पूर्वीअफगानिस्तानमा विमान दुर्घटना

पूर्वीअफगानिस्तानमा विमान दुर्घटना


अफगानिस्तानको पूर्वीक्षेत्रमा रहेको गजनी प्रान्तमा सोमबार एउटा विमान दुर्घटना भएको अफगानी अधिकारीले बताएका छन् । दुर्घटनाग्रस्त विमान यात्रुबाहक विमान थियो वा सैनिक विमान यसबारे जानकारी प्राप्त हुनसकेको छैन ।

विमानमा कति यात्रु रहेका थिए भन्नेबारे समाचार तयार पार्दासम्म जानकारी हुन सकेको छैन । स्थानीय समयअनुसार दिउसो १ बजेर १० मिनेट जाँदा गजनी राज्यको देहयाक जिल्लामा विमान दुर्घटनाग्रस्त भएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।

गजनी राज्यका गभर्नरका प्रवक्ता अरेफ नूरीले दुर्घटनाग्रस्त विमानमा आगो लागिरहेको र स्थानीयले विमानको आगो निभाउने प्रयास गरिरहेको सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका भिडियोमा देखिएको बताएका एएफपीले जनाएको छ । स्थानीय प्रहरी प्रवक्तासमेतले घटनाको पुष्टि गर्दै विमानबारे थप विवरण प्राप्त नभएको समाचारमा जनाइएको छ ।

गजनीको ठूलो क्षेत्र तालिवान विद्रोहीको प्रभाव क्षेत्र हो र विद्रोहीको प्रभावका कारण सरकारी अधिकारीलाई त्यहाँ पुग्न कठिनाई भएको बताइएको छ । सामाजिक सञ्जालमा दुर्घटनाग्रस्त विमान सरकारी स्वामित्वको एरियाना अफगान विमान सेवा रहेको लेखेका छन् भने उक्त कम्पनीले दुर्घटनाग्रस्त विमानबारेका हल्ला ‘सही नभएको’ बताएको छ ।

इरिआना अफगान एअरलाइन्सका सबै विमानले सोमबारका उडान सामान्य अवस्थामा सम्पन्न गरिसकेको छ, सरकारी विमान कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

द्वन्द्वरत अफगानिस्तानमा सेनाले प्रयोग गर्ने विमान खासगरी हेलिकोप्टरको दवाबमा उडान भर्नुपर्ने बाध्यता र भौगोलिक विकटताका कारण दुर्घटनालाई सामान्य लिने गरिन्छ ।

अफगानिस्तानमा सन् २०१० मा पामिर एअरवेजको यात्रुबाहक विमान राजधानी काबुलबाट कुन्दुजका लागि जाने क्रममा दुर्घटना हुँदा छ चालकदलका सदस्यसहित ३८ यात्रुको मृत्यु भएको थियो । विमान काबुलबाट २० किलोमिटर टाढा हिमाली क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।