अस्वीकार्य प्रेमोपहार… !

अस्वीकार्य प्रेमोपहार… !


■ आचार्य प्रभा (अमेरिका)

टेलिफोनको घण्टी बज्यो । मायाले फोन उठाइन् । फोनमा सिमा भनिरहेकी थिई, ‘माया…, मेरो साथी रुस्तमले यो ‘प्रेम दिवस’मा तिमीलाई ‘रातो गुलाब’ उपहार दिन्छु भन्दैथ्यो । के स्वीकार गर्छ्यौ ?’

क्षणभर ढिलो नगरी मायाले अस्वीकारको भावमा भनी- ‘अहँ.. मलाई कसैको उपहार चाहिन्न । यत्तिकै खुश छु म ।’

सिमाले फेरि कुरा कोट्ट्याउँदै भनी- ‘कस्तो कुरा गर्छ्यौ ? के भो ? ऊ पनि राम्रो पढेलेखेको केटो छ । उनमा के कमी छ र ?’

मायाले फेरि जवाफ दिई- ‘प्रेमदिवसकै दिन गुलाब दिएर, प्रेम प्रस्ताव राखेर मात्र प्रेम सफल अनि दीर्घकालीन हुन्छ र ? केटो राम्रो पढेलेखेको भनेर मात्र कहाँ हुन्छ र ? मान्छेको मन सफा, सोंच निष्कलंक हुनुपर्छ ।’

‘लौ ! किन यस्तो कुरा गर्दैछौ माया ? मैले केही बुझ्न सकिरा’छैन । मैले त दुईजनाको जोडी, ब्यवहारिकता मिल्छ भनेर पो भनेकी त ! तिम्रो इच्छाको कुरा हो, तर तिमीले अब आफ्नो बैवाहिक जीवन र आफ्नो आधारको बारेमा सोंच्ने बेला पनि आएको जस्तो लागेर मैले यो प्रस्ताव सुनाएकी हुँ ।’

मायाले जवाफमा भनी- ‘सिमा मलाई ‘प्रेम दिवस’ अनि यस्तो उपहारमाथि विश्वास नै लाग्दैन ।’

सिमाले प्रश्न गरी- ‘किन ? यो आधुनिक जमाना हो साथी । यो समयमा पनि तिमी उही पुरानो सोंच पालेर बस्छौ भने मेरो के लाग्छ र ?’

सिमाको वाक्यलाई ब्यङ्यात्मक तरिकाले जवाफ दिँदै मायाले भनी- ‘सिमा, म आधुनिक जमानाकै भए पनि औसत कुराहरुमा पौराणिकतालाई नै मान्यता दिन्छु । यदि मैले पहिला नै पुराना कुराहरुमाथि विश्वास गरेकी भए यतिखेर म विवाहित भएर आमा बनिसकेकी हुन्थेँ शायद, तर म पनि आधुनिक जमानाकी युवती बन्ने हुँदा प्रेम दिवसको बहानामा गुलाबको फूल दिनेको शिकार बन्ने थिइनँ हुँला ।’

मायाको कुराले भावुक बन्दै सिमाले प्रश्न गरी । ‘माया कसले तिमीलाई त्यस्तो धोका दियो ? माफ गर, तर मलाई भन त्यो धोकेबाजको नाम ।’

मायाले जवाफमा भनी, ‘म त्यो नाम लिन सक्षम छैन सिमा । तिमी अचम्भित र निराश बन्नेछौ, यदि मैले त्यो नाम लिएँ भने ।’

सिमाको मनमा चिसो पस्यो र मायाको मुखबाट त्यो नाम खुस्काउने प्रयत्न गर्दै थिई । ठ्याक्कै उसको अघिल्तिर आफ्ना श्रीमान् कौशल आइपुगे । सिमा हत्तपत्त फोन बन्द गरेर असमन्जसमा पर्दै सोंच्न थाली । ‘आखिर को होला त्यो मान्छे जसले मायालाई यस्तो निष्ठुरी हालतमा पुऱ्यायो ?…!?’