पचहत्तर वर्षीय कर्मवीर भन्छन्- ‘अब २०-२५ वर्ष मज्जाले काम गरिन्छ’

पचहत्तर वर्षीय कर्मवीर भन्छन्- ‘अब २०-२५ वर्ष मज्जाले काम गरिन्छ’


पचहत्तर वर्ष उमेर पुगेका मानिस आफ्नो काममा कतिसम्म खट्न सक्लान् ? प्रत्येक दिन दुई घन्टा, चार घन्टा वा आठ घन्टा ?

साधारण मानिसले विश्वास र अनुमानसम्म गर्न नसक्ने गरी चौबीसमध्ये दुई घन्टा मात्र सुतेर बाइस घन्टा काममा खट्ने व्यक्ति यही नेपालमा छन् भन्दा आश्चर्य लाग्न सक्छ । हो, पचहत्तर वर्षीय एक ‘जवान’ले साठी वर्षमै वृद्ध बनेको ठान्दै अवकाशको जीवन बिताउन खोज्नेहरूलाई ठाडो चुनौती दिएका छन् । जीवनमा कहिल्यै विद्यालय नटेकेका उनी नेपालीबाहेक अङ्ग्रेजी, चिनियाँ र हिन्दी भाषा बोल्न सक्छन् । ट्रान्सफर्मरलगायत विद्युतीय सामग्री तथा सबै किसिमका फर्निचरको डिजाइन र उत्पादन गर्ने कामलाई उनले आफ्नो मुख्य पेसा बनाएका छन् । उनले डिजाइन गरी तयार गरेका फर्निचरले हरेकको मन लोभ्याउँछ । अस्पताललाई आवश्यक पर्ने हरेक किसिमका फर्निचरको डिजाइन र उत्पादन गर्ने उनले ‘पार्टी’ फर्निचर तथा कार्यालय र घरका निम्ति प्रयोगमा आउने फर्निचरहरू पनि बनाउने गरेका छन् । बाल्यकालदेखि नै काममा लागेका उनले कामलाई नै आफ्नो जीवन दर्शन बनाएका छन्, भन्छन्– ‘सानै हुँदा काम गर्नुपर्छ भन्ने शिक्षा पाइयो, काम गर्दै जाँदा कामकै नसा लाग्यो मलाई । कतिपय मानिस ‘अल्कोहकिल’ बनेको देख्छु’ तर मचाहिँ ‘वर्कोहलिक’ भएको छु ।’ काममा परिवारको पनि साथ होला नि भन्ने हाम्रो जिज्ञाशाको जवाफ पनि नितान्त भिन्न दिए उनले । भने– ‘एक्लै बस्छु, परिवारसित बस्दिनँ म । मलाई राति नै उठेर काम गर्नुपर्छ, मेरो केही गर्ने मिसन छ, त्यसका लागि रातदिन नभनी काम गर्नुपर्छ । मेरो कारणले परिवारलाई असुविधा नहोस् भनेर एक्लै बस्ने गर्दछु ।’

० यसरी एक्लै बस्ने गर्दा परिवार खुसी भएका होलान् त ?
– म सँगै नभइदिएकोमा मेरो परिवारका सदस्य दुःखी छन् । तर, म काममै रमाउँछु भन्ने बुझेका हुनाले गुनासो गर्न भने करिब छोडेका छन् ।

यी कर्मवीरले दश वर्ष हेटौँडा कपडा उद्योगमा काम गरेका थिए । हरिसिद्धि इँटा टायल कारखानामा पनि यिनले विद्युत्सँग सम्बन्धित काम गरेका थिए । चितवनमा बसोवास गर्ने उनी हरेक दिन भरतपुरबाट मोटरसाइकलमा ललितपुरको हरिसिद्धिस्थित इँटाटायल कारखानामा दश बजेभित्र आइपुग्थे, दिनभरि काम गर्थे र पाँच बजे कार्यालय समय सकिएपछि भरतपुर फर्कन्थे । तीनदेखि साढे तीन घन्टामा उनी भरतपुर–काठमाडौं ओहोर–दोहोर गर्ने गर्दथे । जीवनमा एक दशकजति महान् दार्शनिक रूपचन्द्र विष्टसँगै राजनीतिमा समय दिन भ्याएका यी कर्मवीरलाई देश नबनेकोमा चिन्ता छ, तर राजनीतिमा लाग्ने रुचि छैन ।

पहिलेकी पत्नीबाट दुई छोरी र एक छोरा छन् उनका । केही प्राविधिक कारणवश उनले दोस्रो विवाह गर्नुपर्ने अवस्था आयो र ५७ वर्षको उमेरमा उनले एक १८ वर्षीया युवतीसँग विवाह गरे । दोस्री पत्नीको तर्फबाट जन्मिएको छोरा अहिले माध्यमिक तहमा अध्ययन गरिरहेका छन् । उनी मार्बल घोट्ने, डेन्टिङपेन्टिङ गर्ने, विद्युत्सम्बन्धी सबै प्रकारका काम गर्ने र उद्योगसँग सम्बन्धित हरेक काम गर्छन् । अरू कसैले गर्न नसकेको काम फत्ते गर्न समर्थ उनी एक दिन काम गरेको पारिश्रमिक १५ हजार रुपैयाँ लिने गर्दछन् । भरतपुरमा एउटा विशिष्ट स्तरको फर्निचर उद्योग चलाइरहेका उनी कसैले काममा बोलायो भने जान्छन्, दिनभरि काम गर्छन् र पन्ध्र हजार रुपैयाँ बुझेर घर फर्किन्छन् । उनको काम देखेपछि पन्ध्र हजार पारिश्रमिक दिने व्यक्ति यति सन्तुष्ट हुने गर्छन् कि पारिश्रमिक कम भएजस्तै महसूस गर्दछन् ।

उनी अर्थात् रामजीप्रसाद सापकोटाको जन्म वि.सं. २००१ साल चैत ११ गते काभ्रेको बेहेटर भन्ने ठाउँमा भएको हो । घरमै ‘क’ ‘ख’ र ‘ए, बी, सी, डी’ पढेका रामजीले विद्यालय टेकेनन् । तर उनी अङ्ग्रेजी भाषामा लेखिएका किताब र निर्देशिका पढ्छन्, इन्टरनेट र कम्प्युटर चलाउँछन्, ट्रान्सफर्मरलगायत विद्युतीय उपकरणको डिजाइन तथा उत्पादन गर्छन् । सन् १९७२ मा चीन पुगेर सोह्र महिना तालिम गरेपछि रामजी विद्युत्सम्बन्धी विषयमा पारङ्गत भएका हुन् । उनले दुई वर्ष भारतमा मेकानिकल तालिम पनि लिएका थिए । अहिले एसटी टेक्निकल इन्जिनियरिङ प्रा.लि. नामको कम्पनी चलाउँछन् र, प्यानलबोर्ड, इन्भर्टर, ब्याट्री चार्जर, सोलारबाट बल्ने सडकबत्ती आदिको उत्पादन तथा बिक्री वितरण गर्दछन् । त्यस्तै, दुग्ध व्यवसायका लागि आवश्यक पर्ने चिलिङ भ्याट, कोल्डरुम, पास्चराइजर, रोडमिल्म र ट्र्याक्टरको डिजाइन तथा उत्पादनका काम पनि उनी गर्ने गर्दछन् । फलाम र स्टिलको सुपथ मूल्यका घर निर्माणमा पनि रामजीले समय दिने गरेका छन् । उनले भतरपुर (चितवन)को गोन्द्राङ (वडा नं. १२) मा उद्योग सञ्चालन गरेका छन् र करिब दुई दर्जन मानिसलाई रोजगारी दिएका छन् । उत्पादित सामग्री नेपालभरि रामजी आफैँले उपलब्ध गराइदिन्छन् । हालै मात्र उनले काठमाडौंको पुरानो बानेश्वरमा फर्निचरको ‘शोरुम’ खोलेका छन् । अब छिट्टै नै बुटवल, पोखरा र इटहरीमा पनि ‘शोरुम’ खोल्ने योजनामा उनी रहेका छन् ।

कृषिमा समेत राम्रो दख्खल भएका रामजी कृषिसम्बन्धी तालिम दिने र कृषिका निम्ति आवश्यक पर्ने औजारहरूसमेत उपलब्ध गराउने गर्दछन् ।

बहुविषयका ज्ञाता रामजीले आफ्नो सीप र क्षमताको उच्चतम सदुपयोग गरिरहेका छन् । सन् १९७२ मा तालिमका लागि चीन जाँदा उनलाई नेपालीबाहेक कुनै भाषाको ज्ञान थियो भने केही अङ्ग्रेजी र हिन्दी मात्र । तर, त्यसबेला चिनियाँहरू अङ्ग्रेजी ठ्याम्मै बुझ्दैनथे ।

० कसरी कम चलाउनुभयो त ?
हाम्रो प्रश्नको जवाफमा रामजीले हौसिँदै भन्नुभयो, ‘शुरुशुरुमा त इसाराबाटै काम चलाइयो, बिस्तारै चिनियाँ भाषा सिकियो ।’

० चीन जाने मौकाचाहिँ कसरी मिलेको थियो ?
– हेटौँडा कपडा उद्योग खोलेपछि त्यसलाई आवश्यक पर्ने प्राविधिकको तालिम गराउने सन्दर्भमा मलाई चीन पुग्ने अवसर प्राप्त भएको थियो ।

० तपाईंले आफ्नो जीवनदर्शन नै कामलाई बनाउनुभएको हो ?
– हो, काम नै जीवन हो । कामबिनाको मानिस र पशुबीच खासै भिन्नता हुन्न । मान्छेहरू आर्थिक समानताको कुरा गर्छन्, जुन वाहियात लाग्छ मलाई । कामको समानता पो समानता ! हामी सबैले कामको समानता खोज्नुपर्छ, धनको होइन ।

० जीवनमा अब के गर्ने इच्छा छ ?
– भइरहेको कामलाई व्यवस्थित गर्ने मात्र इच्छा छ । सबै किसिमका फर्निचर हामी आफैँ बनाउन सक्छौँ, चीनबाट आयात गर्नै पर्दैन ।

० जीवन के हो जस्तो लाग्छ ?
– मलाई जीवन सङ्घर्ष नै हो भन्ने लाग्छ । बाँचिन्जेल सङ्घर्ष गरिरहने, आशा र उत्साह राखिरहने हो ।

० अब कति वर्ष सक्रिय रहने विचार छ ?
– अब त बीस–पच्चीस वर्षभन्दा बढी कति सक्रिय भइएला र ! त्यस्तै बीस–पच्चीस वर्ष मज्जाले सक्रिय भएर काम गर्ने विचार र योजना छ ।

ज्ञातव्य छ, अबको बीस–पच्चीस वर्षपछि रामजीको उमेर ९५–१०० वर्षको हुनेछ, कर्मवीर रामजीलाई शुभकामना ।

– डीपी त्रिपाठी

रामजीका डिजाइन तथा उत्पादनका केही नमूना-