किन बेचिँदै छन् नेपाली युवा विदेशमा धमाधम ?

किन बेचिँदै छन् नेपाली युवा विदेशमा धमाधम ?


■ मोहनप्रसाद खतिवडा
‘खोसेको रोटीले मेरो पेट भरिन्न.. मागेको धोतीले मेरो लाज छोपिन्न’… ! गोपाल योन्जनले गाएको यो गीत सुनिरहँदा हिजोआज पङ्क्तिकारलाई यस्तो लाग्छ कि अब नेपालका हरमन्त्रालयमा राष्ट्रगानको ठाउँमा योन्जनका यही गीत हरेक बिहानीमा सरकारी कार्यालयहरूमा बजाइनुपर्छ । गाउँ–गाउँ, टोल–टोल र बस्ती–बस्तीमा, नेपाली नेताका क्वार्टरमा, घर–घरमा बजाइनुपर्छ । मरिसकेको आशा अनि निर्जीव मस्तिष्कहरू जगाइनुपर्छ । सबै मिलेर देशमा यस्तै–यस्तै अभियान चलाइनुपर्छ । युवा बेच्ने अभियान रोकिनुपर्छ ।

पङ्क्तिकारले केही वर्षदेखि जापानको उच्चतम विकास र परियोजनालाई अवलोकन गर्दै गर्दा अनि नेपाली नेताले भन्ने गरेका ‘विकास र परिवर्तन कुनै जादुको छडी होइन कि छुमन्तरमा परिवर्तन हुनका लागि’ यस्ता भन्ने गरिएका टुक्का र उखानहरू आज २१औँ शताब्दीको यो विज्ञान र प्रविधिको युगमा आएर या पृथ्वीमा बसेर चन्द्रमाको यान टाल्ने यो युगमा पनि द्रुततर विकासको अवधारणालाई भाषणको रूपमा मात्रै फलाकिरहनु, उखानटुक्काकै रूपमा बुझिरहनुले पनि देश कुन युगमा छ या हामी कुन शताब्दीमा घिस्रिरहेछौँ भन्ने यकिन गर्न सकिन्छ ।

चौबीसघन्टे विकासको यो स्पिडलाई करिब पाँच वर्षदेखि नजिकै रहेर नियालिरहँदा या भनौँ हिजो बिहान मात्रै देखिएको भत्किएको त्यो सडक भोलि बिहान त्यही बाटो जाँदै गर्दा निर्माण पूर्ण रूपमा सम्पन्न देखिँदा लाग्छ– यतिबेलासम्म पनि हामीचाहिँ ढुङ्गेयुगतिरै छौँ कि ! दन्तेकथाजस्तो लाग्ने विकासका यी चरम सीमाहरू आफ्नै आँखाअघिल्तिर भोगिरहँदा देशको राजनीति र राजनेताहरूप्रति एक किसिमको वितृष्णा र घृणा तमाम युवाहरूलाई नहुने कुरै भएन ।

यतिबेला फेरि एकपटक तिनै जापान कानुन अध्ययन केन्द्रका प्रोफेसर डा. हारामितोको त्यही कुराको स्मरण गराउन चाहन्छु । उहाँ अध्यापनको क्रममा भन्नुहुन्थ्यो– तपाईंहरू अध्ययनका क्रममा देश छोडेर परदेसिनुभएको छ । मान्छे परदेश जानुपर्छ, अध्ययन गर्नुपर्छ, केही नयाँ र नौलो सिक्नुपर्छ, जान्नुपर्छ अनि पैसा कमाएर विदेशमै बरालिने होइन, नयाँ ज्ञान र सीप लिएर आफ्नै देश फर्कनुपर्छ है !

देश तब सम्पन्न हुन्छ जब तपाईंले सिकेको सही ज्ञान नयाँ ठाउँमा प्रयोग हुन्छ । तपाईंको ठाउँको लागि यहाँ सिकेका हरेक ज्ञान, सीप बिल्कुल नयाँ हुन सक्छ जसले तपाईंको र देशकै आर्थिक विकासमा थप इँटा थप्न सक्छ । यो भिडमा नहराउनुस् है ! आफ्नै देश बनाउनुपर्छ ।

प्रोफेसर डा. हारामितो अध्यापनको क्रममा भन्नुहुन्थ्यो– तपाईंहरू अध्ययनका क्रममा देश छोडेर परदेसिनुभएको छ । मान्छे परदेश जानुपर्छ, अध्ययन गर्नुपर्छ, केही नयाँ र नौलो सिक्नुपर्छ, जान्नुपर्छ अनि पैसा कमाएर विदेशमै बरालिने होइन, नयाँ ज्ञान र सीप लिएर आफ्नै देश फर्कनुपर्छ है !

काम–कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैँ विडम्बना भन्नैपर्छ नेतृत्वको खुवीलाई अझै पनि । व्यक्तिगत स्वार्थपूर्तिका लागि लाखौँ युवाहरूको इमानमाथि होली खेल्दै वर्तमान विश्वमा आइपुग्दा पनि देशविकासको दीर्घकालीन योजना बनाउनै सकेनन् या बनाएर पनि सफल गर्नै सकेनन् । गऱ्यो त बस पपुलारिजमको नाममा आफन्त, नातागोता, डोनेसनदाता भाइभतिजा, नाताकुटुम्ब, मावली–ससुरालीका उदघाटन, रिबन काट्ने, निरीक्षण, अवलोकन भ्रमणमा प्रजातन्त्रपश्चात्का कैयौँ अमूल्य वर्षहरू व्यतीत गरिदए । परिवार बनाए, घर बनाए, आफन्त बनाए न उद्योग थियो न त व्यवसाय नै छ उनीहरूको ।

यतिबेला देश नाङ्गिइसकेको छ उदाङ्गो हुनेगरी आर्थिक रूपले, युवाहरू देशमा देखिनै छाडिसकेका छन् हिजोआज । दोस्रो देशबाट मजदुर ल्याउने देशको हैसियत पनि छैन । न त विकासका त्यस्ता असीमित कार्यहरू नै भइरहेका छन् । संसारका थोरै देशहरूमध्ये क्षेत्रफलका हिसाबले सानो तर ठूलो युवाशक्ति भएको देश हो हाम्रो, तर सधैँ पराइकै बारी खनेरै जीविका कहिलेसम्म चलाइरहने हो हाम्रो अनिश्चितता छ, अन्योल छ वर्षौंदेखि किन ?

युवाको मानहानि भएको मुलुक हो नेपाल । सक्षम र बौद्धिक युवाहरूलाई छिमेकीले डलरको या ठूलो धनराशिको लोभ देखाएर विकसित मुलुकहरूमा लिएर जान्छ वर्षेनी, तर देशका यस्ता बौद्धक वर्गलाई पराईले चिनिरहँदा या उसको मस्तिष्कको प्रयोग गर्दै विदेशीहरू शिखर चुमिरहँदा हाम्रा नेताहरूले युवाहरूलाई त्यसबेला मात्र सदुपयोग ठान्दछन् या चिन्ने गर्छन् जब चुनाव आउँछ ।

राम्रो गर्ने निहुँमा देशका सारा सक्षम युवालाई मित्रराष्ट्र तथा अन्य देशहरूमा रोजगारीको नाममा पठाउनु देशका लागि दीर्घकालीन गद्दारी होइन र ?

संसारका राम्रा मानिएका केही मुलुक पनि केही दशकहरूमा शिखर चुमेका इतिहास जिउँदै छन् । सिंगापुर, दुबई, मलेसियाजस्ता देशहरू पनि हाम्रा जस्तै थिए पहिले । तर हाम्रो मुलुक या यस मुलुकलाई नेतृत्व गर्ने पादरीहरू भने आजसम्म पनि संसारका यस्ता मुलुकका खोजीमा छन् जुन् देशले नेपाली युवाहरूलाई किनिदेओस्, श्रम सम्झौता गरिदेओस् या भनौँ तिनै युवाले वैदेशिक रोजगारबाट पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानोस् या नेताका बंगला फेरियुन्, महल घर गाडी फेरियुन्, सबका सब फेरियोस् ।

हिजो कुनै बेला नेपालबाट सहयोग पठाएको मुलुकमा आज हाम्रै युवा रोजगार सम्झौतामा हस्ताक्षर गर्दै मजदुरीको नाममा कृषि, बंगुरपालन, उद्योगमा पठाइनु या जान पाउनुलाई भाग्यमानी ठान्ने हामी युवालाई किन त राज्यले आजको शताब्दीसम्म पनि रोगगार भिसाको सहमति गर्दै हिँडिरहेको छ ।
के अरू देशकै रोजगारी भर परेर देश विकसित र सम्पन्न होला त ?

नेतृत्वले राम्रो गर्ने निहुँमा देशका सारा सक्षम युवालाई मित्रराष्ट्र तथा अन्य देशहरूमा रोजगारीको नाममा पठाउनु देशका लागि दीर्घकालीन गद्दारी होइन र ? दुनियाँले आफ्नो देश बनाइरहेको या बनाइसकेको यो शताब्दीमा हामी भने देशमा भएका युवा धमाधम रोजगारको नाममा विदेशतिर बेचिरहेका छौँ । अनि सरकार पनि दोस्रो राष्ट्रसँग श्रम सम्झौता गर्नुलाई बहादुरी र पुरुषार्थ सम्झँदै छ ।

हिजो खाडी मुलुकसँग श्रम सम्झौता गरेरै लाखौँ युवा बिक्री भइसकेको यो अवस्थामा पुनः विकसित मुलुकहरूसँग श्रम सम्झौता गरेर किन वर्षेनी युवा लखेटिरहेको छ त सरकार ? यो वा त्यो नाममा जुनसुकै देशसँग रोजगारी सम्झौता गरेर देशका युवाहरू बेचिनुहुन्न या पलायन गराउनु हुँदैन । यस्ता सम्झौताले केही क्षण ‘मूतको न्यानो’ त होला, तर दीर्घकालीन रूपमा देश गरिब बन्नेछ । छोरालाई पराइको धर्मपुत्र बनाएर बाबुको रेखदेख गरेन भन्नु न्यायसंगत होला त ?

  • टोकियो (जापान)