नेताले बाटो छेक्दा वृद्धाको विजोग

नेताले बाटो छेक्दा वृद्धाको विजोग


■ सुरेश सुवेदी

आमबुझाइ रहन्छ– नेताले बाटो बनाउन अग्रसरता देखाउँछन् । तर, सधैँ यस्तो हुँदोरहेनछ । धादिङ जिल्ला गजुरी गाउँपालिका–६ आदमघाटस्थित उपल्लोटारमा नेकपाका स्थानीय नेता दीपक खतिवडाले लामो समयदेखि अवरोध गरेका कारण बाटो निर्माण कार्य अलपत्र मात्र भएको छैन, स्थानीयले सकस पनि भोग्नुपरेको छ ।

स्थानीय ८६ वर्षीया वृद्धा खोमकुमारी अधिकारी उमेरले पनि अशक्त हुनुहुन्छ । लौरोको सहारामा वल्लोपल्लो घर गर्नुहुन्थ्यो । तर, घरअघिल्तिरको सजिलो बाटो भत्काइदिएपछि अधिकारीले सास्ती भोग्नुपरेको छ । अहिले उहाँको दैलैमा गहिरो खाल्डो बनाइएको छ । बाटोभरि ढुङ्गा थुपारिदिएको छ । लौरोको सहारामा हिँड्ने अधिकारीलाई वल्लोपल्लो घर गर्न पनि कठिन भएको छ । जाडोमा घाम ताप्ने ठाउँ पनि भत्किएको छ । तैपनि बाटो बन्ने आसमा खोमकुमारी दुःखी देखिनुहुन्न । तर, खोमकुमारीको आशामा कुनै सरोकारवाला निकायले चासो भने देखाएका छैनन् ।

काम देखाउन भत्काउँदै छोड्दै

विकासको काम देखाउन बाटो भत्काउँदै छोड्ने प्रवृत्तिका कारण वृद्ध, बालबालिका तथा अशक्तहरू पीडित भएका छन् । बाटो फराकिलो बनाउने क्रममा ४ वर्षदेखि काम भइरहेको भनिए पनि स्थानीय नेताको अवरोधका कारण काम हुन सकेको छैन । काम हुने टुङ्गो नभए पनि वडा सदस्य ध्रुव सुवेदीको रोहवरमा भत्काइएको थियो । अहिले वडा सदस्य सुवेदी सम्पर्कमा आउन चाहँदैनन् ।

आदमघाट–किराञ्नचोक सडकखण्ड विगत ४ वर्षदेखि विस्तारको क्रममा रहे पनि खतिवडाका कारण काम हुन नसकेको स्थानीयको गुनासो छ । उता खतिवडाले चाहिँ आफ्नो सम्पत्ति जोगाउने अधिकार रहेको तर्क गर्दै आएका छन् । गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतका अनुसार उक्त सडक जिल्लास्तरीय योजनामा भएको कारण गाउँपालिकाले हस्तक्षेप गरेको छैन ।

अचम्मको कुरा त यो छ कि वृद्धा खोमकुमारी अधिकारीको घरबाहेक अरू कसैको घर तथा कम्पाउन्डमा पनि डोजर लगाइएकोे छैन । काम शुरु भएको चार वर्ष बितिसक्दा पनि काम देखाउन नसक्दा वृद्धा अधिकारीको घरमा डोजर लगाइएकोे स्थानीयको बुझाइ रहेको छ । अवरोधका कारण सडक फराकिलो बनाउने बाँकी काम गर्न नपाएको निर्माण कम्पनीले जनाएको छ । हाल सडक निर्माणको कार्य अन्योलपूर्ण बनेको छ ।

निर्माण कार्यको टुङ्गो नै नलगाईकन कसैको घर पनि भत्काइएको छैन । लामो समयसम्म पनि सडक बनाउने सुर देखिएको छैन । ८६ वर्षीया अधिकारीकोे विलौनायुक्त प्रश्न छ, ‘नबनाउने भए किन सकस दिएको ?’