चौबिसै घण्टा डायलेसिस सेवा प्रदान गर्दै भरतपुर अस्पताल

चौबिसै घण्टा डायलेसिस सेवा प्रदान गर्दै भरतपुर अस्पताल


भरतपुर अस्पतालमा डायलेसिस गर्नुपर्ने मिर्गौलाका बिरामीको चाप बढेपछि आज (२० माघ)देखि चौबिसै घण्टा सेवा शुरु गरिएको छ । बिहानदेखि साँझसम्म डायलेसिस गर्दा बिरामीले पालो नपाएपछि सेवा विस्तार गरिएको हो ।

सेवा विस्तार गर्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले पालो कुर्ने बिरामीको सङ्ख्या बढेपछि आजदेखि रात्रिकालीन सेवा शुरु गरिएको जानकारी दिए । सो अवसरमा उनले हाल ६९ जनाले नियमित डायलेसिस गरिरहेको बताए । तीमध्ये ३० पुरुष र ३९ महिला रहेका छन् । अरू थप ५० जना बिरामीले पालो कुरिरहेकाले रात्रिकालीन सेवा शुरु गरिएको उनको भनाई छ ।

सो अवसरमा अस्पतालको मेडिसिन विभाग प्रमुख डा. प्रकाश खतिवडा, डायलेसिस विभाग प्रमुख सुनिता आचार्य लगायतले अस्पतालमा मूत्ररोग विशेषज्ञको व्यवस्था हुन सकेमा बिरामीले थप सेवा पाउनेमा जोड दिए । भरतपुर अस्पतालमा डायलेसिस सेवा निजीको भन्दा उत्कृष्ट भएपछि बिरामीको पहिलो रोजाइ यहाँ हुने गरेको छ । जसका कारण बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलकाअनुसार अस्पतालमा २०७४ साल भदौ ११ गतेबाट निःशुल्क रुपमा डायलेसिस सेवा शुरु गरिएको हो । गत आर्थिक वर्षमा ६ हजार एक सयपटक र चालु आवको ६ महिनामा तीन हजार २३० पटक विभिन्न बिरामीको डायलेसिस गरिएको उनले जानकारी दिए । अस्पतालमा रहेका १२ वटा डायलेसिस उपकरणमध्ये १० वटा सञ्चालनमा रहेका छन् ।

ज्ञातव्य छ, सरकारले मिर्गौलाको डायलेसिस सेवा निःशुल्क गरेको छ । भरतपुर अस्पताल केन्द्रीय अस्पताल हो । यहाँ चितवनसहित १९ भन्दा बढी जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् ।

एचआइभी सङ्क्रमित परिवारको स्वास्थ्य बीमा

जिल्लामा रहेका एचआइभी सङ्क्रमित परिवारको स्थानीय तहहरुले निःशुल्क स्वास्थ्य बीमा गर्न थालेका छन् । हालसम्म १२८ घरपरिवारको स्वास्थ्य बीमा भइसकेको छ । भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका प्रमुख कृष्णहरि सापकोटाका अनुसार जिल्लामा रहेका सातवटै स्थानीय तहले सङ्क्रमितहरुको स्वास्थ्य बीमा गरेका हुन् । स्वास्थ्य बीमा गर्नेमा भरतपुर महानगरपालिका र माडी नगरपालिकाका धेरै छन् ।

चालु आवकोे जेठ मसान्तभित्र सबै सङ्क्रमितको स्वास्थ्य बीमा गर्ने उद्देश्यका साथ सेन्टर लागेको सापकोटाले जानकारी दिए । गत आवबाट सङ्क्रमित परिवारको बीमा गर्न थालिएको थियो । एकै परिवारमा चारजनासम्म सङ्क्रमित हुने गरेकाले सङ्क्रमितहरुको सङ्ख्या अनुसारको परिवारको सङ्ख्या कम रहेको छ । जिल्लाका सबै तहले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्दा आफूलाई मात्रै नभएर परिवारलाई समेत फाइदा भएको सङ्क्रमित रामवहादुर थापा (नाम परिवर्तन)ले बताए ।

आफ्नो कमाई नहुँदा बीमा गर्न कठिन भएको र स्वास्थ्य परीक्षणका क्रममा समेत समस्या आउने गरेको भन्दै उनले अहिले सबै परीक्षण बीमामार्फत गर्दै आएको बताए । अस्पतालमा रहेको सेन्टरबाट ९३८ जनाले एआरटी औषधि सेवन गर्दै आएका छन् ।