मानसिक स्वास्थ्य र आत्मप्रबन्धनको सवाल

■ आचार्य श्री स्वामी ध्रुव



हाम्रो जीवनको असली लडाइँ हामी आफैँसँग छ, अर्कोसँग होइन भन्ने हामीले हरदम हेक्का राख्नुपर्छ । बाटोमा जति नै ढुङ्गा भए पनि एक जोर जुत्ताको सहयोगबाट सुरक्षा प्राप्त गर्न सकिन्छ, तर जुत्ताभित्रको सानो गिर्खाले पनि हिँड्न कठिन तुल्याइदिन सक्छ । भन्न खोजेको के भने बाहिरी समस्यासँग हामी सजिलै जुध्न सक्छौँ तर हामीभित्रको शत्रुलाई जित्न गाह्रो हुन्छ, किनकि भित्रको शत्रुलाई नचिनेर हामी शत्रु नै मानिरहेका हुँदैनौँ र मार खान्छौँ ।

भित्रको शत्रु भनेको डर, अल्छीपन, साहसमा कमीजस्ता अवगुणहरू हो । जति ज्ञान प्राप्त भए पनि हामीलाई त्यसको लाभ लिन गाह्रो हुन्छ । हुन त कुनै पनि राम्रो कुरालाई बुझ्ने, सम्झिने, मान्ने वा अनुशरण गर्ने सबै मान्छेको बेग्लाबेग्लै समय र परिस्थिति हुन्छ, तर छिट्टै ध्यान दिनुभएन भने एक दिन यस्तो आउँछ कि त्यसबेला तपाईं समय, दुनियाँ र परिस्थितिसँग सिकायत गर्न सक्नुहुन्न । त्यसबेला यो ज्ञान आउँछ कि तपाईंको जीवन तपाईंकै हातमा थियो र तपाईंले दुनियाँमा अल्झेर आफ्नो समय र शक्ति बर्बाद गर्नुभयो ।

धेरैजसो मान्छे सधैँ अर्काको कुराको पछि लागेर बहस र झगडा गर्छन् । ऊ अर्को व्यक्तिलाई सुधार गर्न चाहन्छ जब कि आफू सुध्रिएको छु कि छैन भनी हेर्दैन । हाम्रो जीवनको असली शत्रु हाम्रै मन हो । हाम्रो मन हाम्रो परम् मित्र पनि हुन सक्छ । तर, यसका लागि उच्च समझको आवश्यकता हुन्छ ।
अमेरिका स्वतन्त्र भएपछिको कुरा हो । त्यहाँको शासन–व्यवस्थालाई राम्ररी चलाउन दुईवटा सदनको व्यवस्था गरियो– सिनेट र कङ्ग्रेस । प्रथम अमेरिकी राष्ट्रपति जर्ज वासिङ्टनसित एक पत्रकारले सोधे– दुईवटा सदन बनाउनुको तात्पर्य के हो ? त्यसबेला जार्ज वासिङ्टन चिया पिइरहेका थिए । उनले भने– ‘सोझै तातो कप समातेर चिया पिउँदा जिब्रो पोल्न सक्छ, तर प्लेटमा राखेर खाए खानुको आनन्द आउँछ । त्यस्तै, तातो–तातो मुद्दाहरूको बहस गर्नको लागि एउटा सदन र राम्रो–राम्रो कुराको लागि कुनै कानून बनाउनको लागि अर्को सदन ।’ त्यसपछि विश्वका अधिकांश देशमा दुईवटा हाउसको व्यवस्था गरिएको छ । यसको मुख्य उद्देश्य यही थियो कि सर्वकल्याणका लागि कुनै कानून बनाउनु छ भने एउटा सदनमा छलफल हुन्छ र कुनै विवादास्पद मुद्दा छ भने त्यसबारे अर्को सदनमा छलफल गर्ने ।

मेरो विचारमा मानवीय मस्तिष्कमा जुन चेतन र अचेतन भाग छ यो पनि एकप्रकारले दुईवटा हाउसजस्तै हो । अचेतन भागमा डर, निराशा, अशान्ति, ईष्र्या, द्वेष केही पनि हुँदैन । जति पनि नकारात्मक विचार छन् त्यो चेतन मस्तिष्कमा हुन्छ । यसको साथ हामीले एउटा अर्को कुरा पनि याद राख्नुपर्छ कि कुनै पनि बेला कुनै पनि प्रकारको समस्या आयो र त्यसको समाधान निस्किरहेको छैन भने त्यो प्रश्नलाई अचेतन मस्तिष्कमा पठाइदिनुस्, पछि तपाईं महसुस गर्न सक्नुहुन्छ कि समाधान आइहाल्छ । यसको मतलब के छ भने वर्तमानको कुनै पनि समस्यालाई केही समयको लागि त्यत्तिकै छोडिदिए पछि स्वतः राम्रो निष्कर्ष निस्किहाल्छ ।

मन र मकानलाई बेला–बेलामा सफा गर्नुपर्छ नत्र घरमा अनावश्यक सामान र मनमा नकारात्मक विचार जम्मा भइरहन्छ । यसको लागि निद्रा र खाना जस्तै हरेक दिन प्रातःकाल एउटा ध्यानविधिको उपयोग गर्नु आवश्यक छ । पूरै विश्वमा लगभग तीन सय धर्म छन् । सबै धर्मका धर्मगुरुले आफ्ना अनुयायीलाई प्रातःकालमा निश्चित रूपमा १० मिनेटको कुनै न कुनै यस्तो कार्य गर्नको लागि सुझाव दिन्छन् नै, जसले गर्दा मनमा शान्तिको स्थिति सिर्जना होस् । मनको एउटा विज्ञान यस्तो हुन्छ कि तपाईं जस्तो भाव वा विचार राख्नुहुन्छ तपाईंको मनोदशा त्यस्तै भइहाल्छ । वर्षौं अगाडिको कुनै दुःखद वा सुखद कुरा सम्झनुहोस्, त्यसले तपाईंको मनको भाव पनि त्यस्तै दुःखी वा सुखी तुल्याइहाल्छ । विशेष रूपमा प्रातःकालको मनोदशाको दैनिक जीवनमा धैरै ठूलो प्रभाव पर्छ । बिहानको एउटा सानो तनावले पनि पूरै दिनलाई तनावपूर्ण बनाइदिन्छ । त्यस्तै, बिहानको एउटा सानो आनन्दको क्षणले पनि पूरै दिनलाई आनन्दित गर्न सक्छ ।

मनन गरौँ– बन्दरगाहमा उभिरहेको जहाज सुरक्षित अवश्य हुन्छ, तर जहाजलाई बन्दरगाहमै राख्नको लागि त बनाइएको होइन । समाजले शुरुमा कुनै पनि नयाँ कुराको मजाक उडाउँछ र त्यसपछि विरोध गर्छ । तर, अन्तमा स्वीकार गर्छ । यति मात्र होइन पछि त अनुशरण पनि गर्न थाल्छ ।

आवश्यक परामर्श–

१. कसैसित पनि अपेक्षा राख्नुहुँदैन र कसैको उपेक्षा पनि गर्नुहुँदैन ।
२. जिन्दगीमा कुनै पनि उपलब्धिको एउटा खास समय हुन्छ । त्यसैबेला शक्ति लगाएर त्यसलाई पाउनुपर्छ । किनकि जिन्दगीले मौका कम र अफसोस बढी दिन्छ ।
३. लक्ष्यबिना जीवनको केही महत्व छैन । यसकारण जीवनमा एउटा लक्ष्य हुनुपर्छ ।
४. जस्तो समय भए पनि समयले समयलाई बदलिहाल्छ । मात्र समयलाई समय दिनुपर्छ ।
५. आफ्नो जिन्दगीको तुलना अर्कासित गर्न हुँदैन, किनकि कुनै पनि दुईवटा कहानी एकजस्तै हुँदैन ।
६. जिन्दगीको किताबमा धैर्यको जिल्दा लगाउन जरुरी हुन्छ । किनकि यो धैर्य नै सबै कुरालाई बाँधेर राख्छ ।
७. हाथले चिसोमा र दिमागले तातोमा काम गर्दैन, यस कुरालाई याद राख्नुपर्छ ।

(लेखक माइन्ड म्यानेजमेन्ट इन्टरनेसनलका निर्देशक हुन् ।)

प्रतिक्रिया