सम्बन्धमा भ्रष्टाचार !

सम्बन्धमा भ्रष्टाचार !


■ बबिता बस्नेत
‘सुरेशले लगे सन्तोषकी श्रीमती’, ‘श्रीमानको लाखौँ लिएर हिँडिन् नकुलकी श्रीमती’, ‘आमा अर्कैैसँग गएपछि कलेज पढ्ने छोरीको मार्मिक सन्देश’, ‘विदेशबाट फर्कंदा दुई छोरीसहित श्रीमती अर्कैैसँग’, ‘अनुपा लाने कुमारकी श्रीमती आइन् मिडियामा’…!

केही समययता ‘सम्बन्धमा भ्रष्टाचार’का यस्ता सामग्री युट्युब च्यानलहरूमा छ्यापछ्याप्ती देख्न पाइन्छ । श्रीमती र छोराछोरीलाई सुख दिन घर छोडेर विदेशमा अनेक दुःख गर्ने श्रीमानले कमाएको पैसा लिएर कतिपय महिलाहरू अर्कैसँग हिँड्न थालेपछि समाजमा यसले महिलालाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याइरहेको छ । विगतमा पुरुषहरूले घरमा पत्नी हुँदाहुँदै दोस्रो विवाह गर्थे, तर समयक्रममा अहिले महिलाहरूले पति र बच्चाहरूलाई बिचल्ली पारेर अर्को विवाह गर्न थाले । समाजमा हुने घटनाहरू एकाएक अर्कै परिवेशमा प्रवेश गरेपछि यसले चर्चा–परिचर्चा पाउनु स्वाभाविकै हो ।

अहिले पूर्व–पश्चिम, उत्तर–दक्षिण जता गए पनि लौन…गाउँमा के हुन थाल्यो…महिलाहरूले यो के गर्न थाले…भन्ने कुराले स्थान पाउन थालेको छ । वैदेशिक रोजगारीमा जाने पुरुषहरूको ठूलो सङ्ख्याभित्रका थोरै पत्नीहरूले गरेका यस्ता क्रियाकलापका कारण पति विदेशमा भएका सबै महिलामाथि उस्तै दृष्टिकोण राख्न थालिएको छ । एक्लै दुःख–सुखले घरपरिवार धानेर बसेका ठूलो सङ्ख्याका महिलामाथि आफ्नै पतिले अविश्वास गर्न थालेका छन् । आफू कहाँ छु, के गर्दै छु भनेर पाइला–पाइलामा निगरानीमा पर्दा पतिपत्नीको सम्बन्धप्रति नै वितृष्णा पैदा हुँदै गएको देखिन्छ ।

एकातिर पति वैदेशिक रोजगारीमा गएका पत्नीहरूलाई हेर्ने दृष्टिकोण गोलमोटल रूपमा उस्तै बन्दै जाँदा केहीले गरेका गल्तीको सजाय ती तमाम महिलाले भोगिरहेका छन् भने अर्कोतिर केही महिलामा यसरी विचलन आइरहेको छ कि घरमा श्रीमती, बच्चा भएको मान्छेसँग रातारात घर छोडेर हिँडिरहेका छन् । अर्काको पतिले कमाएको सम्पत्ति लिएर आफैँसँग आऊ भन्ने मान्छेले कति समय आफूलाई साथ देला भनेर उनीहरूले सोचेको, बुझेको देखिँदैन ।

पति विदेश रहेका पत्नी मात्र होइन, विदेशमा रहेका पतिले फर्किएपछि घर नगई अरू नै महिला लिएर बसेका घटनाहरू पनि छन् । पत्नी विदेश गएका पतिले पत्नी विदेशबाट फर्कंदा अर्को विवाह गरेर बसेका उदाहरण पनि त्यत्तिकै छन् । आफ्नो परिवारको भविष्य सुखद बनाउनका लागि बाध्यतावश बिदेसिएकाहरू र आफ्नो जीवन साथी केका लागि विदेश गएको हो भन्ने जानकारी राख्नेहरूमा यसप्रकारको विचलन के कारणले आयो त ? भनेर खोजी गर्दा धेरैजसो सञ्चारको सहज पहुँच र सामाजिक सञ्जाल नै यसको प्रमुख कारण हुने गरेको छ ।

हाम्रो समाजले अहिले पतिको सम्पत्ति लिएर हिँड्ने महिलालाई मात्र दोष दिइरहेको छ, तर ती पुरुषहरू झनै खराब हुन् जसले अर्काको सम्पत्तिमाथि आँखा गाडेर नियतवश पत्नी र सम्पत्ति दुवै लिएर हिँडे, हिँडिरहेका छन् ।

बुहारी जतिबेला पनि फोनमै हुन्थी भनेर यस्ता घटना भएका सासूहरूले भन्ने गरेका छन् । आमा सधैँ फेसबुक र इमोमा कुरा गरिरहनुहुन्थ्यो भनेर छोरा छोरीले प्रतिक्रिया दिइरहेका छन् । श्रीमान् जतिबेला पनि फेसबुक फोनमा कुरा गर्नुहुन्थ्यो भन्ने पत्नीहरू पनि त्यत्तिकै छन् । सामाजिक सञ्जालले एक–अर्कामा परिचित हुन र नजिक हुन मद्दत गरिरहेको छ । वर्षौंसम्म सँगै रहेको मानिसलाई त चिन्न–बुझ्न सहज हुँदैन भने सामाजिक सञ्जालबाट भेटेको मान्छेको विश्वास कसरी गर्ने ? किन गर्ने ? भन्ने प्रश्न गर्दै नगरी महिलाले सम्बन्ध अगाडि बढाएको देखिन्छ ।

मनबाट एक–अर्कालाई गरिने प्रेम समयक्रममा यति सस्तो भयो कि आहा… तिमी कति राम्री… तिम्रो फोटो कति राम्रो, बोली कति मिठो भनिदिएपछि आफूलाई प्रेम नै गरेको ठान्ने र विश्वास गरिहाल्ने । पुरुषहरूले महिलाहरूलाई प्रायः ‘तिमी कति राम्री’ भनेरै नजिक बनाएको देखिन्छ । मलाई यसले किन यसो भनिरहेको छ ? भनेर महिलाहरू प्रश्न गर्दैनन् । प्रशंसा हरेक मान्छेलाई मन पर्छ, तर प्रशंसा पछाडिको नियत के होला ? भनेर सोच्दै नसोची अघि बढ्ने महिलाको सङ्ख्या ठूलो छ । सानातिना प्रशंसामै आफूलाई प्रेम गरेको ठान्ने र घरपरिवार, छोराछोरी छोडेर उसैैसँग हिँडिदिने !

आफ्नो त्यो यात्रा कति समयका लागि हो भनेर सोच्दै नसोची घर छोड्दा धेरै महिलाले अनेक दुःख र भुक्तमान भोगेका छन् । अर्काको पतिले कमाएको पैसामा आँखा लगाउने मान्छे कस्तो होला ? भनेर ती महिलाले सोचेको पाइँदैन । पैसा सकिएैसँगै सम्बन्ध सकिएका उदाहरणहरू पनि छन् । दुईवटा घाम लागेजस्तो खाडीको तातोमा दुःख गरेर कमाएको सम्पत्ति लिएर हिँड्ने अधिकार महिला हुन् या पुरुष कसैलाई पनि छैन । हाम्रो समाजले अहिले पतिको सम्पत्ति लिएर हिँड्ने महिलालाई मात्र दोष दिइरहेको छ, तर ती पुरुषहरू झनै खराब हुन् जसले अर्काको सम्पत्तिमाथि आँखा गाडेर नियतवश पत्नी र सम्पत्ति दुवै लिएर हिँडे, हिँडिरहेका छन् ।

अचम्म त के छ भने मुलुकमा बहुविवाहलाई निर्मूल गर्नका लागि केही अगाडि मात्रै बहुविवाह बदर हुने कानुन बनेको छ । सम्बन्धविच्छेद नगरी अर्को विवाह गर्न पाइँदैन । कानूनतः पत्नी हँुदाहुँदै गरिएको अर्को विवाह बहुविवाह हो जुन स्वतः खारेज हुन्छ । तर, विभिन्न ठाउँमा धमाधम बहुविवाह भइरहेका छन् । विदेशबाट आएको पति अर्कै महिला लिएर अन्तै बसेकाले घर गएको छैन । घरमा श्रीमती हुँदाहुँदै पति विदेशमा रहेकी महिलालाई लिएर ‘म दुवैलाई मिलाएर राख्छु’ भन्दै मिडियामा प्रतिक्रिया दिँदै हिँड्नेहरू पनि छन् । यस्तो अवस्थामा बहुविवाह निर्मूल कसरी हुन्छ ? यो चुनौतीलाई राज्यले कसरी समाधान गर्छ ? केही दिन सँगै बसेर सम्बन्ध बिग्रिएपछि पुरुषहरू प्रायः आफ्नै घर फर्किने गरेका र महिलाहरू बिचल्लीमा पर्ने गरेका छन् । यसप्रकारका विचलनहरूलाई हेर्दा धेरै जनासँग सम्बन्ध भएका पुरुषैसँग महिलाहरू फस्ने गरेको देखिन्छ । एकैपटक धेरैजनासँग सम्बन्ध बढाउदै जाँदा जोसँग बढी सम्पत्ति छ उसैलाई लिएर हिँड्ने या साथमा नराखे पनि सम्बन्ध बढाइराख्ने पुरुषहरूको सङ्ख्या पनि त्यत्तिकै छ । यसले समाजमा पुरुषहरूलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन ल्याइरहेको छ ।

आफ्नो परिवारको उत्तरदायित्व लिने व्यक्तिको रूपमा मानिएका पुरुषहरू ‘अर्काकी श्रीमती र सम्पत्तिमा आँखा लगाउने’ व्यक्तिमा परिणत हुनु आमपुरुषका लागि निश्चय नै राम्रो कुरा होइन । समाजमा देखिएका भ्रष्ट सम्बन्धहरूले झट्ट हेर्दा महिलालाई मात्रै असर गरेजस्तो देखिए पनि राम्रो नियत भएका उत्तरदायी पुरुषहरूलाई पनि यसले असहज बनाएको छ । कसैैसँग बस्नै नसक्ने परिस्थिति आयो भने जबर्जस्ती बस्नुपर्छ भन्ने छैन । तर, विवाहित व्यक्तिले सम्बन्धविच्छेद नगरीकन अर्को विवाह गर्नु गलत मात्र होइन, गैरकानूनी पनि हो । त्यही गलत र गैरकानूनी काम हामीकहाँ भइरहेको छ । महिलाहरूले अहिले धमाधम अर्को विवाह गरिरहेको सन्दर्भमा उनीहरूले पनि पहिलाको सम्बन्धलाई तोडेर मात्र अर्को सम्बन्धमा जाँदा भावनात्मक र कानूनी दुवै हिसाबले सही हुन्छ ।

आफ्नो परिवारको उत्तरदायित्व लिने व्यक्तिको रूपमा मानिएका पुरुषहरू ‘अर्काकी श्रीमती र सम्पत्तिमा आँखा लगाउने’ व्यक्तिमा परिणत हुनु आमपुरुषका लागि निश्चय नै राम्रो कुरा होइन । समाजमा देखिएका भ्रष्ट सम्बन्धहरूले झट्ट हेर्दा महिलालाई मात्रै असर गरेजस्तो देखिए पनि राम्रो नियत भएका उत्तरदायी पुरुषहरूलाई पनि यसले असहज बनाएको छ ।

अहिले वैदेशिक रोजगारीले पतिपत्नी सम्बन्धमा ठूलो उथलपुथल ल्याएको प्रत्यक्ष देखिए पनि यो वैदेशिक रोजगारीसँग मात्र सम्बन्धित समस्या भने होइन । पतिपत्नी दुवै एउटै छानामुनि रहेकाहरूमा पनि सम्बन्धमा समस्या छ, बढ्दै छ । प्रविधिको प्रयोग तथा अन्य कारणले प्रेमविवाह बढ्दो छ र धेरैजसो प्रेमविवाहहरू चाँडै टुट्ने गरेका छन् । कति चाहिँ समयक्रममा प्रेम हराएर विवाहमा मात्र सीमित भएका देखिन्छन् । एकपछि अर्को विवाह सम्बन्धमा गएका महिला पतिले छोड्दै जाँदा धेरैसँग जानुपर्ने बाध्यता पनि छ । आफू आत्मनिर्भर नभएका कारण महिलालाई बाँच्नका लागि अरूको भर पर्नुपर्ने अवस्था छ । उसले साथ देला कि, ऊ पो सहारा बन्ला कि भनेर एकपछि अर्को सम्बन्धमा जाँदा झन् पीडित बन्ने महिलाको सङ्ख्या बढ्दै छ ।

सन्तान हुने आमाले दोस्रो विवाह गर्दा पटकपटक नसोच्ने हो भने यसले नाजुक रूप लिने देखिन्छ । छोरी हुने आमाले दोस्रो विवाह गर्दा आफ्नो पतिबाटै छोरी बलात्कृत भएका घटनाहरू बाहिर आइरहेका छन् । आमा हुनु जीवनमा सबैभन्दा कठिन काम हो । सन्तान जन्माउने मात्र होइन, हुर्काउने कर्तव्यको जिम्मा पनि प्रकृतिले आमालाई दिएको छ । सन्तानलाई बिचल्ली पारेर अर्कैसँग जाँदा प्रकृतिले दिएको जिम्मेवारी पूरा हुँदैन । त्यसैले पुरुषले सन्तानलाई केही नगर्दा पनि भइरहेको छ, हामीले किन गर्ने ? भन्ने छुट महिलालाई छैन ।