नीरुको ‘पेरिस्कानो’मा विद्यार्थीको दुःख

नीरुको ‘पेरिस्कानो’मा विद्यार्थीको दुःख


पत्रकार एवम् लेखक नीरु त्रिपाठीद्वारा लिखित उपन्यास ‘पेरिस्कानो’को राजधानी काठमाडौंमा लोकार्पण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलगायत केही विशिष्ट व्यक्तिले शुक्रबार (१७ माघ) प्रज्ञा भवन कमलादीमा आयोजित विशेष कार्यक्रमबीच संयुक्त रुपमा उपन्यासको विमोचन गरेका हुन् ।

पुस्तक लोकर्पण कार्यक्रममा शुभकामना मन्तव्य दिँदै मन्त्री भट्टराईले साहित्यले पर्यटन प्रवर्द्धनदेखि संस्कृति र सम्पदाको संरक्षणमा समेत टेवा पुऱ्याइरहेको बताए । साहित्य बिनाको समाज कल्पनासमेत गर्न नसकिने भन्दै उनले समाजको वास्तविक चित्रण गर्दै साहित्यले समाजलाई दिशानिर्देश गर्ने धारणा राखे । कला साहित्यको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सहयोग मिल्ने तर्क गर्दै उनले कलाकार र साहित्यकारका सिर्जनाले मानिसलाई छिटो आकर्षित गर्ने र कलाकार, साहित्यकारहरुले साथ दिने अभियान प्रायः सफल हुने गरेका अनुभव सुनाए । अष्ट्रेलिया बसेर लेख नीरुले आफूलाई बहुआयामिक रुपमा प्रष्फुटन गरेको र पेरिस्कानो जस्तो उत्कृष्ट उपन्यास कृति दिएर नेपाली साहित्यमा आफ्नै किसिमको योगदान पुऱ्याएको उनको भनाई थियो ।

यसैगरी, अष्ट्रेलियाको लागि पूर्वराजदूत लक्की शेर्पाले अष्ट्रेलिया बस्ने विद्यार्थीको कथामा आधारित उपन्यासले त्यहाँ अध्ययन गर्न जाने नेपालीको वास्तविकता उजागर गरेको बताइन् । उनले अष्ट्रेलिया मोहका कारण कैयौँ विद्यार्थीले त्यहाँ पुगेपछि दुःख पाउने गरेको उल्लेख गर्दै पिआर, भिसा, डिभोर्स, फेक म्यारिज जस्ता समस्याले नेपाली विद्यार्थीहरु समस्यामा पर्ने गरेको अनुभव सुनाइन् । नीरुको लेखन प्रतिभाको लक्कीले पनि खुलेर प्रशंसा गरिन् ।

साहित्यकार विप्लव प्रतीकले उपन्यासले प्रेम र जीवन दर्शनलाई बुझ्न सहयोग पुऱ्याउने बताउँदै लेखकले लेख्ने बेलामा इर्ष्या, घमण्ड र लोभ त्यागेमा मात्र स्वतन्त्र र पठनीय सामग्री तयार हुने धारणा व्यक्त गरे ।

यस्तै, पुस्तकका सर्जक नीरु त्रिपाठीले सोचाइकै भरमा तयार हुने उपन्यासले समाजको यथार्थता पस्कने भन्दै उपन्यासकारले केही पात्रको माध्यमबाट समाजलाई जागरुक बनाउने कार्यमा सहयोग पुऱ्याइरहेको बताइन् । लेख्ने क्रममा शब्द नफुर्दा एउटी गर्भवतीलाई लाग्ने जस्तो व्यथा लाग्थ्यो भन्दै उनले विभिन्न व्यथा र कष्टका बाबजुद एउटा कृतिलाई जन्म दिन सफल भएकोमा सन्तोष व्यक्त गरिन् ।

कार्यक्रममा सङ्गीतकार न्ह्यू बज्राचार्य र बुक हिलका प्रकाशक भूपेन्द्र खड्काले पुस्तकले पाठकको ध्यान तान्न सफल हुने विश्वास व्यक्त गरे ।

ज्ञातव्य छ, प्रेम, पीआर र परिस्थितिको शिकार भएकी एउटी युवतीको मार्मिक र प्रेरक गाथाको रुपमा पेरिस्कानो आएको छ । नेपाली समाजमा हुर्किएकी सुबाला नामक पात्रले जीवनमा आउने अनपेक्षित घुम्तीलाई कसरी ह्याण्डल गर्छिन्, कसरी उनको जीवनदर्शनको ग्रन्थ निर्माण हुन्छ र उनले प्रेमको दिव्य अवतार कसरी भेट्छिन् भन्ने कौतुहल उपन्यासमा छ । विदेशको सपना बुनेका, भत्केका र पूरा भएकाले काल्पनिक तर सत्यसँगको स्पर्शी गाथा भेट्नेछन् यसमा ।

एउटा फरक लयमा बुनिएको प्रेमदर्शन, प्रेम घटना र जीवनको अकल्पनीय चित्रणका कारण यस उपन्यासले युवा पाठकलाई त छुने नै छ, अन्य उमेरका पाठकको हृदय पनि झन्कृत गर्नेछ ।