‘नूतन शैली’ सार्वजनिक

‘नूतन शैली’ सार्वजनिक


परदेशी भूमिमा बसेर नेपाली स्वदेशी माटो, स्वदेशी परिवेश, संस्कृतिका लागि आप्mनो उत्कृष्ट लेखन–कलामार्फत प्रवद्र्धन गर्दै आउनुभएकी गीतकार नूतन भुसालको चौथो कृति ‘नूतन शैली’ एक समारोहबीच सार्वजनिक गरिएको छ । बागबजार (काठमाडौं)स्थित हेलो क्याफेमा गीतकार भूसालको जन्मदिनको अवसर पारेर ‘नूतन शैली’ गीति एल्बमको विमोचन गरिएको हो ।

सो समारोहका प्रमुख अतिथि वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बरालले गीति लेखनमा पहिला केटाले केटीलाई सुनाउने गीत लेखिने गरिन्थ्यो भने गीतकार भुसालले चाहिँ केटीले सुनाउने र केटाले सुन्ने खालका गीतको सिर्जना आरम्भ गरेको बताए । भुसालको गीतिलेखनले फरकपन दिएको उल्लेख गर्दै बरालले निरन्तरतामा ध्यान दिनु भन्दै शुभकामना दिए । उनले संगीतकार सुनिल मास्केको संगीत सुनेर आफू प्रभावित भएको र उनसँग भेट्न ढिलो भएको भन्दै प्रशंसा गरे ।

समारोहका अर्का अतिथि संगीतकार राजु सिंहले शुभकामना मन्तव्य दिँदै सुनिल मास्केका संगीतमा मौलिकता र सरलताभित्र गहनता भएको बताए भने गीतकार भुसालको लेखनले आफू लोभिएको खुलासा गरे ।

त्यस्तै, गीतकार डा. राजुबाबु श्रेष्ठले गीति लेखनमा गरेको लगानीले देश र परिवेशभित्र महत्वपूर्ण भूमिका खेलेको बताए । डा. श्रेष्ठले नूतनको लेखनप्रति आफूलाई डाह लागेको उल्लेख गर्दै गीतकार भुसाल सिद्धहस्त गीतकारका रुपमा पाएको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै गीतकार भुसालले प्रवासमा रहँदा आफूले भोगेका र देश छोड्दा छोडिएका भावना र संवेदनाहरूलाई गीतमार्फत उजागर गरेको बताइन् । उनले नूतन शैलीमार्फत् आधुनिक संगीतमा एउटा इँटा थप्ने प्रयास गरेको र यो काम संगीतकार सुनिल मास्केको सहयोगले सम्भव भएको जानकारी दिइन् ।

गीतकार भुसालकी आमा रामकुमारी भुसालको सभापतित्वमा शुभकामना मिडिया सोलुशनले आयोजना गरेको सो समारोहमा भमराको भुनभुन सुन्छु र थाहा छैन के हुन्छ गीतको म्यूजिक भिडियो देखाइएको थियो ।

गीतिसंग्रह ‘नूतन शैली’ गीतकार नूतन भुसालको एकल शब्द एवं संगीतकार सुनिल मास्केको एकल संगीतले सजिएको छ । एल्बममा भमराको भुनभुन, थाहा छैन के हुन्छ, देखेको छैन, कुक्क लाग्यो बाडुल्की, तिम्रो साथ भन्दा प्यारो बोलका पाँच वटा गीत समावेश गरिएका छन्, जसमा प्रविशा अधिकारी, निशा देशार, मीना निरौला, प्रताप दास र पूर्णिमा लामाको स्वर रहेको छ । गीतमा प्रदीप श्रेष्ठ, सञ्जीव बराइली र सचिन सिंहको संगीत संयोजन रहेको छ भने किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ । एल्बमलाई शुभकामना मिडिया सोलुशनले बजार व्यवस्थापन गरेको हो ।