एमसीसीले खुस्काएको कछाड

एमसीसीले खुस्काएको कछाड


■ स्वयम्भुनाथ कार्की
प्रजातन्त्र लोकतन्त्र, जनवाद प्रगतिशील आदि नामले आफ्नोे वर्चश्व बढाउन तीव्र विरोध र अन्ध समर्थक पिँढी तयार गरे । जो आफ्नोे होइन त्यसको जे कुराको पनि विरोध र जो आफ्नोे हो त्यसको हरेक कुराको अन्ध समर्थन । समय बदलियो, परिस्थितिले पल्टा खायो । हिजो ढुङ्गा हानेको, गुलेली हानेको, पुल्ठो (अगुल्टो) झोसेको कामको मूल्याङ्कन भयो । बम बन्दुक पड्काएको त उच्च मूल्याङ्कन हुने नै भयो ।

अझ उसबेला कसैको शिरोच्छेदन गरेको, जिम्दै भू–समाधि दिएको त पुरष्कृत गर्नैपऱ्यो । तर, यो सब राज्य सञ्चालनको योग्यता होइन भन्ने कुरा अहिले उजागर हुँदै गएको छ । सरकार मात्र होइन दलहरू र उनीहरूको सैद्धान्तिक आस्थामा नागरिक अविश्वास गर्दै छन् । यही अवस्था रहे उनीहरूको सैद्धान्तिक वाद पनि नाजीवाद, फासीवाद जस्तै घिनाउला कि भनेर सावधान हुनैपर्छ ।

कुरो हालसालै बृहत् चर्चामा रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेसनसँगको सम्झौताको मात्र होइन । पहिलोपल्ट सर्वाधिक शक्तिशाली भनिएको नागरिक सरकारका हरेकजसो काम तथा कदमको तीव्र विरोधको हो । यो प्रणालीमा विपक्षीले सत्ताकोलाई मात्तिन नदिन विरोध गर्नुपर्ने हो । तर, यस्तो विरोध विपक्षीहरूबाट भएको छैन, नागरिकबाट भएको छ । त्यो पनि सत्ताधारी र विपक्षी दुवैको । यो व्यवस्था प्रणाली चलाउन नभई नहुने भन्ने मान्यता हो । त्यो आवश्यक तत्वहरू भनिएका सबै इकाइमाथि नागरिकले अविश्वास मात्र होइन, तीव्र अविश्वास गर्दै छ । उनीहरूले नागरिकको त्यो अविश्वास चिर्न त के कुरा चर्काउन पनि सकेका छैनन् । अरिँगाल अनि अरिँगालमा परिवर्तित बुद्धिजीवीहरूको कुरा बहिष्कारमा परेको छ ।

त्यो सम्झौता ठीक हो वा होइन भन्ने कुराको उठान गर्न खोजेको होइन । त्यो सम्झौता ठीक होस् वा गलत, संसद्मा अनुमोदन होस् वा नहोस् त्यसले गर्ने ठूलो हानि गरिनै सक्यो । राजनीतिक इकाइहरू हाँक्ने नेताहरूको कछाड खुस्काइसक्यो । यो सबैले ढिलो वा छिटो उपलब्धिको ठूलो ढोल पिटिएको प्रणालीलाई समाप्तितर्फ लैजान्छ । किनभने यो अविश्वास भनेको वर्तमानमा भएको दलहरूमा नेताहरूको हैकम, घमण्ड अनि पेलेर जाने प्रवृत्तिविरुद्धको युद्धघोष हो । नत्रभने दिए पनि नदिए पनि उसले उत्पादन गरेको दाबी मानेर भुक्तानी गर्नुपर्ने अमेरिकन कम्पनी पाण्डा इनर्जीलाई पनि तह लगाएको नजिर छ नेपालसँग । अब त्यसको मूल्य नेपालले राजसंस्था पाखा लगाएर चुकाउनुपऱ्यो त्यो अलग प्रसङ्ग हो ।

विदेशीसँगको सम्बन्ध, आर्थिक लेनदेन आदि केन्द्रीय सरकारको निगरानी, निरीक्षण र जानकारीमा हुनुपर्ने हो । तर, तीन तहको सरकारको नाममा विदेशीहरू जतिसक्यो त्यति स्थानीय सरकार भनिएकालाई रिझाउँदै छन् । त्यो पनि केन्द्रको सहमति त परै जाओस् केन्द्रलाई जानकारी पनि नभई ।

अविश्वासले जन्माएका कुनै पनि विरोधमा आएका तर्क र समर्थनमा आएका तर्क धेरैजसो आफ्नोेको अन्ध समर्थन र अर्काको उग्र विरोध मात्र छन् । हरेक शब्द, अल्पविराम, पूर्णविरामको अर्थ दुवै पक्षले आ–आफ्नोे रुचिअनुसार लगाएका छन् । यस्ता कुराहरू सापेक्ष हुने गर्दछन्, वाक्य मात्रको अर्थ लगाउँदा र अनुच्छेदको अर्थ लगाउँदा फरक पनि हुन सक्छ । तर्कमा आफ्नोे विपरीत तर्क के आएका छन् त्यो पनि सुनेर प्रतितर्क दिनुपर्ने हुन्छ । तर, जसरी पनि जित्नैपर्ने ध्याउन्नमा अर्कालाई बोल्नै नदिने, कोर्रा (ह्विप) लगाउने आदि प्रवृत्ति देखापरेको छ । यो प्रवृत्ति उहिले आफ्नोे अनुकूलको व्यवस्था नहुँदा विरोध र समर्थन गर्न मात्र सक्ने गरेर दिमाग भुटेका पिँढीको उत्पादन हो ।

ढोकाको जस्तो प्वालैप्वाल पारेको राष्ट्रिय सुरक्षा अवस्थामा एउटा प्वाल थप्नाले मात्र असर पारेको छ भन्नु नै स्थितिको मूल्याङ्कन नहुनु हो । त्यसैले यहाँ त्यो सम्झौता ठीक वा गलत भन्ने कुरा गर्न आवश्यक नठानेको हो । यस्तै हस्तक्षेपकारी कामहरूमा आउने विदेशी सहयोग वा ऋणहरूले कैयौँ नागरिकको पुस्तौँदेखिको वास उजाडेको छ विकासको नाममा । विदेशीसँगको सम्बन्ध, आर्थिक लेनदेन आदि केन्द्रीय सरकारको निगरानी, निरीक्षण र जानकारीमा हुनुपर्ने हो । तर, तीन तहको सरकारको नाममा विदेशीहरू जतिसक्यो त्यति स्थानीय सरकार भनिएकालाई रिझाउँदै छन् । त्यो पनि केन्द्रको सहमति त परै जाओस् केन्द्रलाई जानकारी पनि नभई ।

अमेरिकी सहयोग र दबाब यो पहिलो पनि होइन र अन्तिम पनि हुने छैन । राजा महेन्द्रले कम्युनिस्ट विचारधारा रोक्न अमेरिकाबाट सञ्चालन गरएको राप्ती दुन परियोजना, त्यसमार्फत तराईबाट औलो उन्मूलन आदि काम नेपाल र नेपालीको हितमा नियन्त्रित गरे । पिसकोरको रूपमा अमेरिकी स्वयम्सेवक गाउँगाउँमा सञ्चालित भए, तर उनीहरूले अमेरिकी कुप्रभाव राजा महेन्द्रको पालासम्म फैलाउन सकेनन् । यो शासकको योग्यता–क्षमताको कुरा हो । जस्तो कि, आगो चलाउन जाने उपयोगी हुन्छ चलाउन नजाने विनाशकारी त्यस्तै यस्ता परियोजनाहरू पनि हुन्छन् । निर्दोष लाग्ने सहायता ऋण आदिले पनि दाताको स्वार्थ बोकेर आएको हुन्छ । तर, आफ्नै नागरिक मात्र होइन दलका सदस्यहरूलाई पनि कुरो बुझाउने ल्याकत नभएर कछाड खुस्केको नेतृत्वले त्यो क्षमता देखाउला भनेर विश्वास नै कसरी गरुन् त । अविश्वास नै राजनीति हो, अग्रगमन हो, लोकतन्त्र हो, जनवाद हो भनेर सिकाएको पुस्ता हो यो ।