अमेरिकी सवार विमान खसालेको अफगान विद्रोहीको दाबी

अमेरिकी सवार विमान खसालेको अफगान विद्रोहीको दाबी


अफगानी तालिवान समूहले अमेरिकीहरू सवार एक विमान अफगानिस्तानको गजनीमा आफूहरूले खसालेको दाबी गरेको छ । जाविहुल्ला मुजाहिदले पास्तो भाषामा जारी गरेको विज्ञप्तिमा विमानमा सवार सबैजनाको मृत्यु भएको समेत दाबी गरिएको छ ।

अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको गजनी प्रान्तमा सोमबार दुर्घटनाग्रस्त विमान विदेशी कम्पनीको भएकोे अफगानी अधिकारीले बताएका थिए । यसै क्रममा तालिवान समूहले अमेरिकी सवार विमान खसालेको दाबी गरेको हो ।

दुर्घटनाग्रस्त विमान सेनाको हुनसक्ने अनुमान स्थानीय अधिकारीले गरे पनि यसलाई पुष्टि गर्ने आधारहरू फेला परिनसकेको अफगानी अधिकारीहरुको भनाई छ । स्थानीय समय अनुसार सोमबार (२७ जनवरी) दिउँसो १ बजेर १० मिनेट जाँदा गजनी राज्यको देहयाक जिल्लामा विमान दुर्घटनाग्रस्त भएको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका एएफपीले जनाएको थियो ।

तालिवान विद्रोहीको प्रभाव क्षेत्र गजनी राज्यका गभर्नरले विमान दुर्घटना भएको तर यसबारे विस्तृत विवरणहरू आउन नसकेको बताएका छन् । गभर्नर वाहिदुल्ला कालिमजाईले स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा दुर्घटनाग्रस्त विमान विदेशी विमान कम्पनीको भएको उद्धारमा पुगेका अधिकारीहरूले आफूलाई बताएको तर तर यसलाई पुष्टि गर्ने आधारहरूको खोजी भइरहेको सूचना प्राप्त भएको अभिव्यक्ति दिएका थिए । विमानमा कति जना सवार रहेका थिए भन्ने कुरा पनि खुल्न सकेको छैन ।

गजनीको ठूलो क्षेत्र तालिवान विद्रोहीको प्रभाव क्षेत्र हो र विद्रोहीको प्रभावका कारण सरकारी अधिकारीलाई त्यहाँ पुग्न कठिनाई भएको बताइएको छ । सामाजिक सञ्जालहरूमा दुर्घटनाग्रस्त विमान सरकारी स्वामित्वको एरियाना अफगान विमान सेवा रहेको लेिखएका भएपनि उक्त कम्पनीले दुर्घटनाग्रस्त विमानबारेका हल्ला ‘सही नभएको’ बताएको छ ।

वास्तवमा सोमबार अफगानिस्तानमा दुर्घटनामा परेको विमान कसको र कति यात्रु हताहती भए भन्ने कुरा यतिबेला रहश्यपूर्ण बनेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् ।