‘कमेडी च्याम्पियन’ सिड्नी आउँदै

‘कमेडी च्याम्पियन’ सिड्नी आउँदै


■ राजन घिमिरे, अष्ट्रेलिया

यतिबेला हाँस्ने–हँसाउनेहरूकै बजार छ । उनीहरूकै जगजगी र वाहवाही छ ।

टेलिचलचित्रहरू मात्र होइनन्, ठूलो पर्दाको चलचित्र होस् या मुन्द्रेको कमेडी क्लबदेखि कमेडी च्याम्पियनसम्म आइपुग्दा दर्शकहरूले खुलेर स्वागत गरेका छन् यी र यस्ता प्रस्तुतिहरूलाई ।

नेपालका टेलिभिजनहरूमा त यिनीहरूको क्रेज जमेकै छ, अब बिस्तारै प्रवासमा पनि यस्ता प्रस्तुतिहरूले प्रवासमा रहनुहुने नेपालीहरूको पनि ध्यान खिच्न थालेको छ । यसैबीच हाल नेपालमा कान्तिपुर टेलिभिजनबाट हरेक सोमबार र मंगलबार प्रसारण भैरहेको रियालिटी शो कमेडी च्याम्पियनका उत्कृष्ट तीन प्रस्तोताहरू सिड्नी आउने भएका छन् ।

यिनीहरूसँगै यो कार्यक्रमका निर्देशक विशाल भण्डारी र हास्य कलाकार तथा निर्णायक मनोज गजुरेल पनि सिड्नी आउने निधो भएको छ । यो समूहलाई ह्याप्पी इन्टरटेनमन्टले सिड्नी ल्याउन लागेको जानकारी वर्ल्ड टूरको अधिकार लिएको संस्थाका व्यवस्थापक सन्तोष आचार्यले दिएका छन् । कार्यक्रम अस्ट्रेलियाको सिड्नीस्थित वाइट पार्कमा एप्रिल ११ शनिबारका दिन हुने भएको छ ।

कार्यक्रमका दिन नेपाली खानेकुराहरूको स्टल राखिने र शैक्षिक परामर्शदाताहरूबाट नेपाली विद्यार्थीहरूका लागि जानकारी दिने प्रस्तुति पनि समेटिने भएका छन् । ‘यो एउटा हाँस्ने र हँसाउने कार्यक्रम मात्र होइन, कार्यक्रममार्फत उर्जा दिने र प्रवासमा रहनुहुने नेपालीलाई फ्रेस बनाउने हाम्रो सोच पनि हो’– आचार्यको भनाई थियो ।