सिड्नीमा गुन्जँदै रामकृष्ण ढकाल

सिड्नीमा गुन्जँदै रामकृष्ण ढकाल


  • राजन घिमिरे, सिड्नी

नेपाली सुगम संगीत क्षेत्रका उत्कृष्ट र लोकप्रिय गायक हुन् रामकृष्ण ढकाल । कालजयी नेपाली गीत–संगीतका यी उपल्लो कोटीका गायक अब सिड्नीमा रहेका नेपाली सङ्गीतप्रेमीमाझ प्रत्यक्ष गुन्जने भएका छन् ।

विगत तीन दशकदेखि निरन्तर गायन क्षेत्रमा होमिएका ढकाल आगामी मार्च ६ शुक्रबारको दिन सिड्नीको रगडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा गुन्जने भएका हुन् । लाइभ ब्याण्डसहित रामकृष्णले त्यस दिन बिहान उठ्ने बित्तीकै हिमाल…, ओराली लागेको…., माया गर्नेको चोखो माया…, बचन तोडे कसम नै तोडे…., हिरा काट्ने हिरैमा राखेर…, बाँचुन्जेलीलाई… लगायतका डेढ दर्जन उत्कृष्ट गीत प्रस्तुत गर्ने भएका छन् । ढकाल अहिले नेपालमा उत्कृष्ट आवाज खोज्ने कार्यक्रम ‘वाई वाई नेपाल स्टार’का निर्णायक रहेका छन् ।

सुप्रसिद्ध भारतीय गायिका लता मंगेश्वर र आशा भोसलेसँग गीत गाउने अवसर पाएका ढकालजस्ता गायक कलाकारको गीत प्रत्यक्ष रूपमा सुन्न पाउनुलाई सिड्नीमा रहेका नेपालीजनले राम्रो अवसरको रूपमा लिएका छन् । ढकाल पनि सिड्नीवासी नेपालीमाझ आफ्नो एकल प्रस्तुति दिन पाउनुलाई ऐतिहासिक अवसरको रूपमा लिएको बताउँछन । ‘म सिड्नीमा मेरा प्रशंसक र नेपाली गीत–संगीतप्रेमीहरूलाई भेट्न आतुर छु’– रामकृष्णले भने ।

रामकृष्ण ढकाल साँझ विथ लाइभ ब्याण्ड नाम राखिएको यो कार्यक्रमलाई कंगारू ऐजुकेसन फाउन्डेसन एजुकेशन एण्ड भिसा सर्भिसेसले गरेको हो । ‘रामकृष्ण जस्ता गायन क्षेत्रका हस्तीसँग जोडिन पाएकोमा हाम्रो संस्था यतिबेला खुशी छ’– कंगारू ऐजुकेसनका प्रमुख महेशबाबु तिमल्सिनाको भनाई छ ।