगाउने काम गर्छ), महासोराङ रस (क्रोनिक फिवरमा काम गर्छ), लक्ष्मीविलास रसलगायत छन् । यीमध्ये भाङको बिज प्रयोग गरेर बनाइने औषधि लक्ष्मीविलास रस मात्र सीमित मात्रामा बनेको छ । भाङको बिज त मानिसले अचारको रूपमा पनि पर्याप्त प्रयोग गर्छन् । यो स्वादिष्ट मात्र नभई हाम्रो स्वास्थ्यमा पनि राम्रो भूमिका निर्वाह गर्छ । खासगरी पाचनक्रियामा यसले राम्रो काम गर्छ । जहाँसम्म औषधिको लागि नेपालमा गाँजा उपलब्धताको सवाल छ, यहाँ कठिनाइ नै परिरहेको छ । मैले त आयुर्वेदमा द्रव्यगुणसम्बन्धी शिक्षा भारतमा लिएको हुनाले त्यहाँको बारेमा राम्रो ज्ञान छ । भारतमा औषधिको लागि गाँजाको उपलब्धता सहज छ । त्यहाँ धेरै फ्याक्ट्रीमा गाँजाबाट औषधि उत्पादन भइरहेका छन् । यस्तै, क्यानडामा त यसको खेती कानुनी रूपमै वैध तुल्याएर भइरहेको छ । हाल चर्चामा रहेका तीन–चार प्रकारका बिमारी, जस्तो कि ब्लडप्रेसर, ब्लडसुगर, डिप्रेसनसम्बन्धी बिमारीलगायतमा गाँजा अत्यन्त उपयोगी हुन आउँछ ।

० गाँजाले त झन् डिप्रेसनमा लैजान्छ भनिन्छ, यथार्थ के हो त ?
– ओभरडोज लियो भने डिप्रेसनभावमा पुऱ्याउने हो, डिप्रेसनमै लैजाने भन्ने होइन । तर, मात्रा मिलाउँदा या कम डोजले त फाइदा नै गर्छ । शरीरको दुखाइ, माइग्रेसन, डिप्रेसनजस्तो अवस्थामा गाँजाले लाभ पुऱ्याउँछ । पछिल्लो समय गाँजाको तेललाई डाइबेटिज (सुगर) नियन्त्रणको उपायको रूपमा प्रयोगमा ल्याइएको कुरा आएको छ । गाँजामा हुने तिक्तरसले सुगरमा फाइदा पुऱ्याउँछ ।

० गाँजामा हुने औषधीय गुणको कुरा गर्दा जसरी एलोपेथिक मेडिसिनमा अल्कोहलको प्रयोग गरिएको हुन्छ, त्यसरी नै आयुर्वेदिक औषधिहरूमा गाँजा मिसाइएको हुन्छ भनी बुझ्न सकिएला ?
– यसलाई म यसरी भन्न सक्छु कि गाँजा, भाङ, धतुरो र अफिम कैयन आयुर्वेदिक औषधिमा प्रयोग गरिन्छन्, एलोपेथिक औषधिमा समेत यी चिजहरू प्रयोग गरिन्छन्, तर प्रयोगको प्रविधिचाहिँ फरक हुन्छ । आयुर्वेदिकमा परम्परागत ढङ्गले गरिन्छ भने एलोपेथिकमा उन्नत प्रविधि प्रयोगमा ल्याइन्छ । यहाँनेर यो पनि बुझौँ कि विश्वमा सबैभन्दा पुरानो संहितामा पर्छ आयुर्वेदिक संहिता । तथापि, आयुर्वेदमा पछिल्लो समय थप खोजमूलक काम हुन सकेन भने एलोपेथिकमा रिसर्च र नयाँ–नयाँ प्रयोग निकै भए र हुँदै छन् । उदाहरणका लागि आयुर्वेदले मानव शरीरमा आठ अञ्जुली रगत हुन्छ भनेर भन्यो, त्यसैमा हामी अड्किएर बस्यौँ, तर आधुनिक औषधि विज्ञानले मान्छेको प्रतिकेजी तौलमा सत्तरी एमएल रगत हुन्छ, मोटामोटी एक व्यक्तिमा साढे चारदेखि साढे पाँच लिटर रगत हुन्छ भन्ने मानक तयार गऱ्यो । यतिमा मात्र नरोकिई रगतमा के–के तत्व पाइन्छ, कुन–कुन तत्वबाट रगत बन्छ, कसरी यसलाई स्वस्थ राख्न सकिन्छ आदिजस्ता कुरामा व्यापक रिसर्च गरिए । मैले भन्न खोजेको के भने, आयुर्वेदले गाँजाको औषधीय गुण पत्ता लगाएर प्रयोगमा ल्यायो तर आधुनिक औषधि विज्ञानले यसलाई कसरी प्रशोधन गर्ने, कसरी प्रयोग गर्ने भन्नेमा आधुनिक विधि अपनायो ।

० यतिबेला सांसदहरूले संसद्मा गाँजा वैध हुनुपर्छ भनी उठाएको आवाजले त तपाईंलाई खुसी नै तुल्याएको होला नि, होइन ?
– यसै विषयमा एमडी गरेको हिसाबले म त खुसी हुने भइहालेँ, तर म मात्र नभई गाँजाको औषधीय महत्व बुझेका हरेक व्यक्ति खुसी भएका होलान् । भारतमा मोदी सरकारले अलग्गै आयुष मन्त्रालय नै खडा गरेको छ । नेपालमा पनि आयुर्वेदिक विश्वविद्यालय खुलेको भन्ने ताजा खबर सुन्दै छु । यस्ता कुराले खुसी नलाग्ने सवाल नै रहेन ।

० गाँजाबाट नेपालमा हामी कुन–कुन औषधि बनाउन सक्छौँ होला ?
– धेरै किसिमका औषधि बनाउन सकिन्छ, यसका लागि थप रिसर्चको आवश्यकता पनि छ । पहिले त सरकारले बाटो खोलिदिनुपऱ्यो । हातखुट्टा बाँधेर हिँड्न लगायो भने कसरी हिँड्ने ? यस्तै अवस्थामा हामी छौँ । जसरी अहिले वैधता हुनुपर्ने आवाज उठ्न थालेको छ, यदि यो भयो भने सामान्य कृषकदेखि राज्य तहसम्मले निकै लाभ उठाउन सकिनेछ । गाँजासँग जोडिएर आउने काम–कुराका कारण धेरैले रोजगारी पाउनेछन् ।

० गाँजाको मात्रा मिलाउन नजान्नु नै यसको मूल अवगुण भएको कुरा तपाईंले गर्नुभयो, यसको मतलब मात्रा मिलाएर यो जसले पनि सेवन गर्न मिल्ने हो ?
– कुन बिमारी या समस्याका लागि तपाईं प्रयोग गर्दै हुनुहुन्छ, त्यसअनुसार मात्रा मिलाएर जसले पनि सेवन गर्दा हुन्छ । बालबालिकाको निम्ति बनेको औषधिमा त मात्रा मिलाएर गाँजा राखिएको हुन्छ भने उमेर भएकाहरूले डोज मिलाएर अनुशासित ढङ्गले यसको सेवन गर्दा केही हानि हुने देखिन्न ।

० गाँजा अत्यधिक मात्रामा सेवन गरेर बिरामी पऱ्यो भनेचाहिँ त्यसलाई उपचार गर्ने कुनै विधि गाँजाबाटै पनि हुन्छ कि अरू उपाय अपनाइन्छ ?
– ओभरडोज गाँजाका कारण निम्तिएको समस्या निवारणका लागि गाँजाबाटै उपचार हुने त कुरा आएन, त्यसको निम्ति अरू नै उपचारविधि अपनाउनुपर्ने हुन्छ ।

० अहिले सांसदहरूले आवाज उठाउँदा तपाईंहरू खुसी हुनुभएको छ, तपाईंहरूले आफैँचाहिँ गाँजा वैधताको लागि सरकारी निकायको ढोका किन घचघच्याउनुभएन ?
– त्यसो गरेको भए त हुन्थ्यो नै होला, तर हामी कानुन बनाउन सरकारको ढोका घचघच्याउने कि आफ्नो काम गर्ने भन्नेमै अल्झियौँ सायद । कानुनी रूपले खुलाउनुपर्ने त धेरै कुरा छन् । जस्तो कि पाँचऔंले, रक्तचन्दन, मयुरको पुच्छर, कस्तुरीको बिनाजस्ता द्रव्यबाट धेरै औषधिहरू बनाउन सकिन्छ, तर ती वैध छैनन् । कतै अवैध धन्दा गर्नेहरूबाट जफत गरिएका यस्ता सामग्री सम्बन्धित निकायबाट प्रक्रिया पुऱ्याई सिंहदरबार वैद्यखानाले हासिल गर्दथ्यो र औषधि बनाइन्थ्यो । अहिले त त्यो पनि असहज भएको अवस्था छ ।

० कसरी असहज भयो त ?
– खै कसरी भयो भन्ने ? कानुन नै त्यस्तै बनाइएछ । यसरी जफत गरिएका कुराहरू जलाइन्छ या अन्य प्रकारले नष्ट गरिन्छ । त्यसो गर्नुभन्दा औषधि निर्माण गरेर जनताको सेवामा प्रयोग गर्न दिए राम्रो हुन्थ्यो भन्ने मेरो धारणा छ । सरकारले यस कोणबाट सोचिदिए हुन्थ्यो ।

० वैद्यखानाले अहिले कति प्रकारका औषधि बनाउँछ ?
– उहिले–उहिले दुई सय प्रकारका बनाइन्थ्यो भन्ने सुनिए पनि मैले थाहा पाएसम्म एक सय साठी प्रकारका औषधि बन्दै आएको हो । पछि कतिपय यस्तैउस्तै कारणले औषधि उत्पादनमा कमी आएको भए पनि पुनः पहिलेकै गतिमा अघि बढ्ने आशा छ ।

० समष्टिमा भन्नुपर्दा नेपालमा गाँजा वैध भएमा यहाँको आयुर्वेदिक क्षेत्र लाभान्वित हुन्छ भन्नेमा हामी विश्वस्त हुन सक्छौँ, होइन ?
– यसमा त शङ्का पाल्नै पर्दैन । आज क्यानडाले किन वैध गरायो, अमेरिकाले किन खेती गराइरहेको छ ? उनीहरूसँग बुद्धि नभएर यो गरेको त होइन होला । उन्नत देशहरू गाँजालाई वैधानिकता दिएर अझै उन्नतितर्फ लम्किरहेछन्, हामीचाहिँ यस्तो महत्वपूर्ण द्रव्यबाट लाभ उठाउनुको साटो प्रतिबन्ध लगाइरहेका छौँ । हामीकहाँ गाँजाको खेती पनि सजिलै हुन्छ । औषधीय रूपमा मात्र नभई गाँजाको बोटको रेसाबाट कपडा पनि बनाउन सकिन्छ । तराईतिर कुस्मा (एक प्रकारको खाने परिकार) को रूपमा पनि गाँजाको उपयोग हुन्छ । लाभ उठाउनका लागि राज्यले नीति बनाएर अघि बढ्नुपऱ्यो ।

० गाँजा सेवनले क्यान्सर रोक्छ भन्ने पनि सुनिन्छ, होला ?
– यो रिसर्चको विष हुन सक्छ । तर योचाहिँ म भन्न सक्छु कि जुन एरियामा गाँजा, तुलसीको बोट रहेको हुन्छ त्यहाँको वातावरणमा स्वच्छता रहन्छ । विषाक्त किरा–कीटाणुहरू पनि त्यहाँ आउँदैन । यसले मानव–स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न ठूलो मद्दत गर्छ नै ।

० गाँजाकै कारण कुनै रोगचाहिँ लाग्छ कि लाग्दैन नि ?
– ओभरडोजिङ भएर पुग्ने हानिबाहेक अरू कुनै रोग यसबाट लाग्दैन । ओभर डोज हुँदाचाहिँ लिभरमा असर पुग्न सक्छ । मात्रा ज्यादा भयो भने त जुनसुकै कुराले पनि असर गर्छ नि । त्यसैले, हानि पुग्ने अवस्थाबाट जोगिँदै यसको अथाह औषधीय गुणको लाभ उठाउनेतिर किन नलाग्ने ?