फ्रान्सको ओभरभिलिय शहरको उप-प्रमुखमा निर्मल अर्यालको उम्मेदवारी

फ्रान्सको ओभरभिलिय शहरको उप-प्रमुखमा निर्मल अर्यालको उम्मेदवारी


■ मुना न्यौपाने, काठमाडौं

फ्रान्समा आगामी मार्च महिनामा हुन लागेको निर्वाचनमा नेपाली मुलका निर्मल अर्यालले रेभेइए ओबरभिलिए (Reveiller Aubervilliers) समुहको तर्फबाट नगर उपप्रमुखका लागि उम्मेदवारी दिएका छन् । आगामी मार्च महिनाको १५ र २२ तारिकमा हुने स्थानीय तहको निर्वाचनका लागि अर्यालले हाल बसोबास गरिरहेको ओभरभिलिय नगरपालिकामा उप–प्रमुख पदका लागि उम्मेदवारी दिएका हुन् ।

फ्रान्सको पेरिस नगरपालिकासँग जोडिएको सेनशाँनदनि जिल्लामा रहेको ओभरभिलिय नगरपालिका जिल्लाको चौथो ठूलो नगरपालिका मानिन्छ । यो नगरपालिकामा करिव ८५ हजार जनसंख्या रहेको छ ।

अर्याल एनआरएनए फ्रान्सका पूर्वअध्यक्ष तथा वर्तमान संरक्षक हुन् भने फ्रान्सकै एक प्रतिष्ठित इन्सुरेन्स कम्पनीको सिनियर वातावरणीय इन्जिनियर हुँदै procurment प्रमुखको रुपमा कार्यरत छन् । सरल, मुदुभाषी एवं सहयोगी भावनाका अर्याल कुराभन्दा काममा विश्वास गर्छन् ।

नेपालको गोरखा जिल्लामा जन्मिएका अर्यालले आफ्नो प्राथमिक तथा अध्ययन फ्रान्सबाटै गर्ने अवसरमा पाए । यसकारण उनी फ्रेन्च समुदाय र त्यहाँका सामाजिक कार्यकर्ताहरूसँग राम्रो घुलमिल हुने तथा नजिकबाट चिनिने मौका पाए । उनी नगरप्रमुख उम्मेदवारका अत्यन्त नजिक र विश्वास पात्रको रुपमा मानिन्छन् । उनको समुहलाई चुनावी मैदानको दौरानमा आवश्यक पर्ने आर्थिक संकलन र परिचालनको जिम्मा पनि उनै अर्याललाई दिईएको छ ।

अर्यालले उम्मेदवारी दिएको रेभेइए ओबरभिलिए समुहमा राजनीतिमा लागेका व्यक्तिहरू कम छन् । यसमा धेरैजसो नागरिक समाजका व्यक्तिहरू आबद्ध रहेका छन् । यद्यपि यस समुहलाई फ्रान्सको सोसियलिष्ट पार्टीलगायत अन्य थुप्रै सानातिना पार्टीको पनि समर्थन रहेको छ । फ्रान्सको स्थानीयतहको समयावधि ६ वर्षसम्मका लागि हुने छ ।

यस्तो छ चुनावी प्रक्रिया

निर्वाचनको पहिलो चरणमा अत्याधिक बहुमत ल्याउने अर्थात् ५० प्रतिशत भन्दामाथि ल्याउनेले नगरपरिषद्को जम्मा संख्याको आधा हिस्सा लाग्छ र बाँकी रहेको सिट समानुपातिक ढङ्गले ५ प्रतिशतभन्दा माथि भोट ल्याउने लिष्टलाई बाँडिन्छ ।

पहिलो चरणमा अत्याधिक बहुमत नआए न्युनतम १० प्रतिशत ल्याउने लिष्ट दोस्रो राउण्डमा जान पाउँछ । दोस्रो राउण्डमा जाने लिष्टहरू मिसिन मिल्ने प्रावधान छ । न्यूनतम ५ प्रतिशत भोट ल्याए १० प्रतिशतभन्दा माथी भोट ल्याउने लिष्टसँग मिसिएर दोस्रो राउण्डको चुनावमा भाग लिन पाउँछ ।

दोस्रो राउण्डमा कुनै पनि लिष्टको बहुमत नआएमा अग्रपंक्तिमा रहेको लिष्टले बहुमतको ५० प्रतिशत सिट लैजाने व्यवस्था छ । र, अरु बाँकी सिट भोट पाएको हिस्साले समानुपातिक हिसाबले बाँडिन्छ । स्थानीय चुनावमा महिला र पुरुषको हिस्सा बराबरी हुनुपर्ने प्रावधान छ । लिष्ट तय गर्दा पार्टी अथवा समुहले पुरुष महिला पालैपालो मिलाउनु पर्छ । नगरको जनसंख्याको आधारमा नगरपरिषद्को संख्या तोकिएको हुन्छ ।
ओभरभिलिय सहरमा नगरपरिषद्को संख्या ५३ जनाको रहेको छ । फ्रान्सको स्थानीय चुनावमा नगरप्रमुखको बन्ने भन्ने कुरा हरेक पार्टी अथवा समुहले घोषणा र दर्ता गर्नुपर्ने हुन्छ । नगरप्रमुख बाहेक अरु पदहरू निर्वाचनको परिणाम आएपछि तय गरिन्छ । तर अर्यालको भने उपप्रमुखमा लगभग पक्का भइसकेको छ ।

अर्यालको समुहले जिते नेपालीलाई हुने फाइदा

निर्मल अर्यालको टिम रहेको ‘रेभेइए ओबरभिलिए’ समुहले उक्त नगरपालिकामा विजय प्राप्त गरेमा जिल्लाको चौथो ठुलो सहरसमेत रहेको सहरमा नेपाली मुलको व्यक्ति नगरसमाजमा जितेमा नगर भित्ररहेका नेपालीहरूलाई स्थानिय रुपमा बढी र प्रभावकारीरुपमा सहयोग हुने छ । नेपाली समुदाय र फ्रेन्च समुदायको सम्बन्ध विस्तारमा टेवा पुर्याउने छ जसबाट फ्रेन्च समुदायसँग बढी घनिष्ठता र हार्दिकता बढाउन सक्दछ ।

त्यहाँ रहेका नेपालीहरूले स्थानीय तहको स्रोत र साधन नियमकानुनसम्मत रहेर सहज रुपले उपयोग गर्ने सम्भावना बढ्ने छ । नेपालको स्थानीय तह एवं सरकारसँग घनिष्ठता बढाउन पुलको काम गर्न सक्ने अवसर प्राप्त हुनसक्दछ । नेपालीहरू आफ्नै समुदायमा मात्रै सीमित रहेको परिस्थितिमा नेपाली समुदाय र फ्रेन्च समुदायको सम्बन्ध विस्तारमा टेवा पुग्ने विश्वास लिएको छ । फ्रान्समा नेपाली समुदाय धेरै सानो भएपनि यो अवसरले नेपाल चिनाउन सहयोग पुर्याउने छ । नेपाली कुट्नैतिक नियोगसँग हातेमालो गर्दै नेपालको स्थानियतहसँग भगेनी सम्बन्ध विस्तार, सहयोग र संस्कृतिक आदानप्रदान र नेपाली जनताको हितमा काम गर्न सक्ने अवसर प्राप्त हुने छ ।

को हुन् निर्मल अर्याल ?

२०३२ सालमा गोरखा जिल्लामा जन्मिएका निर्मल अर्याल १३ वर्षको उमेरमा पिता हरिहर अर्यालसँगै फ्रान्स गएका थिए । उनले माध्यामिकदेखि एमफिलसम्मको पढाइ फ्रान्समै पूरा गरे । पेसाले उनी सिभिल इन्जिनियर हुँदै वातावरण विज्ञानमा एमफिल गरेर हाल procurment प्रमुख रहेका छन् । बौद्धिक क्षेत्रमा निकै अब्बल व्यक्तित्व अर्याल सामाजिक क्षेत्रमा पनि सक्रिय हुँदै आए । फ्रान्सको खे्रजीलेमोँ शहरमा खोलिएको फ्रान्स–नेपाल बी पनौतिमैत्री संघमा आबद्धता भएर सामाजिक क्षेत्रमा पहिलो पाइलाको सुरुवात गरे । तत्पश्चात विभिन्न संघ संस्थामा अबद्धता हुँदै सन् २००७ मा एनआरएनए फ्रान्सको युथ कोअर्डीनेटर भई जिम्मेवारी ग्रहण गरे भने युथ कोअर्डिनेटर हुँदा गरेको प्रशंसनीय कार्यले सन् २०११ मा उनले एनआरएनए फ्रान्सको अध्यक्ष पदको नेतृत्व गर्न पुगे ।

उनी अध्यक्ष भएको बखत गरेका कार्यलाई आज पनि फ्रान्सको नेपाली समुदायले एउटा स्वर्णीम अवधिको रुपमा सम्झना गरेको पाइन्छ । त्यो सँगै उनी फ्रान्सको सोसियलिष्ट पार्टीसँग निकट हुन थाले र पार्टीमा सहयोगी भुमिका निर्वाह गर्दै आए । फलस्वरुप उनी अहिले बसोबास गरिरहेको ओभरभिलिय नगरपालिका अन्र्तगत स्थापना भएको (सीसीसीई) विभिन्न ३२ देशको प्रतिनिधित्व गर्ने एउटा स्वैच्छिक वोर्ड जसले हरेक प्रकारको भेदभावका विरुद्धमा लड्ने, सुझाब दिने,सहयोग गर्ने र स्थानीय चुनावमा नगरभित्र बस्ने बासिन्दाहरूलाई भोटको अधिकार दिईनुपर्छ भन्ने बारे लविङ गर्ने समुहको अध्यक्ष समेत रहेर कार्य गरे ।

फ्रान्सको सेनशाँनदनि शहर स्थित सहकारी बैँकको तीन कार्यकाल अध्यक्ष समेत बन्न सफल भए यसरी उनीसँग आर्थिक क्षेत्रको पनि लामो अनुभव रहेको छ । उनी त्यो बैँकको अध्यक्ष रहँदा फ्रान्समा रहेका नेपालीहरूलाई खाता खोल्न, ऋण लिन मिल्ने सहज बाटो बनाइदिएका थिए । हरेक वर्षजसो नेपाल आइराख्ने उनमा नेपाली कला संस्कृति रीतिरीवाजप्रतिको चाख अझै मरेको छैन । उनले राष्ट्रिय समन्वय परिषद् फ्रान्सको अध्यक्ष हुँदा नेपालमा प्राकृतिक प्रकोपमा परी समस्यामा रहेकाहरूलाई ठूलो परिमाणमा आर्थिक सहयोग गरेका थिए । उनले अनाथ अपाङ्ग, गरिब बालबालिकाहरूकाहरूलाई शिक्षा स्वास्थ्य क्षेत्रमा पाल्पा गोरखा र धादिङमा आर्थिक सहयोग पनि प्रदान गर्दै आइरहेका छन् ।

अर्याललाई साहित्य र लेखन क्षेत्रमा पनि चाख रहेको पाइन्छ । उनको ज्ञानविन्दु पत्रिकामा अंग्रेजी लेख प्रकाशन भएको पनि पाइन्छ । सामाजिक भावना, जिम्मेवारीबोध र उच्च शिक्षा, अनुभव एवं कुशल व्यक्तित्व भएकै कारण उनी फ्रान्सको स्थानीय निर्वाचनमा सोसलिष्ट पार्टीको समुहबाट उम्मेदवार बन्न सफल भएको बताइएको छ ।