आफ्नै आङ कन्याएर छारो नउडाऔँ

आफ्नै आङ कन्याएर छारो नउडाऔँ


■ इन्द्रबहादुर बराल
वर्तमान राजनीतिमा सबैजसो प्रमुख दलहरू आन्तरिक विवादले ग्रसित छन् । त्यसमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसभित्रको खिचातानी त झनै अराजक–अमर्यादित रूपमा छरपस्ट देखियो । त्यस्तो व्यवहार तथा चरित्रले काङ्ग्रेसको साङ्गठनिक र वैचारिक आधारहरू कमजोर बन्दै गए । ‘हलो अड्काएर गोरु पड्काउने’ प्रवृत्ति हावी हुँदा ७० वर्षभन्दा लामो इतिहास बोकेको पार्टी साँच्चै निरीह नै बनेको हो त भन्ने खालका आवाजहरू मुखरित हुन थालेका छन् । तल्लो तहका कार्यकर्ता, शुभचिन्तक एवम् प्रजातन्त्रपक्षधर तमाम सर्वसाधारणमा ठूलै चिन्ता छाउन पुगेको छ । मासबेस पार्टीको यस हालतले वास्तवमै चिन्ता र चासो बढाएको छ ।

सत्तारुढ पार्टी नेकपाले काङ्ग्रेसको आन्तरिक झगडाको फाइदा उठाउँदै लोकतन्त्रका मूलभूत संस्थामाथि धावा बोल्न थाल्यो । आमसञ्चारमाध्यमलाई सङ्कुचन पार्ने उद्देश्यले कठोर विधेयक संसद्मा प्रस्तुत गऱ्यो । लोकतान्त्रिक पार्टी आन्तरिक कलहमा फसेको बेला मौका छोप्ने यस रवैयाविरुद्ध आमनेपालीको सशक्त खबरदारीले सरकार पछि हटेको जस्तो देखिए पनि ढुक्क हुने अवस्था छैन । सर्वसाधारण नेपालीको जागरुकताले अझसम्म लोकतान्त्रिक संस्थाहरूको गला निमोठिन भने सकेको छैन । तर, मौकामा चौका हान्न भने कम्युनिस्टहरू माहिर देखिन्छन् । यसर्थ, नेपाली काङ्ग्रेस पार्टीभित्रको संस्थापन र संस्थापनइतर दुई पक्ष अत्यन्त गम्भीर र संवेदनशील हुनुपर्ने देखिन्छ ।

असहिष्णुता र असहमतिले पार्टीलाई सुरक्षित गन्तव्यमा पुऱ्याउन सक्दैन । यसैले मुलुकका सबै राजनीतिक शक्तिहरू सहमतिका साथ अघि बढ्नुपर्ने अवस्था टड्कारो रूपमा महसुस गरिँदै छ भने आफैँमा सहमतिका साथ जान नसक्नु वास्तवमै नेपाली काङ्ग्रेसको दुर्भाग्य हो । पद्धति लोकतान्त्रिक अपनाउने त्यो पनि बहुबलवादको आधारमा, तर व्यवहार र चरित्र अलोकतान्त्रिक हुनु विडम्बना नै हो । लोकतन्त्रमा सके सर्वसम्मत निर्णय गर्ने हो, पार्टी गतिशील बनाउन सकिँदैन भने बहुमतले गरेको निर्णयअनुसार चल्ने हो । तर, नेपाली काङ्ग्रेसमा त्यस्तो देखिएन । बहुमतले गरेका निर्णय मान्दैनौँ भनेर पार्टीभित्रको आन्तरिक विवाद र बहस सडकमा ओरालियो । काङ्ग्रेसइतर शक्तिहरूको हड्डी हँसाउने काम कथित ‘पौडेल समूह’बाट भयो । यस्ता हर्कतले नेपाली काङ्ग्रेसमा पन्पिएको आफ्नो आङ कन्याएर छारो उडाउने प्रवृत्ति उदाङ्गिएको छ ।

पार्टीभित्रको असन्तुष्ट समूहलाई वार्ता र छलफलद्वारा सहमतिमा ल्याउने प्रयास शीर्ष नेतृत्वबा नभएको होइन । तथापि, त्यस्तो प्रयासलाई नजरअन्दाज गर्दै आकाशतिर फर्केर थुक्ने काम निरन्तर भयो । यस्ता घटनाक्रमले भोलिका दिनमा आउने नयाँ नेतृत्वलाई पनि अस्वाभाविक लाग्ने चुनौती पनि निम्तिने खतरा आउन सक्छ । यसर्थ पार्टीभित्रका असहमतिलाई सकेसम्म सहमतिमै किनारा लगाउन नसके बहुमतबाटै अघि बढ्ने लोकतान्त्रिक पद्धतिको मूल्य र मान्यता अवलम्बन गर्ने हो । यस्ता कुरा तलबाट सम्झाइराख्नुपर्ने त होइन !

कम्युनिस्टहरूले लोकतन्त्रका मूलभूत मूल्य र मान्यतालाई ‘स्यालले मासु जोखे’जस्तो बनाउँछन् भन्ने तथ्य कहिल्यै बिर्सन हुँदैन । प्रचलित कथनअनुसार जोख्दाजोख्दै मासु सक्छ रे स्यालले ! कतै दुईतिहाइनजिकको कम्युनिस्ट सरकारले लोकतन्त्रलाई स्यालको मासुजोखाइ बनाए के होला ? यसर्थ घर झगडा गरेर आफ्नो आङ आफैँ कन्याएर छारो उडाउने काम तत्काल बन्द गर्नुपर्छ ।

पौडेल समूहको नाममा पछाडि बसेर काङ्ग्रेसमाथि अनावश्यक लाञ्छना लगाउने अनुहारहरूको लोकतन्त्र पुनर्वहालीमा के–कति योगदान थियो भन्ने कुरा राजनीतिमा चासो राख्ने जो–कोहीलाई अवगत नै छ । वंश–परम्पराको धङधङी नै अहिलेको विवादको मुख्य जड हो । रामचन्द्र पौडेल त केवल सो–पिस मात्रै हुन् भन्दा फरक पर्दैन । काङ्ग्रेसमा मोहन चापागाईं प्रवृत्ति अझै हावी गराउन चाहने तत्वहरू संस्थापन र संस्थापनइतर दुवै पक्षमा क्रियाशील नहोलान् भन्न सकिँदैन । यस्ता विषयमा पनि पार्टीसम्बद्ध सबै गम्भीर हुन जरुरी छ ।

कम्युनिस्टहरूले लोकतन्त्रका मूलभूत मूल्य र मान्यतालाई ‘स्यालले मासु जोखे’जस्तो बनाउँछन् भन्ने तथ्य कहिल्यै बिर्सन हुँदैन । प्रचलित कथनअनुसार जोख्दाजोख्दै मासु सक्छ रे स्यालले ! कतै दुईतिहाइनजिकको कम्युनिस्ट सरकारले लोकतन्त्रलाई स्यालको मासुजोखाइ बनाए के होला ? यसर्थ घर झगडा गरेर आफ्नो आङ आफैँ कन्याएर छारो उडाउने काम तत्काल बन्द गर्नुपर्छ । पार्टीको बहुमत निर्णयलाई लिएर बाहिर बजारमा आएको कोलाहल र आरोप–प्रत्यारोपले आखिर कसलाई फाइदा पुग्यो ? सभापतिले अघिसारेको १४औँ महाधिवेशनको कार्यक्रम नै आखिर सोही मिति–तिथिमा सहमत भई पारित गर्नु थियो भने त्यत्रो रडाको मच्चाउनुको के अर्थ ? मात्र एक हप्ताको कार्यतालिका हेरफेरको कुरा थियो भने त यति निकृष्ट तहको विवाद गर्नुको कुनै औचत्य देखिएन । यो पहाड खनेर मुसाको सिकार गरेजस्तै भयो । के–के नै भयो, आकाशै खस्यो, जमिन नै भासियो झैँ गरेर कोलाहल मच्चाउने नेताहरूको हैसियत उदाङ्गिनुबाहेक केही देखिएन । यसर्थ पार्टी सञ्चालनका सिलसिलामा देखिने असहमति र फरक धारलाई निरन्तर बहस र छलफलको माध्यमबाट समाधान हुन्छ भन्ने कुरा लोकतन्त्रमा विश्वास गर्नेलाई सम्झाइराख्ने विषय बन्नुहुँदैन । लोकतन्त्र भनेकै ‘वादे वादे जायते तत्वबोध’ हो । विवादित एजेन्डामा निरन्तर तार्किक बहस र छलफलले ठीक निष्कर्षमा पुऱ्याउँछ । यही हो लोकतन्त्रको सुन्दर पक्ष ।

‘माछो देख्दा दुलाभित्र हात, सर्प देख्दा दुलाबाहिर हात’ प्रवृत्ति नै अवसरवाद हो । पार्टीका सभापतिदेखि वरिष्ठ नेताले बुझ्नुपर्ने चुरो कुरो के हो भने अवसरवादी विद्वान्भन्दा इमानदार अनपढ नै दुःखमा काम लाग्छ । उमेरले कान्छाहरूको त कुरा नगरौँ, तर ०४६ सालको जनआन्दोलनपूर्वका कतिपय सहयात्री साथीहरू अहिले कहाँ छन्, के गर्दै छन् भन्ने विषयमा कुनै चिन्ता र चासो छैन । केवल पार्टीसत्ता र राज्यसत्ताको आफ्नो पोल्टामा कसरी पार्ने भन्ने मात्रै दाउमा रहेका नेतालाई के भन्नु र ? यसर्थ अब नेताहरूले आगामी १४औँ महाधिवेशनलाई केन्द्रमा राखेर जाने हो भने अस्वस्थ र अमर्यादित व्यवहारलाई सबैभन्दा पहिले त्याग्नुपर्छ । पार्टीको भावी कार्यक्रमबारे छलफल र बहस चलाउने, वैचारिक र सैद्धान्तिक रूपले कार्यकर्तालाई तिखार्दै लैजानुपर्छ । नेपाली काङ्ग्रेसको लोकतान्त्रिक समाजवादबारे प्रशिक्षणहरू सञ्चालन गर्ने, सङ्गठनलाई चुस्त–दुरुस्त बनाउन कहाँ–कहाँ कमजोरी रहे, कुन–कुन जाति र वर्गहरूलाई नेपाली काङ्ग्रेसको लोकतान्त्रिक समाजवादको झण्डामुनि सामेल गराउन सकिएन । यसका लागि पहिले काङ्ग्रेसले सङ्गठनका क्रममा चुकेको क्षेत्र पहिचान गर्नुपऱ्यो । रोग पत्ता लगाएपछि मात्र उपचार सहज हुन्छ ।

पार्टीका विधान र अन्य ठाउँमा लिपिबद्ध भएकै भरमा सङ्गठन चल्न सक्दैन । आन्तरिक कलह र विवादमा खर्चिने ऊर्जा सङ्गठन विस्तारमा लगायो भने निःसन्देह काङ्ग्रेसलाई कुनै तागतले हल्लाउन सक्दैन । प्रजातन्त्रका पिता लौहपुरुष गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराईले व्यहोर्नुपरेको अपमान अब दोहोरिन दिनुहुँदैन । यहाँ यदाकदा पार्टी सभापति र शेरबहादुर देउवा अलग–अलग हुन् भनेझैँ गर्न खोजिन्छ । तर, पार्टी सभापति आफैँमा एउटा संस्था हो भन्ने हेक्का राख्नैपर्छ । भोलि १४औँ अधिवेशन होला, अर्को कुनै अमूक व्यक्ति निर्वाचित भयो भने पनि त्यो एउटा व्यक्ति मात्र नभई स्वयम् संस्था हुन्छ । तसर्थ, पद र व्यक्तिलाई अलग्याएर हेरिने सोच बेलाबखत अत्यन्तै हानिकारक भएर आउँछ । व्यक्तिको गरिमा पदबाट अलग गरेर हेर्न हुँदैन । यो कुनै एउटा व्यक्तिलाई लक्ष्य गरेर भनिएको नभई सर्वकालिक र सर्वजनहरूमा लागू हुने विषय हो । त्यसैले आफ्नो आङ कन्याएर छारो उडाउने काम आजैबाट त्यागौँ । काङ्ग्रेसजनको लागि मात्र नभई तमाम प्रजातन्त्रवादी एवम् नेपाली जनताको बृहत्तर हित पनि यसैमा छ ।