रगडेल होली मेला आयोजकद्वारा सुशान्तलाई १० हजार डलरको प्रस्ताव

रगडेल होली मेला आयोजकद्वारा सुशान्तलाई १० हजार डलरको प्रस्ताव


■ राजन घिमिरे, सिड्नी
विगतका वर्षमा जस्तै यसपटक पनि सिड्नीमा रहेका नेपालीहरूलाई रगडेल ब्वायज र कमेरो इभेन्टसले होलीको कार्यक्रमको आयोजना गरेर मनोरञ्जन प्रदान गर्ने भएको छ । विगतका कार्यक्रम भन्दा यो वर्ष झनै भब्य र सभ्य बनाउन लागिपरेको आयोजकमध्येका एक शितल गिरीले जानकारी दिए ।

‘प्रवासमा छरिएर रहेका नेपालीहरू एउटै थलोमा जमघट हुने र प्रवासमा नेपाली पर्व मनाउने सोच र धारणा हो हाम्रो’, गिरीको भनाई थियो ।

यसपटक रगडेल होली मेला ७ मार्चका दिन आयोजना हुनेछ । कार्यक्रममा यतिबेलाका युवापुस्ताका चर्चित गायक सुशान्त केसीको विशेष प्रस्तुति समेटिने छ । युवापुस्तामा उनको क्रेजलाई ध्यानमा राखेर नै उनलाई १० हजार डलर पारिश्रमिक दिएर होली कार्यक्रममा ल्याउन लागिएको बुझिएको छ । दर्शकहरूको चाह र खोजीलाई बुझेर सुशान्तमाथि यति धेरै लगानी गरिएको जानकारी दिइएको छ ।

सुशान्तसँगै कार्यक्रममा कुशल नृत्याङ्गना एलिसा शर्मा, गायक बिक्री गुरुङ र कार्यक्रम प्रस्तोताको रूपमा ओशिन सिटौला आउने छिन् । ओसिन पछिल्लोपटक नेपाली मनोरन्जनात्मक कार्यक्रमहरूको प्रस्तोतामा अत्याधिक मनपराइएकी कार्यक्रम प्रस्तोता हुन् ।

विगतका वर्षमा यस्तै कार्यक्रमको आयोजना गर्दा एउटै थलोमा ४ हजारभन्दा बढी नेपालीहरूको जमघट गराउन सफल रगडेल होली मेला कार्यक्रम आयोजकले यसपटक संख्यात्मक रूपमा विगतको रेकर्डलाई उछिन्ने दाबी गरेको छ ।