शक्तिको आडमा करातेमा पुनः फोहरी खेल आरम्भ

शक्तिको आडमा करातेमा पुनः फोहरी खेल आरम्भ


■ श्रीविक्रम भण्डारी

शक्तिको आडमा कराते खेलमाथि पुनः फोहरी खेलको आरम्भ भएको छ । राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त बैधानिक नेपाल कराते महासंघलाई गुमराहमा राख्दै अर्कै अनधिकृत तथा नक्कली समूहले महासंघको नाममा राखेपमा पत्राचार गरेपछि करातेमा खेलिएको फोहरी खेलको पर्दाफास भएको हो । राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका उप–निर्देशक दीपकराज शाहीले महासंघलाई पत्राचार गरेपछि उक्त फोहरी खेलको पर्दाफास भएको हो ।

उप–निर्देशक शाहीले हस्ताक्षर गरेको पत्रमा त्यस महासंघको मिति २०७६–१०–२ पत्रअनुसार परिषदअन्तर्गत कार्यरत कराते खेलका प्रशिक्षक एवम् सिनियर कराते स्वयमसेवक प्रशिक्षकहरूलाई परिवर्तित कराते खेलसम्बन्धी प्राविधिक काता, रेफ्री र कुमुतेको नियमको बारेमा जानकारी गराउने उद्देश्य अनुरुप महासंघद्वारा संचालन गरिने सेमिनारको मिति तोक्दै त्यसको लागि काजसमेत स्वीकृत गरेको उल्लेख गरिएको छ । शाहीले माघ ६ गते महासंघमा पत्राचार गरेका थिए ।

शाहीले राखेपको निर्देशनमा माघ ६ गते कराते महासंघमा पत्राचार गरेपछि महासंघले आफुलाई यो सेमिनारको वारेमा कुनै जानकारी नभएको र माघ २ गते आफुले राखेपमा कुनै पत्राचार नगरेको जनाएको छ । साथै उक्त पत्रप्रति महासंघको ध्यानाकर्षण भएको भन्दै महासंघका कार्यकारी अध्यक्ष दावा गुरुङले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ । उक्त कुरा महासंघले माघ ९ गते जारी गरेको ‘सूचना एवम् जानकारी गराइएको बारे’ भन्ने पत्रमा उल्लेख गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदअन्तर्गत आधिकारिक नेपाल कराते महासंघले माथि उल्लखित पत्रबारे कुनै पनि बैठक र निर्णय नभएको, नगरिएको, पत्राचार पनि नगरिएको, कार्यक्रमससम्बन्धी पनि जानकारी नभएको बताएको छ । साथै यस्तो गैरकानुनी कार्य गर्ने कुन तत्व र कुन महासंघ हो, कसरी कुन व्यक्तिवाट परिचालित गरिएको हो ? सो सम्बन्धमा तालिम तथा प्रशिक्षण विभाग जवाफदेही हुनुपर्ने चेतावनी दिएको छ ।

साथै वरिष्ठ प्रशिक्षक, प्रशिक्षक, सहायक प्रशिक्षक, करार प्रशिक्षक र स्वयमसेवक प्रशिक्षकलाई भ्रममा पारी निन्दनिय कार्य गरेकोमा सबैलाई सूचना प्रकाशित गरी सूचित हुन अनुरोध गरेको छ ।

केही महिनाअघि मात्रै युवा तथा खेलकुद मन्त्रीको उपस्थितिमा करातेको विवाद समाधान गरिएको थियो । तर जहिले पनि करातेलाई विवादमा ल्याउन सक्रिय तत्वले पुनः करातेलाई विवादमा ल्याउन यस्तो फोहरी खेल खेलेको छ । करातेप्रति यस्तो फोहरी खेल हुँदा समेत राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले कानमा तेल हाल्नु र अनदेखि अनसुनी गर्नुको पछाडिको रहस्य के हो ? त्यो प्रश्नचिन्हको घेरामा परेको छ । कतै सिलवाल नै त यो फोहरी खेलमा सहभागी छैनन् शंका उत्पन्न हुनु स्वभाविक भएको छ ।