गतिशील र नमुना गाउँपालिका बनाउने लक्ष्य छ : अञ्जार आलम

गतिशील र नमुना गाउँपालिका बनाउने लक्ष्य छ : अञ्जार आलम


झापा जिल्लाका ७ गाउँपालिका अध्यक्षमध्ये सुदूर दक्षिण–पूर्वी कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलम सम्भवतः जिल्लाकै कान्छो गापा अध्यक्ष हुन् । कचनकवल गाउँपालिका, वडा नं. ५, बनियानीका स्थायी बासिन्दा उनी हाल आफू ४८ वर्ष पुगेको बताउँछन् । आलमको औपचारिक राजनीतिक यात्राचाहिँ २२ वर्ष नाघेको छ । गत ०५४ सालदेखि ०५९ सालसम्म झापा जिल्ला विकास समितिका सदस्य रहेका उनी स्थानीय तहको चुनाव हुनुभन्दा अघिसम्म मुस्लिम राष्ट्रिय आयोगका केन्द्रीय सदस्य पनि थिए । तत्कालीन पाठामारी, बनियानी, केचना, पथरिया, घेराबारी र बालुबाडी गाउँ विकास समितिअन्तर्गतको भूगोललाई एकीकृत गरेर नेपाल सरकारले ११० वर्गकिमिको कचनकवल गाउँपालिका बनाएपछि भएको पहिलो स्थानीय तहको चुनावमा राप्रपाका तर्फबाट अध्यक्ष पदमा विजय हासिल गरेका आलम १४ सदस्यीय (अध्यक्ष, उपाध्यक्षका अलावा ७ वटा वडा अध्यक्ष, चार महिला सदस्य÷दुई मनोनीत सदस्य) गाउँ कार्यपालिकाको नेतृत्व गरिरहेका छन् । जसमध्ये राप्रपाका १०, नेकपाका दुई र नेकाका दुईजना बोर्डसदस्य छन् । आवादीको हिसाबले क्रमशः राजवंशी, मुस्लिम, गणेश, पहाडे मूल, मधेसी, जनजाति, दलित, माझी, सतार र गन्धर्व जातजातिका गरी ४५ हजार जनसङ्ख्या रहेको कचनकवलमा अध्यक्षका रूपमा निर्वाचित भएर कार्यभार सम्हालेपछि सो गाउँपालिकाको विकास–निर्माण, भइरहेका कामकारबाही र भावी योजनाका सम्बन्धमा राजबाबु शंकरले गरेको कुराकानी :

० जिल्लाका अन्य गाउँपालिकाभन्दा अपेक्षाकृत पिछडिएको गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ । निर्वाचित भएर आएपछि गाउँपालिका क्षेत्रको विकासका लागि के गरिरहनुभएको छ ?
– म निर्वाचित भएपछि शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, बाटोघाटो, पुलपुलेसा, पशु–माछापालन, महिला सशक्तीकरण, सीपमूलक रोजगारी र उद्यममा प्राथमिकतालगायतका काममा गाउँपालिका बोर्डको निर्णयअनुसार केन्द्रित भएका छौँ । भर्खरै नेपाल भ्रमण वर्ष–२०२० को राष्ट्रिय अभियान पनि शुरु भएसँगै यस गाउँपालिका क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न कामहरूसमेत गरिरहेका छौँ । गाउँ कार्यपालिकाले शिक्षालाई प्राथमिकता दिएको छ । यस गाउँपालिकाका कोही पनि बालबालिका र किशोर–किशोरी पढ्नबाट वञ्चित नहोउन् भनेर ११–१२ कक्षासम्मै निःशुल्क गरेका छौँ भने छात्राहरूलाई स्नातक तहसम्मको पढाइ खर्च गाउँपालिकाले व्यहोरिरहेको छ । अनिवार्य बाल शिक्षाका लागि बाल कक्षा सञ्चालन हुने विद्यालयलाई बालमैत्री स्वरूपमा स्तरीकरण गर्दै चालू आर्थिक वर्षभित्रै नमुना बाल विद्यालय बनाउन तत्सम्बन्धी शिक्षक तालिम र अन्य तयारी पनि गरिरहेका छौँ । हामीले खासगरी सैद्धान्तिकभन्दा पनि प्राविधिक शिक्षामा जोड दिइरहेका छौँ । निमावि तहदेखि माथि कचनकवलका सबै विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य गरेका छौँ ।

सोही क्रममा प्राविधिक शिक्षातर्फ वडा नं.– ३ मा पर्ने पथरिया, डाँगीबारीस्थित मोती माविमा कक्षा ८–१० सम्म कृषि, केचनाको महेन्द्ररत्न माविमा पशु प्राविधिक शिक्षाका लागि १८ महिने तालिमको प्रक्रिया अघि बढाइएको छ भने निकट भविष्यमै बनियानीस्थित लक्ष्मी माविमा सिभिल इन्जिनियरिङ विषयको पढाइ सञ्चालन गर्ने योजनामा छौँ । त्यसैगरी, स्वास्थ्यमा सेवातर्फ स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको छ । यहाँको प्राथमिक स्वास्थ्य केन्द्रमा सुलभ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउन पसल सञ्चालन गर्ने योजनामा छौँ । सोही केन्द्रलाई १५ शय्याको अस्पताल बनाउने र डाइलाइसिस तथा सर्पदंश उपचारसमेत सञ्चालन गर्ने प्रक्रियामा अघि बढेका छौँ । लोपोन्मुख गन्धर्व समुदायका ४५ परिवारको गाउँपालिकाका तर्फबाट स्वास्थ्य बिमा गरिदिएका छौँ । कृषि विकासका लागि १२ महिना नै खेती गर्न किसानलाई प्रोत्साहन गर्ने हेतुले उन्नत बिउ र गुणस्तरीय मलका साथै सिँचाइ सुविधा नभएका ठाउँहरूका लागि बोरिङ पम्प अनुदानमा दिइरहेका छौँ । पशुलाई कृत्रिम गर्भाधान गराउने प्राविधिक सेवा गाउँपालिकाकै तर्फबाट निःशुल्क उपलब्ध गराउने र केचनास्थित ९ वटा झिल (पोखरी) मध्ये ७ वटा गापा आफैँले तीनजना कर्मचारी खटाएर माछापालन गरेको छ भने पोखरी क्षेत्रको सुरक्षाका लागि सीसी क्यामेरा पनि जडान गरिसकेको छ ।

भौतिक पूर्वाधार निर्माणतर्फ हालसम्म यस गाउँपालिका क्षेत्रमा अढाइ किलोमिटर मात्र कालोपत्रे सडक छ भने ५५ किमि ग्राभेल र करिब ७ किमि कच्ची सडक छ । त्यसलाई क्रमिक रूपमा विस्तार र स्तरीकरण गर्दै लैजाने योजना छ । कचनकवलको पूर्वी सीमान्त भूभागलाई मेची नदीको बाढीबाट सुरक्षित राख्न र डुबानबाट मुक्त गर्न मेची किनारको पाठमारीमा तटबन्धको काम चालू छ । मेचीपारि रहेको वडा नं. ५ मा पर्ने नेपालको सयौँ बिघा जग्गाको उपयोग कसरी गर्र्न सकिन्छ भन्नेमा पनि हाम्रो आपसी सरसल्लाह भइरहेको छ । सातवटै वडामा बजार व्यवस्थापनको लक्ष्यअन्तर्गत बनियानी चोकमा फराकिलो सडकको बीचभागमा वृक्षरोपण गर्नेगरी डिभाइडर बनाइएको छ र सौर्य बत्ती पनि जडान गरिएको छ, जसले कचनकवलको मूल बजारको सौन्दर्य बढाउनेछ ।

० पर्यटकीय क्षेत्रहरूको विकास र प्रवद्र्धनका लागि के–के योजना तय भएका छन् ?
– नेपालकै होचो भूभाग केचनालाई पर्यटकीय आकर्षणको गन्तव्य बनाउन बहुवर्षीय गुरुयोजना बनेको छ । समुद्र सतहबाट ५८ मिटर मात्रै अग्लो यो स्थानलाई पर्यटकमैत्री बनाउन प्रारम्भिक चरणमा गत वर्ष त्यहाँ माछाको आकृतिमा मञ्च र कछुवाको प्रस्तर प्रतिकृतिमाथि होचो भूभागको पहिचानस्वरूप निर्मित स्तम्भलाई पुनर्निर्माण गरिएको छ । सो स्थानसम्म जाने पहुँच मार्गका लागि रिङरोडको काम धमाधम भइरहेको छ भने त्यसका लागि हालसम्म डेढ करोड बजेट विनियोजन भएको छ । सो होचो स्थानमा आकर्षक पार्कको निर्माण, पोखरी बनाएर नौका शयरको व्यवस्था गर्ने योजनाअनुरूप काम भइरहेको छ ।

यस गाउँपालिका क्षेत्रमा रहेका आकर्षक पर्यटकीय गन्तव्यहरूमा केचना झिल, २२ बिघाको पथरिया झिल, घेराबारीमा १९ बिघाको पोखरी परिसरमा पार्क निर्माणलगायतका सौन्दर्यीकरण गरी त्यहाँ माछापालनका साथै बोटिङको पनि व्यवस्था गरेर आकर्षण थप्ने योजना छ । जसले त्यस भेगमा पर्यटकको चहलपहल बढेसँगै स्थानीय बासिन्दाको आयस्रोत पनि बढाउने बाटो खोल्ने हाम्रो विश्वास छ । यहाँको सातवटा सामुदायिक वन क्षेत्रका सिमसार पनि पर्यटन प्रवद्र्धनका स्रोत हुनेछन् भने त्यस वन क्षेत्रमा जङ्गल–सफारीका लागि समेत पूर्वाधार निर्माण गर्ने सोचमा हामी छौँ । त्यसैगरी, मेचीपारिको नेपाल जोड्ने पाठामारीमा निर्माणाधीन झोलुङ्गे पुल र वडा नं. १ को पिंडलबारीमा बिरिङ खोलामाथि केन्द्रीय योजनामा बन्ने अर्को झोलुङ्गे पुल पनि पर्यटन प्रवद्र्धनका थप आधार हुनेछन् भन्ने हामीलाई लागेको छ ।

० महत्वाकाङ्क्षीजस्ता लाग्ने यी योजनाका लागि आवश्यक पर्ने स्रोतचाहिँ कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
– चालू आर्थिक वर्षको गाउँपालिकाको कुल बजेट ४७ करोड रुपैयाँको छ । सङ्घीय योजनाअन्तर्गत शिक्षामा २५ लाख बजेट आएको छ । पुल–कल्भर्टका लागि ६० लाख छ । सांसद विकास कोषमार्फत सिँचाइका लागि ५० लाखसमेत गरी एक करोड ६० लाख, कालोपत्रे सडकका लागि सङ्घबाट एक करोड, कचनकवल पर्यटकीयस्थलका लागि एक करोड ३० लाख बजेट छ भने प्रदेश सरकारबाट चार करोड हाराहारीमा बजेट उपलब्ध भएको छ । यससँगै हालको ६ नं वडाको कचनकवल चोकमा गाउँपालिकाको कार्यालय–भवन बनाउन इस्टिमेट पनि भएको छ । त्यसका लागि जग्गा प्राप्त भइसकेको छ ।

० चालू यी काम र तात्कालिक योजनाहरूका अलावा बहुवर्षीय, दीर्घकालीन योजनाहरू पनि केही बनाउनुभएको छ कि ?
– त्यो पनि छ । हामीले कृषिमा नगदे बालीलाई प्राथमिकता दिने र पशु एवम् माछापालनलाई बढावा दिने, पशु बिमा, गरिबी निवारणमा सहकारीलाई जोड्ने, महिला सशक्तीकरण, सीपमूलक रोजगारीको प्रवद्र्धन, कृषिजन्य उद्योगको स्थापना, लघु उद्यममा सहकारीलाई आबद्ध गर्ने, पर्यावरणमैत्री योजना, अशक्त असहाय, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायको सहज जीविकोपार्जन, सीपमूलक तालिम सञ्चालनलगायत यस गाउँपालिकाावसीको जीवनस्तर उकास्ने आय आर्जनका हरसम्भव प्रयत्न नीतिगत रूपमै हामीले गरेका छौँ । अर्काे महत्वपूर्ण कुरा के छ भने, स्थानीय नागरिकलाई सकेसम्म करको भार नथप्ने, बरु अन्य स्रोतको खोजी गरेर अघि बढ्ने हाम्रो दीर्घकालीन लक्ष्य छ । समग्रमा हाम्रो कार्यकालभित्रमा कचनकवल गाउँपालिकालाई एउटा गतिशील र नमुना गाउँपालिकाका रूपमा चिनाउने हाम्रो उद्देश्य छ ।