घोराही महोत्सवमा ज्योती मगरले ‘जलवा’ देखाउने

घोराही महोत्सवमा ज्योती मगरले ‘जलवा’ देखाउने


दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि घोराहीमा शुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ मा चर्चित लोकगायिका तथा मोडल ज्योती मगरले सहभागिता जनाउने भएकी छन् । कार्यक्रममा सहभागी हुन उनी महोत्सवको छैठौँ दिन बुधबार (१५ माघ) दाङ पुग्न लागेकी हुन् ।

महोत्सवमा ज्योतिले नृत्यसहित लोकदोहोरी र अन्य थुप्रै प्रस्तुति देखाउने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । बुधवार ज्योतिसहित चन्द्र शर्मा, विजय पुन, कमल नारायणी डान्स ग्रुप, गोमा रिजाल, पुजा नेपाली लगायतका कलाकाहरू दाङ पुग्दैछन् । लोकदोहोरी प्रतियोगितासहित अन्य थुप्रै स्थानीय कलाकारहरुले प्रस्तुति दिने कार्यक्रम छ ।

महोत्सवमा मंगलबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष चन्द्र शर्मा, कला लम्साल, रमेशराज भट्टराई, रुपा घर्ती मगर, विजय पुनका साथमा स्थानीय थुप्रै कलाकारहरुले प्रस्तुति दिएका थिए । जनवादी गायक झङ्कार बुढा मगरलेसमेत मंगलबार आफ्नो प्रतिभा प्रदर्शन गरी दर्शकको ध्यान ताने ।

महोत्सवमा चन्द्र शर्मा, रमेशराज भट्ट्राई, देवकला बस्नेत र रुपा घर्ती मगरको दोहोरीमा घम्साघम्सी परेको थियो । उनीहरुले गीत गाइरहँदा दर्शकहरु छमछमी नाचेका थिए । महोत्सवमा पहिलो सेसनमा प्रकाश पुनले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

युवा पुस्ताका लोकप्रिय गायक रमेशराज भट्ट्राईले ‘बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई’ बोलको गीत प्रस्तुत गर्दा दर्शकहरुको हुटिङ निकै बढेको थियो ।